सुहाङले जोगाए सुवासको विरासत, सहकारीले थच्चियो रास्वपा

सुहाङले जोगाए सुवासको विरासत, सहकारीले थच्चियो रास्वपा

काठमाडौं : प्रतिनिधि सभा इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ निर्वाचित भएका हुन्।

सुहाङ दिवङ्गत सुवासचन्द्र नेम्वाङका छोरा हुन्। उनले बुबाको विरासत सम्हाल्ने जिम्मेवारी पाएका छन्। सुहाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भए। प्रतिस्पर्धी काँग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले भने जमानत समेत जोगाउन सकेनन्। उनले ५ हजार ५० मत पाए। सामाजिक सञ्जालमा एक नम्बरमा भनेर झ्याली पिटेको रास्वपा चौथो नम्बरमा खुम्चिएको छ। सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको असर जनमतमा परेको देखिएको छ।

इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एकीकृत समाजवादीका सहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो। रास्वपाका उम्मेदवार मिलन लिम्बु र एकीकृत समाजवादीका जितबहादुर राईले सदर मतको १० प्रतिशत पनि ल्याउन सकेनन्।

उपनिर्वाचनमा एमालेलाई लाभ, काँग्रेसमा विलाप

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ मा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

कूल ६८ हजार ४ सय ७२ मत खसेको इलाममा जमानत जोगाउन ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो। तर रास्वपाका लिम्बुले ५ हजार ५० र एकीकृत समाजवादीका राईले जम्मा ४ सय ८ मत मात्रै पाए।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेसमबहादुर सुनार नेपाली छन्।

स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालको पनि जमानत जफत भएको छ।

खसेकोमा मतमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। २०७९ सालको निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन भएको हो।

‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading