भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु, सरकारको ओठे जवाफ

भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु, सरकारको ओठे जवाफ

224
SHARES

काठमाडौं : भारतमा अध्ययनरत नेपाली चेलीको मृत्यु प्रकरणले हङ्गामा भएको छ। ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा भेटिएको प्रकरणमा नेपालमा चर्को विरोध भएको छ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको भन्दै अन्य नेपाली विद्यार्थीले प्रदर्शन गरे पछि उनीहरूलाई नै कलेजबाट धरपकड गरी निकालिएको थियो।

आफूहरूमाथि भएको व्यवहारका सन्दर्भमा विद्यार्थीले सहयोग मागे पछि नेपालको संसदमा समेत यो विषय प्रवेश गरेको थियो। विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि नेपाली विद्यार्थीलाई क्याम्पसबाट निकाल्दै अमानवीय व्यवहार गरिएको छ।

कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरे पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले भने उनको मृत्यु शङ्कास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेपछि उनीहरूमाथि कुटपिट भएको छ।

घटनाको विरोध गर्ने र छानबिन माग गर्ने नेपाली विद्यार्थीहरूलाई सुरक्षाकर्मीले दमन गरेका छन्। मृतक छात्राको न्यायका लागि आफूहरूले विरोध गर्दा जबरजस्ती होस्टेलबाट निकालेर रेलवे स्टेसनमा अलपत्र पारिएको कलेजका एक पीडित विद्यार्थीले बताए।

परराष्ट्र मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे दूतावास मार्फत समन्वय भएको बताएको छ। नेपाली विद्यार्थीमाथि परेको समस्या समाधानका लागि दिल्लीस्थित नेपाली दूतावासले प्रयास गरिरहेको मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कूटनीतिक तवरबाट सम्पर्कमा रहेको जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली विद्यार्थीलाई जबरजस्ती कलेजबाट निकालेको विषय जानकारीमा आएको उनले लेखेका छन्।

यसबारेमा रास्वपाकी सांसद सुमना श्रेष्ठले संसद्को आकस्मिक समयमा बोल्न खोज्दा सभामुखले समय नलिएको भन्दै बाहिर निस्किएर मिडियामार्फत ध्यानाकर्षण गराइन।

चौतर्फी दबाबमा परेपछि गृहमन्त्री रमेश लेखकले सो घटनाबारे सदनलाई जानकारी गराएका छन्।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि भारतीय विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्। हाल ओमनमा रहेकी मन्त्री देउवाले भारतको विश्वविद्यालयको होस्टेलमा बिहानैदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको बताएकी हुन्।

सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका निम्ति प्रतिबद्ध रहेको जनाउँदै विद्यार्थीका अभिभावकलाई नेपाली विद्यार्थीलाई थप समस्या हुन नदिने आश्वासन दिएको छ।

नेपालमा भएको विरोध र सरकारको पहलपछि भारत घटना सामसुम पार्न लागेको छ। ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगेर छोडेको विश्वविद्यालय प्रशासनले विज्ञप्ति जारी गर्दै होस्टेलमा फर्कन भनेको छ। घटनाको प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.