निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्री ओली तामझाम र भक्तिगानमा सीमित

प्रधानमन्त्री ओली तामझाम र भक्तिगानमा सीमित

295
SHARES

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आत्मरतिमै रमाउन थालेको देखिएको छ। गत साता पत्नी राधिका शाक्यको आत्मकथा करुणा सार्वजनिक गरेका प्रधानमन्त्री ओलीले सोमबार आफ्नो सपना, सङ्घर्ष र सङ्कल्प’ नामको पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट लोकार्पण गराए।

ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र पहललाई लिपिबद्ध गरिएको पुस्तक लोकार्पण कार्यक्रममा उनी निकट मानिने अतिथि सँगै समर्थक नेता कार्यकर्ता, कलाकार, साहित्यकार, डाक्टर आदी पेसाकर्मी उपस्थित थिए। जहाँ निकै तामझामका साथ उनकै भक्तिगान गाएर कार्यक्रम सम्पन्न गरिएको छ।

प्रधानमन्त्री ओलीको नाममा लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा राष्ट्रिय सभागृहमा साङ्गीतिक माहौल थियो। साङ्गीतिक माहौल हेर्दा देशमा खुसीयाली छाएको छ, जनता नाचगान गरिरहेका छन्। तर, अवस्था त्यस्तो छैन।

देश विकराल अवस्थामा छ, तर ओली आफू प्रधानमन्त्री भएकै मौका छोपेर आफ्ना र श्रीमतीका जीवन कथा सुनाउँदै र बाँड्दै हिँडेका छन्। गत शनिवार श्रीमती राधिका शाक्यले आफ्नो आत्मकथा सुनाउने क्रममा ओलीकै जीवनका धेरै रङ्ग सार्वजनिक गरेकी थिइन। त्यहाँ ओलीले पनि आफ्ना मनभरिका कुरा राखेका थिए।

तर सोमबार आफ्नो पुस्तक विमोचनमा भने ओली बोलेनन्। ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै आफ्ना विश्वासपात्र एमाले महासचिव शङ्कर पोखरेललाई मञ्चमा राखेर आफू निकटका पेसाकर्मी तथा अतिथिबाट गुणगान सुने।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित पुस्तकको लोकार्पण कार्यक्रममा लेखक तथा पत्रकार कृष्णमुरारी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको अन्तिम कार्यकाल सम्झेर काम गर्न सुझाउँदा सहभागीहरूले मन्द मुस्कानमा समर्थन जनाए।

गायक प्रकाश सपुतले आफ्ना बाआमाले बुढो भएको बताउँदा प्रधानमन्त्री ओलीको स्वास्थ्य र सक्रियताबारे जानकारी दिएर थम्थमाउने गरेको सुनाए।

नायिका केकी अधिकारीले आफूसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तित्व देश र समाजका लागि लगाउन सुझाव दिएको स्मरण गरिन।

डाक्टर भगवान् कोइरालाले भने धेरै नपढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

लेखक तथा पत्रकार कनकमणि दीक्षितले केपी ओलीमाथि हुने आक्रमण र आरोप धेरै किन हुन्छ? भन्ने प्रसङ्ग सुनाउँदै नेपाल नबिग्रेको तर बिग्रेको भाष्य बनाउन खोजिएको टिप्पणी गरे।

दीक्षितका पालो आए पछि ओली उठेर हिँडेका थिए। सभागृहको दर्शक दीर्घामा आसीन अधिकांश नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको दाबी सुनाइन।

एमाले महासचिव पोखरेलले ओलीले प्रधानमन्त्री भएर राष्ट्रको जीवनमा असाधारण काम गरे पनि सामाजिक सञ्जालमा विरोधको अभियान चलाइएको भन्दै रोष व्यक्त गरे।

समाचार शेयर गर्नुहोस्
295
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.