सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

काठमाडौं : नेपाली नागरिकलाई भुटानी बनाएर तेस्रो देश पुर्नवास गराउन करोडौँ रुपैयाँ अपचलन गर्ने गिरोह पक्राउ परेको छ। गिरोहमा संलग्न मध्ये अहिलेसम्म १३ जना पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको तीन दिन पछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझीलाई प्रहरीले फेला पारेको जनाएको छ।

अर्घाखाँचीमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि बनेको कार्यक्रममा सहभागी भएर रुपन्देही झरेका रायमाझी फरार भएका थिए। प्रहरी महानिरीक्षक र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएर फरार भएका उनी काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परे।

पूर्वमन्त्री खाँणलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अनुमति दिएकै दिन रायमाझी पक्राउ परे। कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सकेर प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएको छ। पूर्वमन्त्री खाँणले आफू निर्दोष रहेको दाबी गरिरहेका छन्।

रायमाझी बल्ल पक्राउ परेका छन्। यो प्रकरणमा नाम मुछिएकाहरू विरुद्ध प्रहरीले धमाधम पक्राउ पुर्जी पनि जारी गराएको छ। काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबिच नक्कली भुटानी शरणार्थी प्रकरणमा हस्तक्षेप नगर्ने सहमति गरे लगत्तै प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल बनेको छ।

तीन दलको बैठकमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भुटानी शरणार्थी प्रकरणबारे जिज्ञासा राखेको सुनाएका छन्। तीन दलका नेता एक ठाउँमा बस्नु नौलो नभए पनि भुटानी शरणार्थी प्रकरणबारे छलफल गर्न बसे भन्ने चर्चा खास के हो भनेर प्रश्न गरेको नेम्वाङले बताए।

जवाफमा नेताहरूले यी सबै विषयहरू संविधान कानुन अनुसार निष्कर्षमा पुग्नुपर्ने बताएको नेम्वाङको भनाई थियो। ‘संविधान कानुन बमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना छ। संविधान कानुन अनुसार निष्कर्षमा पुर्‍याउने कुरामा हाम्रो सहयोग रहन्छ,’नेम्वाङले शीर्ष नेताहरूको भनाई उद्धृत गर्दै भने,‘यो बाहेक अन्य कुराहरू छैनन्। यति कुरा भन्दिए हुन्छ।’

नेम्वाङले यी सबै विषय भने उल्लेख गरेनन्। कुन शीर्ष नेताले जवाफ दिएका हुन खुलाएनन्। नेपाली नागरिक पचास लाख तिरेर भुटानी शरणार्थी बन्न बाध्य हुनु पर्ने परिस्थिति यिनै तीन दल काँग्रेस, एमाले र माओवादीले सिर्जना गरेका हुन्।

तीन दलकै नेताहरू नेपाली नागरिक बेच्ने काममा संलग्न भएको आरोप लागिरहेको छ। काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा बोलेका छैनन्।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ४ गतेको बैठकमा नक्कली भुटानी बनेर अमेरिका पुगेका नेपालीको नाम सार्वजनिक गर्ने पार्टी केन्द्रीय कमिटी बैठकमा जानकारी गराइसकेका छन्।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य नै नक्कली भुटानी बनेर बेलायत पुगेको सामाजिक सञ्जालमा ट्रोल बनेको छ। नक्कली भुटानी बन्न पाँच लाखदेखि पचास लाख रुपैयाँसम्म बुझाएको पीडितले उजुरी दिएका छन्।

नक्कली भुटानी बनेर तेस्रो देश पुर्नवास भइसकेकाहरूको विवरण सङ्कलनको काम भुटानी राजबन्दी रिहाइ अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले गरिरहेका छन्।

नेपालबाट भुटानी बनेर जाने र अमेरिका पुगेपछि डिभी परेर आएको बताउने गरेकाहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको संयोजक कार्कीले जानकारी दिएका छन्।

नेपालको शरणार्थी शिविर खाली गराउने बहानामा नेपालीलाई नक्कली भुटानी बनाएर रकम असुल्ने गिरोहमा सरकारका मन्त्री र सचिव नै संलग्न हुनु विडम्बना नै हो। देशमा सुशासन कायम गर्ने सबै दलले घोषणा पत्र सार्वजनिक गरेका छन्।

तर, तीनै दलका नेता राज्यविरुद्धको अपराधमा संलग्न भएका छन्। पूर्वप्रधानमन्त्रीका घरपरिवारदेखि आफन्तसम्मको नाम मुछिएपछि तारनतार बैठक बसिरहेको छ। छलफल गरिरहेका छन्।

टेकनाथ रिजाल छक्क

तीन दशकदेखि नेपालको शरणमा बसिरहेका भुटानीको नाममा नेपाली नागरिक बेचबिखन गर्नेहरूको हाइलेवल कनेक्सन देखेर भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल छक्क परेका छन्।

केशव दुलाल र सानु भण्डारीले शिविरमा रहेका तेस्रो देश पुर्नवास हुन नचाहने भुटानीलाई नेपाल सरकारले आफ्नो देश फर्काउने भन्थे। रिजालले भन्थे, ‘तिमीहरूले भनेर हुन्छ र, नेपाल सरकारले भुटान सरकारसँग वार्ता गरेर पो हामीलाई फर्काउन सक्छ।’

उनीहरूले रिजाललाई आफूहरूको हाइलेवल कनेक्सन रहेको सुनाउँथे। रिजालले पत्याएनन्। दुलाल र भण्डारीले नक्कली भुटानीको समेत नाम राखेको फाइल लगेर हस्ताक्षर गर्न रिजाललाई आग्रह गरे। रिजालले मानेनन्। उनले शिविरमा रहेका भुटानी शरणार्थीको बिचल्ली बनाउने काममा आफू लाग्दिन भने।

भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि तीन दशकदेखि निरन्तर आवाज उठाउँदै आएका रिजाल त्यति बेला छक्क परे जतिबेला आफूले अभिभावक ठानेका नेता नै संलग्न भएको पाए। पक्राउ परेको गिरोहले रिजालको समेत नाम लिएपछि उनी जिल्ला प्रशासन कार्यालय झापा हुँदै गृह मन्त्रालयसम्म पुगेको स्रोतले बताएको छ।

उनले आफूले थाहा पाएको सूचना नेपाल सरकारलाई दिएका छन्। सरकारले पनि रिजाललाई पक्राउ परेकाहरूले आवेगमा नाम लिएको देखिएको बताएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर आफूसँग भएको सूचना जानकारी दिएको स्रोतले बताएको छ।

रिजालले भेटको कुरा त गरेनन् तर चिन्ता भने व्यक्त गरे। नेपालले भुटानसँग वार्ता गरेर ससम्मान फर्काउने वातावरण मिलाइदेला भन्ने आशालाई नेपालका राज नेताले धोका दिएको रिजाललाई लागेको छ।

‘भुटानभित्र बसेका नागरिकको हक अधिकारका लागि नयाँ वातावरण बनाइदेला, भुटानका जेलका मान्छे पनि छुट्लान् भन्ने आशा लिएर नेपालका राज नेताहरूसँग काम गरिरहेको थिए,’रिजालले पहिचानसँग भने, ‘तर अहिले भुटानसँग वार्ता गरेर यो पार लगाउँछौ भनेर ठोकुवा गर्ने प्रधानमन्त्री, गृहमन्त्री र गृह सचिवदेखि भिन्नभिन्न तहका मान्छेले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए।’

नेपालले निसाफ नदिएको रिजालले बताए। ‘त्यस्ता अधमरो भएका शरणार्थीको नाममा नेपाली नागरिकलाई भुटानी बनाएर बाहिर पठाउने दुर्गन्ध अहिले संसारमा छरियो, यो विषयले भुटानी शरणार्थीको भुटानभित्र फर्कने हक अधिकार एकदमै अप्ठ्यारो मोडमा पुर्‍याइदिएको हुँदा अहिले हो कि भोलि हो मुटु नै फुटेर मर्छु जस्तो भइदिन्छ,’रिजालले पहिचानसँग भने,‘नेपाली साथीहरूको यो जुन चरित्र देखे, मैले सहन सकिन, म कल्पना पनि गर्न सक्दिन यस्तो लेबलको मान्छेहरूले यति घिनलाग्दो तरिकाले पैसा उठाएर खाएका होलान्, मलाई बेचेका होलान्।’


सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading