काठमाडौँ : नेपालले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यका लागि भोट मागेको छ। आगामी २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको नेपालले भोट दिन आग्रह गरेको हो।
परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी हुन जेनेभा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको जानकारी दिइन।
संयुक्त राष्ट्रसङ्घको सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् र २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने जानकारी गराउँदै सहयोगका लागि राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग आग्रह गरेको मन्त्री डा देउवाले बताइन।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोग प्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घ लगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग पनि मन्त्री डा देउवाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेको जानकारी दिइन।
उनले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिइन। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको उनले बताइन। ‘उहाँहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिनुभएको छ,’मन्त्री डा देउवाले भनिन्।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएको उनले बताइन। उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गरेको सुनाइन।
मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिवार जेनेभा गएकी थिइन। उनी सहितको प्रतिनिधिमण्डल शुक्रवार बिहान १०ः३० मा काठमाडौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो। त्यसपछि कोलकाताबाट अपराह्न मात्र उनी काठमाडौँ ओर्लेकी हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.