राजावादीको प्रदर्शनले आत्तिए गणतन्त्रवादी, लगाए निषेधाज्ञा

राजावादीको प्रदर्शनले आत्तिए गणतन्त्रवादी, लगाए निषेधाज्ञा

1.3k
SHARES

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको प्रदर्शनले प्रमुख दलहरूको होस हवास उडेको छ। सत्तारुढ दलहरू प्रतिवादमा उत्रिदा विपक्षी दलहरू सरकारकै कारण यस्तो अवस्था आएको आरोप लगाउन थालेका छन्।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था विरोधी अभियानले प्रशय पाएको बताएका छन्।

सोमबार बिहान आफ्नै निवास खुमलटारमा विदेशीको इशारामा राजावादीहरू हौसिएको आरोप लगाएका प्रचण्डले बेलुकी राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताए। सिंहदरबारमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटपछि राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो? भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले ‘यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन। किन डराउनु। त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन,’भन्ने जवाफ दिए।

पछिल्ला घटनाक्रमबारे बोल्न प्रचण्डले मङ्गलवारको प्रतिनिधिसभा बैठकमा समय माग गरेका छन्। पार्टीको अभियानसमेत स्थगित गरेर राजावादीलाई रोक्न काठमाडौँ फर्किएका प्रचण्ड गणतन्त्रवादीहरूलाई एउटै मोर्चामा उभाएर राजावादीविरुद्ध काउन्टर दिने आन्दोलनको तयारीमा लागेका छन्।

समाजवादी मोर्चालाई पनि यसैमा लगाउने गरी प्रचण्ड छलफलमा जुटेका छन्। प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटेर छलफल गर्ने तयारीमा छन्। प्रचण्डसँग भेटेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गल्ती भए सच्चिन तयार रहेको तर निरङ्कुश शासन नचाहिने बताए।

एकीकृत समाजवादीको सचिवालय बैठकले पनि वर्तमान परिस्थितिका बारेमा छलफल गरेर गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय गरेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले भने नजरअन्दाज गरेका छन्। सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजा फर्काउन सुरु भएको आन्दोलनका विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्। सोमबार आफ्नो मुद्दाको धरौटी खारेजीका लागि निवेदन दिन जिल्ला अदालत रुपन्देही पुगेका लामिछानेले आफूले बोल्ने समय आउन भने बाँकी रहेको सुनाए।

गुमनाम भएको हो? भन्ने पत्रकारको प्रश्नमा उनले आफूलाई मुद्दा लगाएको मात्र होइन, काठमाडौँका मेयर बालेन शाहलाई प्रशासकीय अधिकृत नपठाएको र धरानका मेयर हर्क साम्पाङलाई रित्तो गाग्री फिर्ता गरेको जनताले हेरिरहेको भन्दै स्वतन्त्रको सेन्टिमेन्ट पनि बटुल्न खोजेका छन्।

आफ्नो सांसद पद निलम्बन गरेकोमा आक्रोश पोख्दै उनले आफ्ना लागि खनेको खाल्डोमा अहिलेका सत्तारुढ दलका नेताहरू आफैँ पर्ने चेतावनी पनि दिए।

संसदबाट पनि प्रमुख दलहरूले राजावादीको चलखेलबारे प्रतिवाद गर्ने तयारी गरेका छन्। सभामुख देवराज घिमिरेले सोमबार बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि राजतन्त्रको पक्षमा भइरहेका गतिविधिबारे छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

गणतन्त्रवादी दलहरू जनतामा देखिएको वितृष्णा कम गर्न भन्दा पूर्व राजाको सक्रियता रोक्न बहस र छलफलमा केन्द्रित भएका छन्। पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको विषयलाई लिएर सामाजिक सञ्जाल तताएका छन्।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेताहरूले आदित्यनाथको तस्बिरलाई विरोध गर्ने मसला बनाए पछि राप्रपाका नेताहरू प्रत्यारोपमा उत्रिएका छन्।

राजावादीको प्रदर्शन भइरहेका बेला एमाले नेता विष्णु रिमालले सामाजिक सञ्जालमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको फोटो राखेर राष्ट्रवादी लेखेका थिए। त्यसको जवाफमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुकबाटै प्रधानमन्त्री केपी शर्मा ओली र ओलीका सल्लाहकार रिमालले आदित्यनाथको फोटो बोक्न मान्छे परिचालन गरेको आरोप लगाए।

रिमालले फेरि शाहीलाई लक्षित गर्दै काँक्रा चोरको संज्ञा दिए। काँक्रा खाएर बियाँ अरूको गालामा टाँस्ने प्रवृत्ति भनेपछि शाहीले नेकपा एमालेको फुलफम सोधेका छन्।

शाहीले रिमाललाई प्रधानमन्त्री ओलीको झोला बोकेर होइन वडाध्यक्ष जितेर देखाउन चुनौती पनि दिए। शाही र रिमालको वाक्युद्धमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पनि स्वयम् सामेल भए।

गैसस महासङ्घको ११ औँ महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आदित्यनाथको फोटो बोक्ने प्रदीपविक्रम राणा आफूले परिचालन गरेको भनेर भ्रम फैलाइएको भन्दै कटाक्ष गरे। आफूहरू कुनै विदेशीको फोटो झुन्ड्याएर प्रदर्शन गर्ने अवस्थामा नरहेको भन्दै ओलीले पूर्वराजालाई जवाफ दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ दाखिला गरेको जानकारी दिए।

पोखराबाट काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको आह्वानमा निकालिएको र्‍यालीपछि महानगरले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आइतबार देखि नै लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न पाइने छैन।

यस्तै, विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति क्षति भएमा आयोजकबाटै क्षतिपूर्तिबापतको रकम असुल गराइने भनिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.