गणतन्त्र पक्षधरको प्रदर्शनमा कांग्रेसको समर्थन, राजावादीहरूमा भाँडभैलो

गणतन्त्र पक्षधरको प्रदर्शनमा कांग्रेसको समर्थन, राजावादीहरूमा भाँडभैलो

1.8k
SHARES

काठमाडौँ : राजावादीविरुद्ध घोषित चैत १५ को आन्दोलनलाई सत्तारुढ दल नेपाली काँग्रेसले समर्थन जनाएको छ। आन्दोलनमा प्रत्यक्ष सहभागी हुने या नहुने निर्णय नगरेको सत्तारुढ काँग्रेसले समर्थन भने जनाएको हो।

सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी र पदाधिकारीको अनौपचारिक बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले समाजवादी मोर्चाको घोषित आन्दोलनमा समर्थन रहेको बताए।

राजतन्त्र पक्षधरको प्रदर्शनले सरकार प्रभावित नहुने उनले बताए। गणतान्त्रिक व्यवस्था बचाउन सर्वदलीय सरकार बनाउने हल्लाबारे प्रवक्ता महतले छलफल नै नभएको सुनाए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका छन्। राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर पाएको उनले सुनाए।

अहिले व्यवस्थामाथि प्रश्न उठाउने दुष्साहस गरेको भन्दै प्रचण्डले राजामहाराजाहरूले अर्को दुष्साहस गरे ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

भिलेनको रूपमा भए पनि गणतन्त्र स्थापनामा पुर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वपूर्ण भूमिका रहेको प्रचण्डले बताए। भिलेन नभई फिल्म नचले जस्तै ज्ञानेन्द्र भिलेन भएरै गणतन्त्र स्थापना सहज भएको उनले उल्लेख गरे।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा निकट जनसांस्कृतिक महासङ्घद्वारा काठमाडौँमा आयोजित संयुक्त सांस्कृतिक प्रतिरोध दिवसको कार्यक्रममा प्रचण्डले पुर्वमाओवादीहरु फेरी एक ठाउँमा छिटै आउने दाबी पनि गरे।

राजावादीहरूभित्रै भाँडभैलो

पुर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ को वक्तव्यमा हौसिएर सडकमा निस्किएका राजावादीहरूभित्रै भाँडभैलो देखिएको छ। उनीहरू एकअर्काको अस्थित्व स्वीकार नगर्नेमा देखिएका छन्।

मुद्दामा एक हुनु भन्दा पनि आन्दोलन नै कसको नेतृत्वमा गर्ने भन्नेमै विवाद सुरु भएको छ। राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङदेनकै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ।

पुर्वराजा ज्ञानेन्द्र शाहको विश्वासपात्र भनेर राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा आन्दोलन अगाडी बढाउने भनिए पनि राप्रपाले अध्यक्ष लिङदेनकै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकपछिको पत्रकार सम्मेलनमा दरबारले सुबेदीलाई आन्दोलनको कमान्डर बनाएको चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा लिङदेनले ‘कसले भनेको? भन्दै उल्टो प्रश्न गरे।

राजतन्त्र पुनर्स्थापनाका लागि अहिले राप्रपा, राप्रपा नेपाल, विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ र पूर्वमन्त्री केशरबहादुर विष्टको समूह सतहमा आए पनि एजेन्डा र आन्दोलनको नेतृत्वलाई लिएर उनीहरूबीच विवाद छ। सुवेदी संयोजक रहेको समितिमा सदस्य राखेकोमा राप्रपा अध्यक्ष लिङदेनले आपत्ति जनाए।

अर्को राजावादी दल राप्रपा नेपालले भने नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि निर्देशक समिति गठन भएको प्रति खुसी व्यक्त गरेको छ। तर, पार्टीका अध्यक्ष कमल थापा समितिमा नबस्ने भएका छन्।

कार्यसम्पादन समितिको बैठकले समितिमा अध्यक्षको स्थानमा उपाध्यक्ष तारानाथ लुइँटेललाई पठाउने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.