विदेश गएका विद्यार्थीको सुरक्षामा लापरबाही, छानबिन समिति गठन

विदेश गएका विद्यार्थीको सुरक्षामा लापरबाही, छानबिन समिति गठन

336
SHARES

काठमाडौं : भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणले नेपाल र भारत दुवै देशमा हङ्गामा मच्चिएको छ। पढ्न गएका विद्यार्थीको सुरक्षामा लापरबाही भएको छ। सरकारको कूटनीतिक कमजोर देखिएको छ। देशभित्रै शिक्षाको अवसर दिन नसक्ने राजनीतिक दलहरूको आलोचना भएको छ।

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत लम्सालको रहस्यमय मृत्युको छानबिनको माग गर्दै आन्दोलित नेपालीहरूमाथि कुटपिट भएपछि दुवै देशमा हलचल मच्चिएको हो। केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जूषा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा नेपालका विषयमा धावा बोल्दै अपमानित रूपमा हेपेपछि माहौल झन् तातेको छ।

घटनालाई सामसुम पार्न खोजिए पनि चौतर्फी दबाबपछि भारतले आरोपित युवक सहित ६ जनालाई पक्राउ गरेको छ। ओडिसा प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

यस विषयले नेपालको संसद् पनि तातेको छ। ओडिसाको विधानसभामा पनि प्रकृति लम्सालको मृत्यु प्रकरणमा कुरा उठेपछि भारत सरकार दबाबमा देखिएको हो।

प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष झाले नेपालको कूटनीति निकै कमजोर भएको बताए। जसका कारण भारतीय चौकी दारले समेत नेपालीमाथि कुटपिट गर्ने आँट गरेको उनले बताए।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको कूटनीति प्रति प्रश्न उठाउँदै उच्च स्तरीय राजनीतिक संवाद थाल्न माग गरे।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपालमै विद्यार्थीहरूलाई पढ्न पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।

देशमै एकसय एक प्राध्यापकहरू भए पनि नेपाली विद्यार्थीहरू नेपालमै बसेर पढ्न नचाहनुको कारण खोज्न नसक्नु विडम्बना भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए।

प्रकृतिको मृत्यु प्रकरणपछि शिक्षा मन्त्रालयले एनओसी रोक्ने चेतावनी दिएको छ। भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी दिन रोक्ने मन्त्रालयले चेतावनी दिएको हो। मन्त्रालयले विद्यार्थी र अभिभावकहरूलाई संयतता अपनाउन अपिल पनि गरेको छ।

भारतबाटै चौतर्फी विरोध भएपछि केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जूषा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेकी छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.