शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हाईप्रोफाईलका नेताहरू दलहरूको संरक्षणमा उम्कँदै गर्दा प्रहरी बिचौलियालाई मात्रै पक्राउ गर्न बाध्य भएको पाइएको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बानेश्वर क्षेत्रबाट पक्राउ परेका दुवै जना बिचौलियाका रूपमा काम गर्ने गरेको पाइएको छ।

प्रहरीमा उजुरी परेकामध्ये अहिले सम्म १० जना पक्राउ परेका छन्। १० जना अझै फरार रहेका छन्। यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका सबै जनालाई सङ्गठित अपराध अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ। अहिले यो विषय अनुसन्धानकै क्रममा रहेकाले पछि मात्रै थाहा हुने प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए।

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई तत्काल कारबाही नगर्ने भएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रहरी अनुसन्धानमा भने सघाउने निष्कर्ष निकालेको जनाएको छ। तर, हाल प्रहरीले अनुसन्धान जारी राखेको र अन्तिम निष्कर्षमा नपुगेकाले कारबाहीमा भने हतार नगर्ने पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रहरीले भने रायमाझीको घरमा छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्क विहीन भएका छन्। रायमाझी भारत भागेको आशङ्कामा सिआईबीको टोली परिचालित भएको छ। प्रहरीले उनलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरी युनिटलाई पत्राचार गरेको जनाएको छ।

प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय ६ जनाले करिब २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन्।

नयाँ लडाई सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाइँ सुरु भएको बताएका छन्। काभ्रेको महाभारत गाउँपालिकामा मङ्गलवार सडक तथा ग्रामीण विद्युतीय कार्यक्रमको शिलान्यास गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा जनयुद्धको जस्तै जनताको साथ चाहिएको बताए।

उनले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गरे। सबैको साथ र सहयोग सहितको प्रतिबद्धता पाए अबको ५ वर्षमा एउटा रेकर्ड बनाउने जिकिर प्रचण्डले गरेका छन्।

सत्तारुढ काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फायर नै खोल्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा शर्माले भ्रष्टाचारमाथि सरकार निर्मम भएर फायर खोल्नुपर्ने बताएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading