नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

पूर्वगृहमन्त्री खाँणसँगको बयान जारी, आइतबार म्याद थप हुने

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा ‘हाइलेवल कनेक्सन’ देखिएको छ।

दुई पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, उपप्रधानमन्त्रीदेखि बहालवाला सचिवसम्मले नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउने धन्धा गरेको देखिएको स्रोतले बताएको छ।

झापाको बेलडाँगी शिविरमा रहेका भुटानीलाई तेस्रो देश पुनर्स्थापना गर्ने नाममा नक्कली शरणार्थी बनाउने नीतिगत व्यवस्था गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीको समेत कनेक्सन देखिएको स्रोतले दाबी गरेको छ।

आरजु राणा देउवा र राधिका शाक्यको नाम शेरबहादुर र ओली समेत मुछिएकाले आएको स्रोतले बताएको छ। स्रोतका अनुसार निवासबाटै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले बयानमा पूर्वप्रधानमन्त्रीको नाम लिएका छन्। पूर्वगृहमन्त्री खाँणलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थिति गराउने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले म्याद थपका लागि पूर्वमन्त्री खाँणलाई आइतबार अदालत उपस्थित गराउने जानकारी दिए।

‘१२ जना अहिलेसम्म पक्राउ परेका छन्, अस्ति तीन दिन म्याद थप भएको हिसाबले भोलि फेरी म्याद थप गर्नुपर्ने हुन्छ,’प्रहरी प्रवक्ता कडायतले भने,‘अनुसन्धान भइरहेको छ, अरू पनि संलग्न छन्, प्रमाण जुटाउने काम भइरहेको छ।’

पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्।

पक्राउ पुर्जीबारे पार्टीका अध्यक्ष केपी ओली र प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग फोन गरेर फरार भएका रायमाझीलाई पक्रन प्रहरीले खोजी जारी राखेको जनाएको छ। रायमाझी बिरामी भएको पत्र लिएर सङ्घीय संसद् सचिवालयमा पुगेका व्यक्ति मार्फत प्रहरी रायमाझीको नजिक पुगेको स्रोतले बताएको छ।

हाइलेवल कनेक्सन पत्ता लगाएको प्रहरीले पक्रनका लागि प्रमाण जुटाइरहेको जनाएको छ। विदेशमा गलत गर्ने बहालवाला प्रधानमन्त्री, राष्ट्रपतिलाई हतकडी लगाएर जेलमा लगिन्छ।

नेपालमा बहालवाला प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुको दबाबमा रहनु परेको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीले तारनतार प्रधानमन्त्री प्रचण्डसँग भेट गरिरहेका छन्। भेटमा तीन नेता बाहेकलाई सहभागी समेत गराइँदैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन नेता मात्रै बसेर नहुने भन्दै अरू दललाई पनि सहभागी गराउन माग गरेका छन्।

लामिछानेले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अरू दललाई पनि सहभागी गराउन भने। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड भने नमुछिएको स्रोतले दाबी गरेको छ।

प्रकरणमा मुछिएका देउवा र ओलीले पटकपटक प्रचण्डलाई भेटेका छन्। तर, प्रचण्डले सरकार मात्रै नभएर संयुक्त राष्ट्र सङ्घकै दबाब रहेकाले जोगाउन सम्भावना अस्वीकार गरेका छन्।

रास्वपा सभापति लामिछानेले शनिवार भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सिटिङ प्रधानमन्त्री, राष्ट्रपतिलाई हतकडी लगाएर जेल भित्र कोच्ने देशहरूको नजिर नेपालले कपी गर्नुपर्ने बताएका छन्। ‘अब हेर्ने होइन, प्रमाण लुकाउने कोसिस होला,’उनले भने,‘एक दिन पनि खेर नफाली जो जो हुन् समाउने र अनुसन्धानको दायरमा ल्याउनुपर्छ।’

शिविर खाली गर्ने सर्त

भुटानी शरणार्थी शिविर खाली गर्ने, तेस्रो देश जान चाहनेलाई पठाउने र भुटान जानेलाई भुटानै पठाउने सर्तमा सरकारकै प्रधानमन्त्री तहसम्म संलग्न भएर नक्कली भुटानी शरणार्थी बनाउने धन्दा चलेको थियो।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा केशव दुलाल र सानु भण्डारीले नेपाली नागरिक भुटानी बनाएर बेच्ने योजना बनाएको देखिएको स्रोतले बताएको छ। तेस्रो देश पुर्नवास नहुने भएपछि यो प्रकरण बाहिरिएको हो।

यो योजनाका मुख्य योजनाकारका रूपमा केशव देखिएका छन्। गृहमन्त्री बालकृष्ण खाँणले भुटानी शरणार्थी नेताको हस्ताक्षर गर्न केशव दुलाललाई खटाएका खुलेको स्रोतले बताएको छ।

‘शरणार्थी नेताले हस्ताक्षर नगरे के हुन्छ? खोइ म आफैँ गरिदिन्छु भनेका रहेछन्, बालकृष्ण खाँणको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ भुटानी नेताले नमाने पनि पक्राउ परेका पूर्वगृहमन्त्री खाँण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले फाइल सदर गरेपछि नक्कली शरणार्थी बनाउने धन्दा बाहिर आएको हो।’

सक्कली भुटानी शिविरमै रहने तर नक्कली पठाउने काममा झगडा परेपछि विवाद संयुक्त राष्ट्र सङ्घमा पुगेको हो। नेपाल सरकारबाटै नक्कली बनाउने काम भएको पुष्टि भएपछि राष्ट्र सङ्घको दबाबमा गिरोह पक्राउ परेको हो।

अन्तर्राष्ट्रिय दबाबमै भए पनि राज्यविरुद्धको अपराधमा संलग्न पूर्वप्रधानमन्त्रीदेखि पूर्व गृहमन्त्रीसम्मको नाम मुछिएर पक्राउ पर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई स्याबास भनेका छन्।

एक महिना गृह मन्त्रालयको कमान्ड सम्हाल्दा नक्कली भुटानी शरणार्थी प्रकरणको भेउ नै पाउन नसकेका लामिछानेले नांगीसकेपछि छेक्ने कुरा नभएको भन्दै खुट्टा नकमाउन सरकारलाई भनेका छन्।

बाबुरामलाई छानबिन गर्न पाउने आस

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिवेला काम विहीन देखिएका छन्। सरकारले उनलाई कुनै जिम्मेवारी दिएको छैन। भरखरै चुनाव सकिएकाले पार्टीका काम पनि ओइलाएका छन्। भट्टराई नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचार छानबिन गर्न सरकारले समिति बनाए नेतृत्व पाउँछु भन्ने आसमा बसेका छन्।

उनले यही आशयको अभिव्यक्ति समेत दिँदै आएका छन्। आफूसँग भ्रष्टाचारको प्रमाण रहेको भन्दै छानबिन समिति बनाए सबै प्रमाण त्यसैमार्फत सार्वजनिक गर्ने भट्टराईले बताउने गरेका छन्। उनले गठबन्धन जोगाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न अप्ठेरो पर्ने पनि देखेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धन जोगाउनका लागि प्रधानमन्त्रीले दरोसँग कारबाही चाल्न नसक्ने बताए। ‘त्यसैले आशङ्का त छ,’उनले भने,‘आशा गरौँ, हिजो त्यत्रो आन्दोलन गरेर आएका साथीहरू हुनुहुन्छ,उहाँहरूले खुट्टा कमाउनु हुन्न, दरोसँग टेक्नुहुन्छ।’

भ्रष्टाचारविरुद्धको नागरिक समाजको प्रदर्शनमा पुगेका भट्टराईविरुद्ध नै नारा लागेको छ। पचास लाख तिरेर भुटानी बन्न बाध्य पार्ने बाबुराम र हिसिला यमी भएको भन्दै जनता जाग्नु पर्ने आवाज उठेको हो।

‘आज पचास लाख तिरेर भुटानी शरणार्थी बनेर जानु पर्ने बाध्यकारी परिस्थिति सिर्जना गर्नेहरू बाबुराम भट्टराई, हिसिला यमीहरु हुन्,’भ्रष्टाचारविरुद्धको प्रदर्शन सहभागीले भने,‘यिनीहरूको विरुद्ध जनता जाग्न जरुरी छ।’

नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध शनिवार देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। पूर्वगृहमन्त्री खाँणको निर्वाचन क्षेत्र रुपन्देहीको तिलोत्तमा, सिन्धुलीको सिन्धुलीमाढीलगायतका स्थानमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र तिनका संरक्षकहरुविरुद्ध प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागी चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले खुट्टा नकमाउन प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन्।

देउवा र ओलीको दबाबमा प्रधानमन्त्रीले खुट्टा कमाए प्रचण्डकै खैरियत नहुने चेतावनी केसीले दिए। ‘चाहे ओलीजीको दबाब होस या देउवाजीको दबाब होस,’केसीले भने,‘दबाबमा आएर दोषी उम्कने काम भए प्रचण्डजीको खैरियत छैन,जनताले हेरिरहेका छन्।’

सम्बन्धित समाचार

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading