काठमाडौँ : भुटानको शाही सरकारले देश निकाला गरिएका नागरिकलाई घर फर्कन रोक लगाइरहेको छ। जेल मुक्त गरेपछि पनि देश निकाला गर्न छोडेको छैन। ५ जुलाई २०२४ मा ३१ वर्ष १० महिनाको कठोर जेल जीवन बिताएका रामबहादुर राई रिहा भए। तर, उनी देशमा बस्न पाएनन्। उनी नेपालको बेलडाँगी शरणार्थी शिविरमा बास बस्न आएका थिए।
३० वर्ष जेल सजाय भुक्तान गरेका मधुकर मगर भुटानको प्रहरीले भारतीय सीमामा फालेपछि ११ अगस्ट २०२३ मा दमकको भुटानी शरणार्थी शिविर बेलडाँगी आइपुगेका थिए।
उनीहरू आफ्नो समय भुक्तान गरेर आएका हुन्। भुटानमा राजनीतिक कैदी बन्दीहरूको अवस्था एकदमै नाजुक छ। डायबिटिज भएको छ। ब्लड प्रेसर हाइ भएको छ। छालाको रोग लागेको छ। मानसिक रोग छ। पीडैपीडा छ।
उनीहरूलाई रोगले ग्रस्त बनाएको छ। उनीहरूले न घाम देख्न पाउँछन्। न परिवार देख्न पाउँछन्। क्रूर अमानवीय भएर शासकले उनीहरूमाथि अन्याय गरेको छ।
भुटानले सन् १९९० मा ठुलो सङ्ख्यामा आफ्ना नागरिकलाई देश निकाला गर्यो। ती नागरिकलाई जन्मभूमिमा पाइला टेक्न बन्देज लगाएको छ। संसारका जुनसुकै देशमा भ्रमण गर्न पाउने उनीहरू भुटान जान पाउँदैनन्।
भुटान आफूलाई विश्वको खुसी देश भनेर दाबी गर्छ। जसले मानवअधिकार, प्रजातन्त्र, खुसीयाली, परिवार मेलमिलापको लागि आवाज उठायो, उसलाई कि जेलमा राख्छ, कि देश निकाला गर्छ।
शरणार्थी शिविरमा एक मुठ्ठी सास रहुन्जेलसम्म पनि देश बिर्सिनु हुँदैन भन्ने शरणार्थीहरूको जीवन खस्किँदो छ। उनीहरूका लागि कोही पनि छैन। केवल छ त, शिविर। तर, भुटान भने शिविरमा रहेका आफ्ना नागरिकलाई नागरिकको अधिकार दिन समेत अटेरी गरिरहेको छ।
भुटानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध : नेपाल र भुटानले बुझ्न अस्वीकार गरेपछि ८ भुटानी अलपत्र
तेस्रोदेश पुनर्वास भएका आफ्ना नागरिकलाई गैरआवासियको मान्यता समेत दिएको छैन भुटानले। भुटान सरकारले अहिले पनि आफ्ना नागरिकलाई खेद्ने नीति कायम राखेको छ। गैरकानुनी रूपमा अमेरिका अथवा अस्ट्रेलियामा बाध्य बनाएर खेद्ने नीति नै लिएको भुटानबाट हुने भ्रमणमा २५/२६ जनाको टोली समावेश हुने र फर्कँदा एक जना मात्रै हुने गरेको विषय पनि यतिबेला चर्चामा छ।
भुटान सरकारको गैरकानुनी गतिविधिमा अमेरिकाले बन्देज लगाएको छ। भुटानबाट अब अमेरिकामा भ्रमण गर्न पाइँदैन। यो अमेरिकी सरकारले भुटान सरकारलाई तिमी पनि फटाहा चाहिँ हो है भनेको भन्छन् भुटानी शरणार्थीहरू।
भुटान सरकार सुध्रिने बेला आएको उनीहरू बताउँछन्। आफ्नो देशका नागरिकहरूलाई तुरुन्त पुनर्स्थापना गराउने, राजनीतिक कैदीबन्दीहरुलाई रिहा गर्ने र तितरबितर बनाएका परिवारहरूलाई पुनर्मिलनको ढाको खोलिदिए मात्र अमेरिकाको यात्रा प्रतिबन्धबाट हट्ने शरणार्थीहरू बताउँछन्।
भुटानका राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान अमेरिकाका संयोजक सिएम निरौला यात्रा प्रतिबन्धलाई भुटानले सुध्रिने मौकाको रूपमा लिनुपर्ने सुझाव दिन्छन्।
सुनौँ निरौलासँग गरिएको कुराकानी
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.