पोखरा भ्रमण वर्षमा विस्फोट, उपप्रधानमन्त्री पौडेल बाच्न सफल

पोखरा भ्रमण वर्षमा विस्फोट, उपप्रधानमन्त्री पौडेल बाच्न सफल

240
SHARES

काठमाडौं : काठमाडौँको कमलपोखरीमा रहेको मम पसलमा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै पोखरामा अर्को शङ्कास्पद विस्फोट भएको छ। विस्फोटमा परेका देशका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य बाच्न सफल भएका छन्।

पोखरा भ्रमण वर्षको उद्घाटन क्रममा बेलुन उडाउने क्रममा अचानक बेलुन पड्किएपछि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए। घाइते भएका दुवै जनालाई गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचार पछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विस्फोटबारे जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। कसरी विस्फोट भयो भन्ने नै अनुसन्धानको पाटो रहेकाले अहिले नै यही भन्न नमिल्ने प्रहरीले जनाएको छ।

अर्थमन्त्री पौडेलको अनुहार र दुई ओटै हात गरी ५/६ प्रतिशत भाग जलेको छ। मेयर आचार्यको अनुहार र एउटा हात सामान्य जलेको उपचारमा संलग्न डाक्टर विशाल कार्कीले जानकारी दिए।

दुवै जनाको आइसियुमा राखेर उपचार भइहरेको छ। अबको ४८ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गराइने भएकाले तत्काल डिस्चार्ज नहुने डाक्टर कार्कीले बताए।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्केर उपप्रधानमन्त्री पौडेल नै घाइते भए पछि बेलुनमा भरिएको हावाका विषयमा प्रश्नहरू उठ्न थालेका छन्। सुरक्षाका हिसाबले बेलुनमा हिलियम ग्यास भर्नुपर्ने भए पनि सस्तो पर्ने भएकाले व्यवसायीहरूले हाइड्रोजन ग्यास भर्ने गरेका छन्।

हाइड्रोजन ग्यासमा तत्काल आगो लाग्ने तर हिलियम ग्यासमा आगो नलाग्ने जानकारहरू बताउँछन्। हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो पनि हुने गरेको छ।

कमलपोखरी विस्फोटका दुई मृतकको शव परिवारलाई

काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा भएको विस्फोटमा मृत्यु भएका ३ जनामध्ये २ जनाको शव परिवारलाई जिम्मा लगाइएको छ। प्रहरीका अनुसार पोस्टमार्टम सकिएकोले मृतकको शव परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो।

विस्फोटमा परी ११ जना घाइते भएकामा कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मकवानपुरका रविन राई, उदयपुरका भीमबहादुर घले मगर र उदयपुरकै प्रदीप तामाङको मृत्यु भएको थियो। तीन जनामध्ये राई र घले मगरको शव परिवारलाई बुझाइ सकिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। २ जनाको पोस्टमार्टम रिपोर्ट आइसके पनि आफूहरूको हातमा नपरेको उनले बताए।

गत माघ २४ गते बिहान विस्फोट हुँदा घाइते भएका ८ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। ग्यास विस्फोट या ग्यास लिक भएर आगलागी हुँदा घटना भएको भनिएको छ। तर, वास्तविकता खुल्न सकेको छैन। ग्यास विस्फोट भए टुक्राहरू हुनुपर्नेमा त्यस्तो केही नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए। विस्फोटक पदार्थ पड्किएर घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौं महानगरपालिका–२८ का वडाध्यक्ष भाइराम खड्कीले पीडित परिवारलाई आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै उनले अहिलेसम्म सो घटनालाई लिएर कोही पनि वडाको सम्पर्कमा नआएको सुनाए।

डडेलधुरामा मृत फेला

नेपाल उद्योग वाणिज्य सङ्घ डडेलधुराका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन्। अमरगढी नगरपालिका २ भेल निवासी जोशी वडा नम्बर २ कै कुस्माली खोलाको पारिपट्टि कलर भन्ने ठाउँमा मृत फेला परेका हुन्।

अस्ति बिहीबार डडेलधुरा सदरमुकामबाट सम्पर्कविहीन भएका जोशी प्रहरी र आफन्तले खोजी गर्दा शनिवार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय डडेलधुराका निमित्त प्रहरी प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले जानकारी दिए।

मृतक जोशीको शव आवश्यक अनुसन्धान पछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको छ। जोशीको हत्या भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका छन्। ज्यान सम्बन्धी कसुरमा कारबाही गर्नुपर्ने आफन्तको उजुरी छ।

घटनाको प्रकृति हेर्दा शङ्कास्पद नदेखिएको प्रहरीले बताएको छ। ‘प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद केही देखिँदैन,भोलिसम्म पोस्टमार्टम रिपोर्ट आएपछि थप भन्न सकिएला,’ निमित्त प्रहरी प्रमुख बमले भने।

नेपाली शान्ति सेनामाथि आक्रमण

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण भएको छ। लेबनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘युएन लेभल–३’ अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ। उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ। लेबनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.