अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस्

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस्

काठमाडौं : मानवअधिकारकर्मीहरुले टेकनाथ रिजाललाई भेटेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रिजाललाई आइतबार मानवअधिकारकर्मीहरुले भेटेका हुन्।

जबाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईँ, इन्हुरेड इन्टरनेशनलका अध्यक्ष डा गोपालकृष्ण शिवाकोटी, एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पूर्वअध्यक्ष राजन कुइँकेल, निर्देशक निरञ्जन थपलिया, डा केदार नरसिंह केसी, एमनेस्टी इन्टरनेशनल लन्डनका अन्तर्राष्ट्रिय बोर्ड सदस्य रिच लिले रिजालको खाने बस्ने व्यवस्था, स्वास्थ्य अवस्थामा चासो राखेर कुराकानी गरेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनले अधिकारकर्मीको चासोमा आश्वस्त तुल्याएको प्रमुख ललित बस्नेतले बताए। ‘टेकनाथ रिजालको उमेर अवस्था, स्वास्थ्य, शरणार्थीको मामलामा अन्तर्राष्ट्रिय स्थापित कानुन अनुसार होस् भन्ने उहाँहरूको थियो,’बस्नेतले भने,‘कन्जुस्याइँ नगरोस् भन्ने थियो, हामीले आश्वस्त तुल्यायौँ।’

७६ वर्षका रिजाल डाइवेटिजका बिरामी हुन भनेरै त्यही अनुसारको खानेकुरा व्यवस्थापन गर्ने गरिएको उनले बताए। ‘प्रहरी हिरासतमा पाएको दुख भन्नुभएको रहेछ उहाँ (रिजाल)ले,यहाँ त ठिकै व्यवहार गरेका छन् भन्नु भएछ,’कारागार प्रमुख बस्नेतले भने,‘असुविधा केही छैन, कहीँ सार्नु पर्दैन भन्नु भएछ, मानवअधिकारकर्मीको टोलीले पनि हामीसँग त्यही भन्यो।’


एमनेस्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष एवं पत्रकार राजन कुइँकेलले रिजाललाई नेपाल सरकारले फसायो भन्ने रहेको सुनाए। ‘नेपाल सरकारले फसायो, डिजाइन गर्ने मान्छेलाई बाहिर राखेर भुटानी नागरिकको बिचल्ली बनाइएको छ,’रिजालको भनाई उद्धृत गर्दै कुइँकेलले पहिचानसँग भने,‘भुटानीलाई बेच्दै छन् भनेर शेरबहादुर, केपी ओली, प्रचण्डका मान्छेलाई रोक्न भने, रोक्न मानेनन्, उल्टै फसाए।’

रिजालले आफू फस्ने आधार नभएको बताएका कुइँकेलले सुनाए। ‘जीवनको उत्तरार्धमा जेल बस्नु परेको छ,इमानदारितामा दाग लगाउने काम भएको छ,’रिजालले अधिकारकर्मीको टोलीलाई भने,‘म फस्ने आधार छैन। त्रसित पनि छैन, डराएको पनि छैन, हारेको पनि छैन।’

नक्कली शरणार्थी : टेकनाथलाई आरोपीसँगै राख्दा असुरक्षा, रिहा गर्न अभियानको माग

उनले आफू जेलभित्रै पर्दा शिविरमा रहेका ६ हजार भुटानी अलपत्र परेको सुनाए। ‘जेल भित्रको यो मुद्दा भन्दा पनि शिविरमा अलपत्र परेका ६ हजार भुटानीको माग सम्बोधन होस्, भुटानको जेलमा रहेका राजनीतिक बन्दीको रिहा होस्,’रिजालले टोलीसँग भने,‘म त जेल भित्रै मरौँला केही छैन, मेरो आव्हान र अपिल के छ भने, अन्यायमा परेका ६ हजार भुटानीको न्यायका लागि लडिदिनुहोस्।’

रिजालले आफूमाथि लगाएको आक्षेपको आधार प्रमाण केही नभएको सुनाएका पूर्वअध्यक्ष कुइँकेलले बताए। अधिकारकर्मीको टोलीसँग रिजालले नेपालकै बदनाम हुन थाल्यो भनेर सुनाए पनि नेताहरूले नसुनेको बताए। नबिराएको कुरामा फसाउने कुरा भया ५ वर्ष अगाडि भन्दा सुन्नु भएन,’रिजालले भने,‘यिनीहरू विरुद्ध भण्डाफोर गर्छु भनेपछि मलाई जेल हाले। के बिराएको छु र।’

रिजालले जेल प्रशासनबाट क्षमता अनुसार ट्रिट भएको अधिकारकर्मीको टोलीलाई बताए।‘ गुनासो केही छैन। एक्लै हिसाबले बस्ने चाहना हो। व्यवस्था नभएरै होला,’रिजालले टोलीसँग भने,‘धेरै गुनासो गर्दिन। सकेको गर्नु भएको छ, औषधी खाने व्यवस्था पनि मिलाएका छन्।’ अधिकारकर्मीको टोलीले डायस्पोरामा रहेका नेपाली भाषी भुटानीको आग्रह पछि आफूहरू भेट्न आएको सुनाएका थिए।

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

अधिकारकर्मीको टोलीलाई नेपालसहित विभिन्न देशमा रहेका भुटानी जनताको साथ सहयोग प्रति आभारी रहेको रिजालले सुनाएका थिए। रिजालले आफ्नो लागि जेल जीवन नयाँ नभए पनि जुन आरोपमा हिरासतमा रहनुपरेको छ त्यसले दुःख लागेको बताएका थिए।

रिजालले वास्तविक अपराधीलाई फुत्काउने र अरूलाई फसाउने षड्यन्त्र हुन सक्ने भन्दै बाहिरबाट खबरदार गर्नसमेत आग्रह गरेका छन्।

रिजालले अदालतबाट न्याय पाउने आशा पनि व्यक्त गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा रहेका रिजाललाई तत्काल रिहा गर्न ‘भुटानका राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ ले माग गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, निलम्बित पूर्वगृह सचिव टेकनारायण पाण्डे, काँग्रेस नेता आङटावा शेर्पा, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मिया, केशवप्रसाद दुलाल, सानु भण्डारीसहित १६ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।

१० जनाले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न उच्च अदालत पाटनमा निवेदन दिइसकेका छन्। उच्चले निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश दिएको जनाएको छ।

निर्वासन अध्याय-३

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading