काठमाडौं : सरकार गठनको ८ महिना नाघिसक्दासमेत छिमेकी मुलुक भारतले निम्तो नदिए पछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बनेका छन्।
भ्रमणका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई पटक पटक पठाए पनि भारत तयार नभए पछि प्रधानमन्त्री ओली थप रुष्ट देखिएका हुन्।
प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री देउवा औपचारिक कार्यक्रम सकिए पनि भारतमै छिन्। तर, उनले भारतीय उच्चपदस्थहरूसँग भेट गर्ने निम्तो पाएकी छैनन्।
प्रधानमन्त्री ओलीले संविधान जारी गरेपछि भएको नाकाबन्दीको विरोध गरेका थिए। दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत क्षेत्रहरूलाई समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरे पछि भारत ओलीसँग असन्तुष्ट छ।
अहिले पनि भारतले नेपालमा नयाँ सरकार गठनका लागि प्रत्यक्ष अप्रत्यक्ष कसरत गरेको चर्चा चलिरहेका बेला ओलीले फेरि दुई देशबीचको सीमाको कुरा उछालेर भारतलाई थप चिढ्याएका छन्।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने क्रममा दुई देशले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्न नमानेका कारण समस्या सधैँका लागि समाधान हुन नसकेको दाबी गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहमतिमा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र सन्धि–सम्झौतालगायत विषयमा सिफारिस गर्न ईपीजी गठन भएको थियो। ईपीजीले दुई वर्षको अध्ययनपछि तयार गरेको प्रतिवेदन पहिले भारतलाई बुझाउने भनेको तर ६ वर्ष बित्दासमेत भारतीय पक्षले बुझ्न नमानेको ओलीले सुनाए।
भारतसँगको सीमा विवाद सधैँका लागि समाधान गर्ने गरी कूटनीतिक संवाद र उच्चस्तरीय वार्तामा पनि कुरा उठाएको भन्दै प्रधानमन्त्री ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा पुग्न भारतको भूमि प्रयोग नगर्ने गरी बाटो निर्माणको काम भइरहेको बताए।
संसद् आक्रोश व्यक्त गर्ने थलो
प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर आक्रोश व्यक्त गर्ने थलोको रूपमा प्रयोग भएको छ। प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधान छ। तर प्रधानमन्त्री र सांसद दुवैले यस कार्यक्रमलाई आक्रोश व्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्।
चौथो पटक प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिने क्रममा पनि प्रधानमन्त्रीमा उस्तै आक्रोश देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिस झाले खरिदारदेखि मन्त्रीसम्म आफ्ना मान्छे भर्ती गरे पनि सरकार फेल भएको टिप्पणी गरे पछि प्रधानमन्त्री ओलीले एक जना मान्छे भनिदिए धन्यवाद भन्ने तर आफूहरू सरकारमा आए पछि देशको हालत खराब नभएको जवाफ दिए।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीले सरकारको आलोचना सुन्ने बित्तिकै आक्रोशपूर्ण जवाफ दिने गरेको बताए। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरपछि आर्थिक कार्यविधिको दफावार छलफलमा भाग लिँदै उनले अघिल्लो पटक आफूले सोधेको प्रश्नको पनि आक्रोशपूर्ण जवाफ दिएको स्मरण गरे।
अघिल्लो पटक ज्वालाले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘तपाईँ मन्त्री हुँदा के गर्नुभयो र?’ भन्ने प्रतिप्रश्न गरेका थिए।
यस्तै अघिल्लो पटक प्रधानमन्त्री ओलीले आफूले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै सांसद प्रभु साहले बिहीबारको संसद् बैठक बहिस्कार गरे। प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको औचित्य नभएको भन्दै कार्यसूचीबाट हटाउन भने पनि माग पुरा नभएको भन्दै साहले बहिस्कार गरे।
प्रचण्ड बिरामी हुँदा समय नपाएको जवाफ
प्रमुख दलहरूले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन एकअर्कालाई देखाउने गरेका छन्। सत्तामा हुँदा प्रतिपक्षीलाई देखाउने प्रवृत्तिले १८ वर्षदेखि यो प्रक्रियाले पूर्णता पाउन सकेको छैन।
वर्तमान सरकार बनेपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित भयो। तर दुई महिनामा गठन गरिसक्ने भनिएका दुई आयोग हालसम्म पनि बन्न सकेका छैनन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको सुनाए।
तर त्यसका लागि प्रमुख प्रतिपक्ष दलको नेतासँग सम्पर्कको प्रयास गरे पनि बिरामी भएकाले समय नपाएको जवाफ दिए।
तर प्रधानमन्त्री ओलीले भनेजस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी छैनन्। उनी पार्टीको अभियानका क्रममा बारा जिल्ला पुगेका छन्। प्रचण्डले बिहीबार मात्रै बाराकै हरनहिया सहिद परिवारसँग भेटेका छन्।
तराई मधेस जागरण अभियानको क्रममा बारा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी सकियो भन्नेहरूलाई स्थानीय तहको उपनिर्वाचन र स्ववियु चुनावले जवाफ दिएको बताए।
काँग्रेस र एमाले मिलेर लड्दा मात्रै होइन, चुनाव चिन्ह साटासाट गरेर एकैठाउँमा उभिँदा पनि माओवादीले जित्नुले आफूहरू कसैको वैशाखी नटेकी उभिन सक्छौँ भन्ने सन्देश दिएको सुनाए।
राजावादीको आन्दोलनलाई सत्तारुढ दलको काउन्टर
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले राजावादीको आन्दोलनको काउन्टरमा एक्लै सडकमा जाने भएको छ।
सत्तारुढ नेपाली काँग्रेसले तत्कालै सडकमा नओर्लने बताए पछि एमाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने तयारीमा जुटेको हो।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सक्रियतामा समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा गणतन्त्र पक्षधरको प्रदर्शन गर्ने तयारी गरेको छ। त्यसमा सहभागी नभए पनि समर्थन रहेको काँग्रेसले बताएको छ।
राजावादीहरूले पनि एउटा मोर्चा बनाएर आन्दोलनको तयारी गरिरहेका छन्। तर एमालेले भने देशमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै जनसचेतना अभियान घोषणा गरेको छ।
तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले सोही अभियान अन्तर्गत चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गरेको छ।
यही चैत ११ गते एकै दिन एकै समय देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने, चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल र्याली गर्ने, सोही दिन सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा गर्ने र चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने तयारी छ।
प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राजालाई स्वागत गर्दा पनि गणतन्त्रवादीको सातो गएको भन्दै विरोधमा आन्दोलन गरे के हुन्छ? भनेर सोधेका छन्।
दिउँसो काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले हा हा हु हु गर्दैमा लोकतन्त्र नमासिने भन्दै सांसद रघुजी पन्तकै शब्द र शैलीमा जवाफ फर्काएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.