काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको राजदरबार फर्कने ताउरमाउरले सत्तारुढ र प्रतिपक्षी दुवै सशङ्कित बनेका छन्। राजतन्त्र पुनर्स्थापनाको माग सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडक आन्दोलन तताइरहँदा गणतन्त्रवादी नेताहरूको मुटुमा ढ्याङ्ग्रो बज्न थालेको छ।
राप्रपाले पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किदा २५ फागुनमा विमानस्थलमा स्वागतसहितको र्याली गर्न घोषित आमसभा नै स्थगित गरेको छ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशपछि गणतन्त्रवादी दलका नेताहरूलाई झस्काएको छ। जनतामा वितृष्णा बढिरहेका बेला पूर्वराजाको चुरीफुरीले प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु जवाफ दिन बाध्य बनेका छन्।
जनताको बलमा गलहत्त्याइएका राजा फेरी दरबार फर्कने दाउ हेरेर बसेका छन्। ज्ञानेन्द्रलाई अब आउँदो वैशाख ११ गते नारायणहिटीमा लगेर राख्ने तयारी समेत राजावादीहरूले गरेका छन्।
नारायणहिटी फर्काउने सुइँको पाएका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरू चुनावी प्रतिस्पर्धामा आउन निम्तो दिन थालेका छन्। प्रतिनिधिसभाको बैठकदेखि सार्वजनिक कार्यक्रममा समेत दलका नेताहरूले दरबार फर्कने चाहना भए चुनावी प्रतिस्पर्धामा आउन भनिरहेका छन्।
महोत्तरीमा नेपाल पल्प एन्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा शाहलाई चुनाव लड्न चुनौती दिए।
नेपाली जनताले फालेको राजतन्त्र पुनः फर्काउन नेपाली जनतानै नाराबाजीमा उत्रने अवस्था आउने सङ्केत पाएका प्रधानमन्त्री ओलीले पूर्वराजालाई आफू जनतामाझ लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्न चुनौती दिए। उनले भने,’अब नेपालमा जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य हुँदैन।’
महोत्तरीमै पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नारायणहिटी दरबार फर्कने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्रलाई धम्की दिए। नेपाली जनताको बलबाट गलहत्त्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी प्रचण्डले दिए।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले सम्सी गाउँपालिकामा गरेको खबरदारी सभामा प्रचण्डले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न भनेका हुन्।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने लोकतन्त्रमा मात्र सबै वर्गका अधिकार सुनिश्चित हुने बताएर जनतालाई आश्वस्त पार्ने प्रयास गरेका छन्।
ललितपुरमा नेपाल भूतपूर्व सैनिक सङ्घको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटनमा देउवाले लोकतन्त्र र काँग्रेस पर्यायवाची भएको उल्लेख गरे। उनले काँग्रेस बलियो भए मात्रै नेपाल संवृद्ध मुलुक बन्न सक्ने पनि सुनाए।
लोकतान्त्रिक व्यवस्थामा देउवा, ओली र प्रचण्डको शासन चलिरहेको छ। पालैपालो सरकारको नेतृत्वमा पुगेका तीन नेताले तीन दशकदेखि जनतालाई पुरा गर्न नसक्ने आश्वासन दिएर राज गरिरहेका छन्।
भौतिक विकासमा भन्दा मस्तिष्क नियन्त्रण गरेर सत्ता टिकाउने ध्यानमा लागेका नेताहरुविरुद्ध बोले मात्रै पनि कारबाही भोग्नु पर्ने अवस्था सिर्जना गरेका छन्। संसद् बैठकपछि प्रधानमन्त्री ओलीलाई हिटलर र निरङ्कुश शब्द प्रयोग गरेर प्रश्न सोध्ने दुई जना पत्रकारको संसद् प्रवेश गर्ने पास निलम्बन गरिएको छ। पूर्वराजालाई गाली गर्दा थपडी बजाउने जनता तीनै नेतातन्त्रको गतिविधिमा प्रश्न गर्दा कारबाही भोग्न बाध्य हुनुपर्ने अवस्था छ।
अक्षम सरकार
सरकार देशमा रोजगारीका अवसर सिर्जना गर्न समेत अक्षम बनेको छ। रोजगारीका लागि विदेश गएका नेपाली युवाको शव बाकसमा आउने क्रम रोकिएको छैन।
अवैधानिक रूपमा लुकिछिपी विदेश जानेहरू अध्यागमन कार्यालयबाटै फर्केको देख्दा देख्दै त्यसरी नै जाने क्रम रोकिएको छैन। बुधवार मात्रै अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई अमानवीय तरिकाले नेपाल फिर्ता पठाएको छ।
अवैधानिक रूपमा विदेश जान नपर्ने अवस्था सिर्जना गर्नतिर लाग्नु पर्ने सरकार अमेरिकालाई किन त्यसरी फिर्ता गरेको भनेर गनगन गर्न थालेको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पनि अपमानजनक तरिकाले नेपालीलाई फिर्ता पठाएको भन्दै आपत्ति जनाए।
रोजगारी सिर्जना गर्ने र विदेश जान नपर्ने अवस्था ल्याउने आश्वासन दिएर चुनाव जितेका जनप्रतिनिधिहरू अमेरिकी व्यवहारको विरोध गर्न थालेका छन्। माओवादी सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट अपमानजनक तरिकाले नेपालीलाई फिर्ता पठाउनु मानव अधिकारका अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको बताए।
सत्तामा रहेको नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले नेपाली फिर्ता पठाउँदा गरेको अमानवीय व्यवहार बन्द गरिनुपर्ने बताए।
उनले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो? भनेर विस्तृत विवरण सार्वजनिक गर्न माग पनि गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.