काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएसँगै राजनीतिक दलहरू आत्तिएका छन्। सत्ताच्यूत भएपछि केही समय मौन रहेका पूर्वराजा अहिले दलबल सहित देश दौडाहामा निस्किने गरेका छन्।
धार्मिक स्थलको भ्रमण, पूर्व राजपरिवारका सदस्य र नातेदारहरूका सङ्घ–संस्था तथा पारिवारिक जमघटमा ज्ञानेन्द्रको उपस्थिति बढ्न थालेको छ। पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरूमा पनि उत्तिकै सक्रियतापूर्वक सहभागी हुन थालेका छन्।
पूर्वराजाको सक्रियता नेपालका मुख्य दलका नेताको टाउको दुखाइको विषय बनेको छ। उनीहरूले आजभोलि भाषण गर्दा अधिकांश समय पूर्वराजा फर्कन नसक्ने भन्दै जनतालाई विश्वास दिलाउन लागेका छन्। जनताको बलमा पुनः नारायणहिटी फर्कने ताउरमाउर गरेका पूर्वराजा ज्ञानेन्द्रलाई सरकार र प्रतिपक्षी दुवैले दल खोलेर चुनाव लड्न निम्तो दिएका छन्।
राजतन्त्र फर्काउने आन्दोलन सुरु हुनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै कित्तामा उभिन पुगेका छन्।
केहीदिन अघि ओलीले चुनाव लड्न निम्तो दिएका थिए। शनिवार प्रचण्डले ओलीको बोलीमा लोली मिलाएका छन्। एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेर नथाकेका ओली र प्रचण्डलाई राजतन्त्र फर्काउने आन्दोलनले एउटै बोली बोल्न बाध्य बनाइदिएको छ।
दरबारियाहरु सलबलाउन थालेको भन्दै नेकपा माओवादी केन्द्र आत्तिएको छ। उसले जनतासँग माओवादी तराई मधेस जागरण अभियान नै स्थगित गर्ने निर्णय गरेको छ। माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको माओवादीका महासचिव देव गुरुङले बताए।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले दिएको सन्देशपछि राजावादी दल र गणतन्त्रवादी दलहरुबीच वाकयुद्ध चलेको छ। पूर्वराजा ज्ञानेन्द्र भने त्यसयता केही बोलेका छैनन्। तर, गणतन्त्रवादी दल र राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच भने सवाल जवाफ चलिरहेको छ।
ज्ञानेन्द्रको वक्तव्यलाई लिएर राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईँले थालेको आन्दोलनपछि गणतन्त्रवादी दलका शीर्ष नेताहरूले चेतावनी र धम्की दिइरहेका छन् भने कतिले समर्थनमै बोले पछि राजावादीहरू हौसिएका छन्।
काँग्रेस नेता शशाङ्क कोइरालाले राजाकै पक्षमा रहेको बताए पछि राप्रपाका नेताहरूले प्रमुख दलमा पनि राजतन्त्र पक्षको मत बलियो देखिएको भन्दै दबाब बढाइरहेका छन्।
राजावादीहरूको चुरीफुरी चलिरहँदा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिवार भेटवार्ता भएको छ। राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कने आइतबार फागुन २५ गते त्रिभुवन विमानस्थल गेट अगाडि उपस्थिति हुन दुवै राप्रपाले नेता, कार्यकर्ता र प्रसाईँले समर्थकहरूसँग आग्रह गरिसकेका छन्। पूर्वराजालाई नारायणहिटी नै फर्काउने भने पछि प्रमुख प्रतिपक्षी दल माओवादी पार्टीको अभियान स्थगित गरेर काठमाडौँ फर्किएको छ।
शनिवार बिहान मात्रै रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र पुनर्स्थापना असम्भव भएको दाबी गर्दै पार्टी खोलेर चुनाव लड्न सुझाव दिए।
राजाका गतिविधिले सत्ताधारी दल नेपाली काँग्रेस र नेकपा एमालेको पनि नीद हराम भएको छ। आफू काम नगर्ने र अरूलाई दोष थुपार्दै दिन कटाउने दलहरू आज भोलि पूर्वराजालाई सराप्न मै समय खर्चिने गरेका छन्।
तर नेपाली काँग्रेसका नेता रामहरि खतिवडा भने राजनीतिक दलले नै राजा फर्किने बारेमा धेरै चिन्ता गर्न नहुने बताउँछन्। खतिवडाले प्रजातन्त्रमा बोल्न पाइने भएकाले राजा पनि बोलेको र कसैले बाजा बजाउँदैमा राजा नफर्किने बताए।
देशको नेतृत्व गरिरहेको दल एमाले पनि राजाको त्रासमा देखिएको छ। गणतन्त्रको विकल्प तानासाह प्रवृत्ति नहुने भएकाले कसैले रहर गरेकै भरमा राजा बन्न नपाइने एमालेले बताउँदै आएको छ। नेताहरूले पूर्वराजाको बारेमा धेरै महत्त्व दिन नहुने सुझाव एमाले नेता पदम गिरीको छ।
राजतन्त्र पक्षधर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफूहरू नै गणतन्त्रवादी दलका नेतालाई चुनावमा भारी पर्ने जवाफ दिएका छन्। ‘राजा चुनाव लड्नका लागि होइन देशको नेतृत्वका लागि हो’, उनले भने।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.