काठमाडौँमा बरामद २५ करोड रकम सुन खरिदका लागि ल्याइएको शङ्का

काठमाडौँमा बरामद २५ करोड रकम सुन खरिदका लागि ल्याइएको शङ्का

511
SHARES

काठमाडौं : प्रहरीले काठमाडौँमा बरामद गरिएको २५ करोड रुपैयाँ सुन तस्करीका लागि ल्याइएको आशङ्का गरेको छ।

राजावादी र गणतन्त्रवादीको आन्दोलनका लागि यति ठुलो रकम ल्याइएको हुन सक्ने अड्कलबाजी गरिए पनि प्रहरीले सुन तस्करीकै लागि रकम ल्याएको हुन सक्ने बताएको हो।

रुपैयाँ कसको हो भन्ने खुल्न बाँकी छ। रकम सुन खरिदकै प्रयोजनार्थ केरुङ लैजान लागिएको आशङ्का गर्न सकिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

पक्राउ परेका कुसाङ लामाले आफू भरिया मात्र भएको प्रहरी समक्ष बयान दिएका छन्। प्रारम्भिक अनुसन्धानमा उनी यसअघि पनि ७ किलो सुनसहित पक्राउ परी ५ वर्ष जेल परेर छुटेको अभिलेखमा देखिएकाले सोही अनुसार अनुसन्धान अघि बढाइएको उनले बताए।

ट्रकमा राखेर करोडौँ रुपैयाँ रसुवातर्फ लैजाँदै गर्दा काठमाडौँको टोखा नगरपालिका–२ झोर सडक खण्डबाट लामा पक्राउ परेका थिए। लामा चालक भई भरियाको रूपमा काम गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। प्रहरीले सिन्धुपाल्चोक घर भएका लामालाई ना ७ ख १६५२ नम्बरको ट्रक र २५ करोड रुपैयाँसहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

पक्राउ परेका लामालाई म्याद थप भएसँगै अनुसन्धानका लागि राजस्व कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
511
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.