मानव धर्म सेवा समितिको महाशिवरात्रि महोत्सव

मानव धर्म सेवा समितिको महाशिवरात्रि महोत्सव

208
SHARES

काठमाडौं : भगवान्लाई शब्द व्यक्त गर्न तथा आँखाले देख्न नसकिने, यसलाई अनुभवका माध्यमबाट मात्र प्राप्त गर्न सकिने अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजले बताएका छन्।

महाशिवरात्रिको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको महाशिवरात्रि महोत्सव २०८१ कार्यक्रममा विभुजीले सांसारिक कर्म काण्ड मात्र गर्दै भगवान्लाई प्राप्त गर्ने कामना गरिरहने तर मनमा अनेक कुरा खेलाइरहेको कारण भगवान्को दर्शन सम्भव नभएको बताए।

‘भगवान्लाई भेट्टाउने हो भने मनलाई आफ्नो अधीनमा राख्न सक्नुपर्छ। मनलाई बाहिरी कुराबाट फर्काएर आफूमा केन्द्रित गर्ने हो भने आफूले आफूलाई चिन्न सकिन्छ,’उनले भने,‘आफूभित्र केन्द्रित हुने बित्तिकै हामीलाई सत्यको बोध हुन थाल्छ। यही नै शान्तिको मुख्य स्रोत हो।’

कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले शिवरात्रिले अन्धकार रुपी मोहलाई हटाएर ज्योतिको ध्यान गर्न प्रेरणा दिएको बताइन।

साथै हरेक सत्कर्म गर्न गुरु कृपा चाहिने भएकाले गुरु कृपाको भागिदार बन्न सबैलाई प्रेरणा पनि उनले दिइन। ‘मनमा अभिमान बोकेर सत्कर्म गर्न सकिँदैन,’उनले भनिन्,‘यसका लागि आफूमा भएका नकारात्मक कुराहरूलाई हटाउँदै जानुपर्छ।’

कार्यक्रममा समितिकी अर्की महात्मा त्रिगुणा वाईजीले भगवान्ले मनुष्यलाई उच्च कोटीको दर्जा दिएको तर मनुष्यले भने आफ्नो भूमिका सही तरिकाले पुरा गर्न नसकेको बताइन।

उनका अनुसार सृष्टिको सरताजको रूपमा रहेका मानिस एक आपसमा स्वार्थी बनेका तथा भोग विलासमा मात्र जीवनलाई केन्द्रित गरेका कारण सृष्टि नै विनाश हुँदै गइरहेको छ।

समितिले आयोजना गरेको शिवरात्रि महोत्सव कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूका साथै भारतका भक्तजनहरू पनि सहभागी भएका थिए। कार्यक्रममा भजन, नाटक, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.