भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा

भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा

काठमाडौं : भुटानमा ३० वर्ष जेल जीवन बिताएर एक जना भुटानी भरखरै नेपालको शरणार्थी शिविरमा आएका छन्।

राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेर ३० वर्ष जेल परेका भुटानी नागरिक मधुकर मगर झापाको दमकमा रहेको बेलडाँगी शिविरमा आइपुगेका हुन्।

भुटानी सरकारले तोकेको जेल सजाय भुक्तान गरेर रिहा भएका मगर आफ्नै देशमा बस्न पाएनन्। सुरक्षाकर्मी लगाएर मगरलाई भुटान सरकारले देश निकाला गरिदिँदा मगर भारतको बाटो हुँदै नेपाल आइपुगे।

परिवार खोज्दै शरणार्थी शिविरमा पुगेका उनी अहिले भाइको डेरामा बसेका छन्। तोकिएको जेल सजाय भुक्तान गरेर २१ हजार रुपैयाँ जरिवाना समेत बुझाएका उनले आफ्नै देश भुटानमा बस्न पाएनन्।

परिवार, साथीभाइ भेट्नका लागि अहिले आफू झापाको बेलडाँगी शिविरमा रहेको मधुकरले बताए। ‘३० वर्ष जेल बसियो, छुटेर यता आइएको छ,’उनले पहिचानसँग भने,‘एक्लै हिँड्न अप्ठ्यारो भएको छ,साथीभाइसँग सोधखोज गर्दै छु।’

नेदरल्यान्ड्सको हेगस्थित भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले चेम्गाङ केन्द्रीय कारागारमा रहेका राजनीतिक बन्दीहरूको अवस्था निकै दयनीय रहेको बताए।

अभियानका संयोजक कार्कीले विज्ञप्ति निकालेर भुटानी राजनीतिक बन्दीहरूलाई रिहा गर्ने अभियानमा सहयोग गर्ने ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल, युरोपेली सङ्घ, नेपाली मिडिया र सबैलाई धन्यवाद दिएका छन्। भुटानी जेलबाट प्रत्येक भुटानी राजनीतिक बन्दी सुरक्षित रूपमा रिहा नभएसम्म यस्तो सहयोग जारी रहने पूर्ण आशा समेत उनले व्यक्त गरेका छन्।

डम्बरसिंह पुलामी, गङ्गाराम ढकाल, मणिकुमार प्रधान, ओमनाथ अधिकारी र सानमान गुरुङजस्ता राजनीतिक बन्दीहरू जेल जीवनको प्रारम्भिक यातनाका कारण विभिन्न दीर्घकालीन रोगबाट पीडित छन्। कारागारको नियममा कैदीहरूलाई निशुल्क औषधि दिने उल्लेख भए पनि उनीहरूलाई डाक्टरले तोकेको औषधि समेत आफैँ किन्न भनिन्छ।

पहिल्यै अभावमा परेको रासन हालै घटेको छ। जसका कारण राजनीतिक बन्दी आधा पेट खान बस्न बाध्य छन्। ‘म भाग्यले ३० वर्षको कठोर जेलमा बाँचेको छु, तर कम खाना र अन्य सुविधामा साथीहरू कसरी बाँच्न सक्छन् भन्नेमा अहिले डर लाग्छ’ मधुकरले भने।

मधुकरलाई राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा ११ फेब्रुअरी १९९४ मा गिरफ्तार गरियो र ३० वर्षको जेल सजाय भयो। त्यसयता उनले चेम्गाङ केन्द्रीय कारागारमा सजाय काटे।

भुटानका राजालाई थप ढिलाइ नगरी सबै भुटानी राजनीतिक बन्दीहरूलाई आममाफी दिनको लागि कार्कीले पुन अपिल गरेका छन्। उनले भुटान सरकारलाई राजनीतिक बन्दीहरूलाई पर्याप्त राशन, र निःशुल्क औषधि सहित उचित र निःशुल्क चिकित्सा उपचार उपलब्ध गराउन अनुरोध पनि गरेका छन्।

भुटान प्रहरीले ९ अगस्ट २०२३ मा भारत पठाएपछि मधुकर ११ अगस्ट २०२३ मा दमकको भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको आफ्नो भाइको घरमा सकुशल पुगे। उनकी श्रीमती, छोराछोरी र आमाबुवा सबैलाई पुनर्वास गरिएको छ।

मधुकर अहिले बेलडाँगी क्याम्पमा भाइको झुपडीमा शरण लिएर बसेका छन्। अभियानले शिविरमा पुन दर्ता गर्न र मधुकरका पत्नी, बच्चाहरू र संयुक्त राज्य अमेरिकामा वृद्ध आमाबाबुसँग समयमै पुनर्मिलन प्रक्रिया अगाडि बढाउन अनुरोध पनि गरेको छ।

रिहा भएपछि उनलाई साथीभाइ भेट्न समेत नदिएर देश निकाला गरिएको जानकारी आफूले पाएको कार्कीले बताए। ‘उहाँ (मधुकर)लाई सजाय भुक्तान गरिसकेपछि मात्रै रिहा गरिए पनि आफ्नो देश बस्न दिइएन,’कार्कीले भने,‘भुटानी सरकारको अत्याचार अहिले पनि उस्तै छ।’

राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा चेम्गाङ केन्द्रीय कारागारमा सजाय काटिरहेका मगर शुक्रवार मात्रै रिहा भए। सन् १९९४ मा राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा मगरलाई जेल सजाय सुनाइएको थियो।

राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानको अनुरोधमा ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल लगायतले भुटानी राजनीतिक बन्दीहरूलाई रिहा गर्न आग्रह गरिरहेको छ।

भुटानका राजालाई थप ढिलाइ नगरी सबै भुटानी राजनीतिक बन्दीहरूलाई आममाफी दिन ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल लगायतले अपिल समेत गरेका छन्। तर, भुटानी राजाले जेल परेकालाई रिहा गर्ने त परको कुरा आफ्नो विरुद्ध बोल्नेलाई खोजी खोजी जेल हालिरहेको छ।

त्यही भुटानी राजाको अत्याचारविरुद्ध बोल्दा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल १० वर्ष भुटानको जेलमा परेका थिए। शुक्रवार मात्रै रिहा भएर बेलडाँगी शिविरमा आइपुगेका मगर रिजालसँगै जेलमा थिए।

चेम्गाङ जेलमा थुनिएका टेकनाथ रिजाल, दिल राई, टेकबहादुर मगर, मानबहादुर खालिङ, मंगलध्वज सुब्बा, शान्तिराम आचार्य, रुद्रबहादुर कार्की जेलबाट रिहा भएर नेपाल आइसकेका छन्।

निर्वासन अध्याय- १३

निर्वासनका अरु अध्याय

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading