भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

काठमाडौं : राजनीतिक दलहरूका शीर्ष नेताहरू नै भ्रष्टाचारी जोगाउन लागेका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गरेका देखि अडियो काण्ड सार्वजनिक भाकासम्मलाई जोगाउन दलहरू पाखुरा सुर्किन थालेका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले घुस लिएको अडियो सार्वजनिक गर्ने अनलाइनलाई प्रेस काउन्सिल नेपालले नेपालबाट हेर्न नमिल्ने बनाइएको छ।

सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको कार्यक्रम सकेर फर्किएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका छन्।

लहरो तान्दा पहरो गर्जने भएपछि दलका शीर्ष नेताहरू नै भ्रष्टाचारी जोगाउन लागेका छन्। भ्रष्टहरूका कारण नेपाली नागरिक नक्कली भुटानी शरणार्थी बन्नु परेको विडम्बनालाई दलका नेताहरूले हल्का रूपमा लिएका छन्।

काण्डै काण्डमा परेका दलहरू भ्रष्टाचारीलाई जोगाएर सकिने बाटोमा लागेका छन्। सरकारले नक्कली शरणार्थी प्रकरणमा आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एमालेले लडाकु शिविरमा भएको भ्रष्टाचारको विषय उठाएर बिषयान्तर गर्ने प्रयास गरेको छ।

लडाकु शिविरको विषय उठेपछि सत्ताको नेतृत्व गरेको माओवादी पनि झस्किएको छ। यसले भ्रष्टाचारी पक्राउ पर्ने र देशमा सुशासन कायम हुने कुरा गफमै सीमित हुने देखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिरहनु परेको छ। दुई पटक प्रचण्डसँग भेटेर आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा चासो राखेका ओलीले सोमबार भ्रष्टाचारको छानबिन गर्न छाडेर प्रचण्ड हिरोईजमको व्यापारमा लागेको आरोप लगाएका छन्।

राष्ट्रिय युवा सङ्घको बैठकमा ओलीले भ्रष्टाचारीलाई कारबाही गर्ने नाममा व्यापार नगर्न र स्टण्ड नदेखाउन प्रचण्डलाई चेतावनी नै दिए। आफ्ना नेताहरूको समेत नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमाले नेताहरूमा छटपटी सुरु भएको छ।

तर अध्यक्ष ओलीले भने कसैको पनि ढाकछोप नगर्ने र कुनै पनि दोषीलाई एमालेले नबचाउने बताएका छन्। एमालेका विरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको प्रतिवाद गर्ने ओलीले चेतावनी दिए। सञ्चारमाध्यममा विभिन्न फिल्महरू चलिरहँदा प्रचण्डको हल रित्तो भएकाले सधैँ टेलर नदेखाउन ओलीले चुनौती दिए।

भ्रष्टाचारी जोगाउन ठुला दलका नेताहरू एक अर्का विरुद्ध पोलापोलमा उत्रिएपछि नक्कली भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का बढेको छ।

प्रतिनिधिसभाको बैठकमा सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्त्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे ध्यानाकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न खबरदारी गरेका छन्। उनले यो भ्रष्टाचार काण्डलाई सिङ्गो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए।

लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दलहरूले दोषीलाई जोगाउने काम गर्न लागेको आशङ्का समेत गरे।

अमरेशको चर्तिकला

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले चर्तिकला देखाएका छन्। बैठकमा आकस्मिक समय माग गरेका सांसद सिंह सभामुखले समय नदिएको भन्दै संसद्मै अर्धनग्न बने। सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गन्जी खोलेर विरोध जनाए।

प्रतिनिधिसभाको नियमावलीमा सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ।

सांसद सिंहले भने भ्रष्टाचारको विषयमा बोल्न नदिएकोले विरोध जनाउनु यस बाहेकको विकल्प नरहेको भन्दै आफ्नो हर्कतको बचाउ गरेका छन्। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद सिंहले विदेशमा जस्तै संसदीय विरोधको प्रक्रिया अपनाएको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading