काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ। पूर्वराजा ज्ञानेन्द्रले गमक्क पर्दै गाडीको हुटबाट आधा शरीर बाहिर निकालेर स्वागत थापे।
गुटगुटमा विभाजित राजावादीहरूको स्वागतले पूर्वराजा ज्ञानेन्द्र उत्साहित हुँदै निर्मल निवास पुगे। पूर्वराजालाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल प्रदर्शनसहित बाजागाजाको साथमा विमानस्थलमा पुगेका थिए।
नेपालको राष्ट्रिय झन्डासहित उपस्थित राजावादी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो। राजतन्त्रको पक्षमा ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, नारायणहिटी खाली गर’ भनिरहेका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भने उग्र नारा लगाए।
प्रदर्शनस्थलमा एकातिर भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर तथा “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लेखिएको थियो।
योगी आदित्यनाथको फोटोमुनि ‘राजसंस्था पुनर्स्थापना गरौँ, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो। पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको फोटो देखिएपछि यसलाई लिएर सामाजिक सञ्जालहरूमा चर्चा भएको छ।
विमानस्थलबाट गौशाला, चाबहिल हुँदै महाराजगन्जको निर्मलनिवास पुग्दासम्म पूर्वराजा शाह गाडीमा उभिएर हात हल्लाएर अभिनन्दन गरिरहेका थिए।
गणतन्त्र घोषणा भएर नारायणहिटीबाट निर्मल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र जनतामा देखिएको वितृष्णा र गणतन्त्रवादी नेताहरुप्रतिको आक्रोशलाई क्यास गरेर राजा बन्ने दाउमा लागेका छन्।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र दुर्गा प्रसाईँ समर्थकले साथ दिएका छन्। राप्रपाका नेता पशुपति शम्सेर जबराले राजतन्त्रबिना देश अपुरो हुने बताए।
ज्ञानेन्द्रको अगाडि पछाडि गाडिले स्कटिङ गरिरहँदा हजारौँ समर्थककोबीचमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालित थिए। राजाका समर्थकको भीडका कारण दिनभर ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो।
कतिपय यात्रुहरू पैदलै हिँड्न बाध्य भए भने एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई पनि अवरोध पुग्यो। पूर्वराजा शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको एउटा भिडियो सन्देशपछि राजतन्त्र पक्षधरहरू उत्साहित छन्।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते नै दिएको पूर्वराजाको वक्तव्य सुनेर आफू छक्क परेको सुनाएका छन्। अहिलेको संविधान, नियम कानुन नजानेको नबुझेको झैँ गरेर ज्ञानेन्द्रले आम नागरिकसामु अपिल गरेको भन्दै ओलीले के का लागि सहयोग मागेको हो? भनेर सोधेका छन्।
सुदूरपश्चिम प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्दै उनले राजा कुर्सिमा बसे पछि राष्ट्रपतिलाई के गर्ने? भनेर सोधेका छन्।
२४० वर्ष लामो राज्यसत्ता सञ्चालनको अनुभव भएको र त्यस्तो विरासत बोकेकाले देशलाई सही मार्ग निर्देशन गर्नुपर्ने भए पनि अराजकता मच्चाउन खोजेको आरोप ओलीले लगाए। अहिलेको संविधान कसैले दिएको नभई जनताको सुझावका आधारमा बनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई धावा नबोल्न चेतावनी पनि दिए।
आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले पनि जनताबाट अस्वीकृत भइसकेका राजाले लोकतन्त्रलाई कमजोरीका रूपमा लिन नहुने बताए।
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो सक्रियता गणतन्त्रवादी र राजतन्त्रबादीहरुको मोर्चा बन्ने ठाउँमा पुगेको छ। राजावादीहरूले काठमाडौँमा भव्य स्वागत गरे पछि गणतन्त्रवादी दलका नेता र सरकार प्रतिरक्षामा उत्रिएको छ।
राजतन्त्र फर्काउने राजावादीहरूको गतिविधिले लोकतान्त्रिक गणतन्त्रको हिमायती भन्ने दलहरूलाई झस्काएको छ। सत्ताको लुछाचुँडीले एकअर्काविरुद्ध विष वमन गरिरहेका दलहरू अहिले एक ठाउँमा उभिन आइपुगेका छन्।
राजावादीहरूको चलखेल साम्य हुनुको साटो झन् बढेपछि सत्तासीन र विपक्षी दलहरू मोर्चाबन्दीको तयारीमा लागेका छन्। काठमाडौँ केन्द्रित भएका दलका शीर्ष नेताहरू अनौपचारिक छलफलमा छन्।
अब ठुला दलहरू एक ठाउँ उभिएर गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्नुपर्ने पक्षमा माओवादी छ। सत्तारुढ दल काँग्रेसले पनि आवश्यकताका आधारमा अघि बढ्ने बताएको छ।
सरकारको नेतृत्व गरिरहेको एमालेले पनि राजावादीहरूको गतिविधिहरूप्रति गम्भीर रहेको बताएको छ।
तर, गत आमनिर्वाचनबाट चौथो ठुलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राजावादीहरू उत्साहित हुनुमा सत्तासीन दलहरू जिम्मेवार रहेको बताएको छ।
राष्ट्रिय जनमोर्चाले भने देशमा प्रतिगमनको खतरा बढेको भन्दै गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ। जनमोर्चाले चैत २४ गतेदेखि ३० गतेसम्म सङ्घीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको जनाएको छ।
राष्ट्रिय सभामा पनि राजतन्त्र पक्षधरको नारा जुलुसको विषयमा आवाज उठेको छ। आइतबारको बैठकमा सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर चर्को आलोचना गर्दै राजावादी गतिविधिलाई नियन्त्रणमा लिन सरकारलाई आग्रह गरेका छन्।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराए।
नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धिको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.