तेस्रोलिंगी महिलाको शङ्कास्पद मृत्यु

तेस्रोलिंगी महिलाको शङ्कास्पद मृत्यु

1.4k
SHARES

काठमाडौँ : काठमाडौँको सुकेधारा धोवीखोला करिडोरमा तेस्रोलिंगी महिला मृत फेला परेका छन्। महाशिवरात्रिको राति तेस्रोलिंगी पहिचान गरेका व्यक्ति धनवन्तरी फुटसल परिसरमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।

धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डङ्गोल र तीर्थ श्रेष्ठको नाममा भएको जग्गामा बनेको भत्किएको संरचनामा बनेको प्रयोगमा नआएको शौचालयमा फोहोरहरूको थुप्रोले ढाकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

मृतकको लाशलाई म्याट्रेश, सिरानी, झोला, फोहोर कपडाहरू लगायतका फोहोरहरूले पुरेर राखेको अवस्था रहेको घटनामुचुल्का प्रहरीले बनाएको छ।

फोहोर हटाई मृतक लाशलाई सुरक्षित स्थानमा राखी मृतकले लगाएको कपडाहरू खोली हेर्दा मृतकको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरी बनाएको जस्तो देखिने चोट रहेको, मृतकको अनुहार र कपालमा रगत जस्तो रातो पदार्थ लागि लतपतिएको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान जारी रहेको काठमाडौँ प्रहरी परिसरले पहिचान अनलाइनलाई जानकारी दिएको छ।

ओखलढुङ्गा साबिक थाकले गा.वि.स. वडा नं ६ हाल परिवर्तित मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ स्थायी ठेगाना भएका वर्ष ५० का अडवीर राई काठमाडौँ महानगरपालिका वडा नं ७ बस्दै आएका थिए। मृतकका आफन्त सम्पर्कमा आएको र जाहेरी भने नपरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

ओखलढुङ्गा स्थायी ठेगाना भएका तेस्रोलिंगी महिला अडवीर राईको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

राई सरस्वती नगरमा बसोबास गर्दै आएका थिए। पशुपतिनाथ मन्दिर परिसरमा मागेर जीविकोपार्जन गर्दै आएका उनको मृत्युको कारण खुलेको छैन। अनुसन्धानका क्रममा रहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले मृत्यु शङ्कास्पद रहेको बताएको छ। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले तेस्रोलिंगी महिलाको मृत्यु शङ्कास्पद रहेको बताउँदै दुखद घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी र सचिव सुरेन्द्र पाण्डेले घटनाको गहिराइमा पुगेर अनुसन्धान हुनु पर्ने माग गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.