कैलालीको सिमली जङ्गलमा ‘रेन्बो ग्यादरिङ’

कैलालीको सिमली जङ्गलमा ‘रेन्बो ग्यादरिङ’

मोबाइल, साउन्ड सिस्टम, रक्सी तथा लागु पदार्थ पूर्ण रूपमा वर्जित

3.3k
SHARES

कैलाली : कैलालीको सिमली जङ्गल विभिन्न १६ देशका विदेशी पर्यटकले कब्जा गरेका छन्। भारत, अमेरिका, चीन लगायत देशका १५० भन्दा बढी विदेशी पर्यटकहरूले सिमली जङ्गल कब्जा गरेका हुन्।

यसअघि अछामको रामारोशनमा आएका विदेशी पर्यटक यो पटक सिमली जङ्गलमा बसेका छन्। ‘रेन्बो फेमिली ग्यादरिङ’का नाममा उनीहरूले अस्वाभाविक गतिविधि गरेको गुनासो पछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल, प्रहरी प्रमुख पदम विष्टसहितको टोलीले अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी हमालले घटनास्थलको निरीक्षण गर्दा उनीहरूका गतिविधि र क्रियाकलाप अस्वाभाविक देखिएको बताए। जङ्गल छोडेर आफ्नो गन्तव्यमा फर्किन उनले निर्देशन जारी गरेका थिए।

तर, उनीहरूले ठाउँ खाली गर्न प्रशासनको निर्देशन अटेर गरेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकलाई २४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन उनीहरूले नमानेका हुन्।

विभिन्न देशका एक सय ५० नागरिक सिमली जङ्गलमा बिना अनुमति बस्दै आएका छन्। उनीहरू सबैले उक्त क्षेत्र नछाडेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

केहीले भने उक्त ठाउँ छोडे पनि सयौँ पर्यटक अझै त्यही रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रमुख जिल्ला अधिकारीसँग कुराकानीका क्रममा विदेशी नागरिकले आफूहरू प्रकृतिमा रमाउने नेचर लभर भएको र विभिन्न देशमा पुगेर जङ्गलमा बस्ने गरेको बताएका थिए। प्रमुख जिल्ला अधिकारी हमालले सम्बन्धित निकायसँग लिएको अनुमति देखाउन आग्रह गरेपछि उनीहरूले अनुमति नै नलिएको खुलेको थियो।

घोडाघोडीका नगरप्रमुख खड्कबहादुर रावतले भने उनीहरू कानुनी रूपमै नेपाल भित्रिएको बताए। रेन्बो फ्यामिली एक गैरसङ्गठित अन्तर्राष्ट्रिय समुदाय रहेको र उनीहरू प्राकृतिक जीवनशैली, शान्ति, प्रेम, आध्यात्मिकता, र स्वतन्त्रतामा रमाउने समूह रहेको उनले बताए।

यसअघि पनि उक्त समूहले देशका विभिन्न स्थानमा यसरी नै बस्ने गरेको पाइएकाले आफूहरूले स्वाभाविक रूपमा लिएको उनको भनाइ छ।

‘रेन्बो फेमिली अफ लिभिङ लाइट’ हिप्पी कल्चरको आधुनिक रूप हो। विभिन्न पेसा र विधामा कार्यरत संसारभरिका व्यक्तिहरू यसका सदस्य छन्।

ओलम्पियनदेखि डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक लगायत विभिन्न पेसा र विधामा कार्यरत व्यक्तिहरू यसको सदस्य छन्।

उनीहरूले चन्द्रमा उदाउन सुरु भएदेखि पूर्णिमासम्मको एक महिनाको अवधिमा वर्ल्ड रेन्बो ग्यादरिङ आयोजना गर्दै आएका छन्। वर्ल्ड रेन्बो ग्यादरिङ संसारभरिका रेन्बो फेमिली सदस्यहरूले मनाउने महाउत्सव हो।

यो एक प्रकारको बिपश्यना र ध्यान जस्तै उत्सव हुने जानकार बताउँछन्। रामारोशन भन्दा अघि सन २०१८ मा अर्घाखाँचीको बालुवामा ३२८ जना रेन्बो फेमिलीका सदस्यहरू सहभागी भएका थिए।

वर्ल्ड रेन्बो ग्यादरिङको सुरुवातमा १० दिन सिड क्याम्प हुन्छ। जसलाई वर्ल्ड रेन्बो ग्यादरिङ पूर्वको तयारीको जिम्मेवारी हुन्छ। त्यो जिम्मेवारी पाउने भोलेन्टरहरुले शौचालय, टेन्ट र आवश्यक सम्पूर्ण तयारीहरू गर्छन्। वर्ल्ड रेन्बो ग्यादरिङमा कुनै पनि इलेक्ट्रिक डिभाइसको प्रयोग गर्न पाइँदैन। मोबाइल, साउन्ड सिस्टम, रक्सी तथा लागु पदार्थ पूर्ण रूपमा वर्जित हुन्छ।

उनीहरू सबै चिज छोडेर एक महिनापूर्ण रूपमा अलग संसारमा उत्सव मनाउने गर्छन्। जहाँ न टेलिफोन हुन्छ, न मोबाइल, न टिभी, न त सञ्चारका कुनै माध्यमहरू। कसैलाई भोक लागे हेल्प ईन द किचेन भनेर बोलाउने गरिन्छ। र, त्यसपछि सेफहरूको समूहले खाना पकाएर सम्बन्धित व्यक्तिलाई पस्किन्छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.