काठमाडौं : नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको ठिक दुई वर्षपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बेलुन पड्केर घाइते भए। भण्डारी २०७९ साल फागुन ३ गते राती आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक हुँदा आमासँगै जलेर घाइते भएका थिए।
करिब ३० प्रतिशत शरीरको भाग जलन भएपछि सांसद भण्डारी छिमेकी मुलुक भारतमा तीन महिना लामो उपचार गरेर फर्किएका थिए। उपप्रधानमन्त्री र मेयर ६÷७ प्रतिशत जलनमा परेका कारण हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँमा उपचार थालिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलगायत मन्त्री र सांसद कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका छन्। धेरै भिडभाड हुँदा सङ्क्रमण हुन सक्ने भन्दै अस्पतालले भेटघाट बन्द गरेको छ।
आइसियुमा राखेर उपचार भइरहेका दुवै जनाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। हालसम्मको अवस्था हेर्दा शल्यक्रिया गर्नुपर्ने नदेखिएको अस्पतालले जनाएको छ। अनुहारमा जलनको कारण श्वासनली र फोक्सोको असर हेर्न अझै पर्खिन पर्ने अस्पतालले जनाएको छ।
१२ वर्ष पहिले एसिड आक्रमणमा परेकी सांसद बिन्दबासिनी कंशाकारले सरकारले जलनलाई बेवास्ता गर्दै आएको बताइन। वर्षेनी ६० देखि ६५ हजार नागरिक जल्ने गरेको विवरण सुनाउँदै उनले आफूले ७ महिनाअघि दर्ता गरेको गैरसरकारी विधेयक पारित गर्न आग्रह गरिन।
प्रतिनिधिसभाको बैठकमार्फत उनले भिभिआइपीको उपचार गर्न सजिलो भए पनि सर्वसाधारण ज्यान गुमाउन बाध्य भएको सुनाइन। आवश्यक स्रोत साधन र दक्ष जनशक्ति तथा आपतकालिन उद्धार कार्यका लागि उनले सरकारको ध्यानाकर्षण गराइन।
कंशाकार र सांसद भण्डारीलगायतले जलनको विषय जोडतोडका साथ राख्ने गरेका छन्। तर यसमा चासो नदेखाएको सरकारले पोखरा घटनाबारे छानबिन गर्न भने समिति गठन गरेको छ। ८ सदस्यीय समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको गृहमन्त्री रमेश लेखकले संसदमा जानकारी दिए।
समितिलाई मुख्यतः बेलुन विस्फोटको कारण र यस्तो प्रकरणको घटना रोक्न अपनाउनु पर्ने उपायबारे सुझाउन भनिएको छ। गृहमन्त्री लेखककाअनुसार मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति बनाएको हो।
समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत हुनेछन्। कतिपयले छानबिन समिति बनाउन भने पनि कतिले विरोध गरेको भन्दै गृहमन्त्री लेखकले सरकारी संयन्त्रभित्रबाटै समिति बनाएको बताए।
सांसदहरूले बेलुन पड्केको घटनामा गम्भीर सुरक्षा लापरबाही भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सत्ता र प्रतिपक्षी अधिकांश सांसदहरूले बेलुन पड्केर भएको घटनालाई सामान्य रूपमा नलिन सरकारको खबरदारी गरेका छन्।
शिलान्यास, उद्घाटन मोहले प्रधानमन्त्री देखि मन्त्रीहरू सुरक्षा व्यवस्थामा संवेदनशील नभएको पाइएको छ। गृहमन्त्री लेखकले बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्ने चलन बढेको भन्दै जे मा पनि बेलुन उडाउने संस्कृतिको अन्त्य गर्नुपर्ने बताए।
थप १ जनाको मृत्यु
कमलपोखरीको एक मःम पसलमा भएको विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका ढुङ्खर्क घर भई कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको प्रहरीले जनाएको छ।
लामाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। यससँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। यसअघि मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगरको उपचारका मृत्यु भएको थियो।
यस्तै उपचारका क्रममा उदयपुरका २२ वर्षीय प्रदीप तामाङको पनि मृत्यु भएको थियो। गत माघ २४ गते बिहान पौने ९ बजे विस्फोट हुँदा ११ जना घाइते भएका थिए। घाइते सात जनाको उपचार भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज घाइतेहरूको अवस्था बुझ्दै उपचारमा सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.