काठमाडौं : सत्ता साझेदार दल भित्रैबाट विरोध भएपछि सरकार भूमि सम्बन्धी अध्यादेशबाट ब्याक भएको छ। संसदीय अङ्कगणितमा नैतिक सङ्कटमा परेको सरकारले बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा भूमिबाहेक ५ वटा अध्यादेश पेस गर्ने भएको हो।
सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने भन्दा पनि अहिलेलाई थाती राख्दै दुई ओटा विकल्प खुल्ला गरेर दलहरुबीच छलफल अघि बढेको बताए।
पाँच ओटा अध्यादेशमा ४२ ओटा अस्वीकारका प्रस्ताव दर्ता भएका छन्। बुधवारको बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यहरू कार्यसूचीमा राखिएको छैन। संसद् बैठक सरासर अध्यादेशमा प्रवेश गर्ने सचेतक बर्तौलाले जानकारी दिए।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति मङ्गलवार बसेको बैठकले पनि ५ अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरेको छ।
सत्तारुढ दुई दल एमाले र काँग्रेसले संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्विप समेत जारी गरेका छन्।
भूमि सम्बन्धी अध्यादेश सरकारले संसदमा नलैजाने भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।
तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
बैठकले अन्य पाँच वटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरेको छ। भूमि सम्बन्धी अध्यादेश अगाडि बढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की जसपा नेपालले दिएको थियो।
प्रचण्ड ड्रामा गर्न सिपालु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ड्रामा गरेको बताएका छन्।
सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले ड्रामा गर्न माहिर व्यक्तिको संज्ञा दिएका हुन्।
काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले प्रचण्ड ड्रामा गर्ने र अरूले गरेको काममा भ्रम फैलाउने गरेको आरोप लगाए।
प्रधानमन्त्री ओलीले न्यूनतम पारिश्रमिक नदिने संस्थाहरू कारबाहीको दायरामा आउने पनि बताए। उनले न्यूनतम पारिश्रमिक भन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए।
प्रचण्डलाई फाइदा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने वर्तमान सरकारको आयु बढ्नु माओवादीका लागि फाइदाजनक रहेको बताएका छन्।
कैलालीको टिकापुरमा प्रचण्डले काँग्रेस–एमालेले सरकार चलाउँदा आफूहरूले जनताका समस्या सुन्न पाएको बताए।
आफूहरू जनताको बीचमा गइसकेको बताउँदै प्रचण्डले सरकार बदल्ने कुनै खेलमा नरहेको सुनाए।
उनले तथाकथित दुई तिहाइको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.