नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

काठमाडौं : सङ्घीय संसद्को बजेट अधिवेशन सुरु भएको छ। बजेट अधिवेशनको पहिलो बैठकमा सांसदहरूबिच भ्रष्टाचारीलाई कारबाही गर्न एक-अर्काविरुद्ध पोलापोल भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका व्यक्ति फरार भएपछि सत्तारुढ सांसदहरूले उपस्थित गराउन माग गरेका छन्। प्रतिपक्षी सांसदहरूले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

नक्कली भुटानी शरणार्थी काण्डमा ठुला दलका नेताहरूको नाम मुछिएपछि संसदमा दलहरूबिच घम्साघम्सी नै परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिनका क्रममा आफूमाथि दबाब र घेराबन्दी आउन सक्ने आशय व्यक्त गर्दै जतिसुकै दबाब आए पनि भ्रष्टाचारीलाई कुनै हालतमा छुट नदिने बताएपछि एमालेले दबाब दिने व्यक्ति सार्वजनिक गर्न माग गरेको छ।

नक्कली शरणार्थी प्रकरणको फिल्म देखिने प्रधानमन्त्रीको अभिव्यक्तिले एमाले सांसद सूर्य थापाको पारो तातेको छ। उनले लडाकु शिविरमा भएको अर्बौँ रुपैयाँ भ्रष्टाचारको फिल्म हेर्ने व्यवस्था मिलाउन भनेका छन्।

एमालेले लडाकु शिविरको विषय उठाएर शरणार्थी प्रकरणलाई ओझेलमा पार्न खोजेको भन्दै सत्तारुढ माओवादीले आपत्ति जनाएको छ। माओवादीका सांसद माधव सापकोटाले एमाले भ्रष्टाचारीलाई कारबाहीका लागि इमानदार हो भने टोपबहादुर रायमाझीलाई ल्याएर बुझाउन चुनौती दिए।

संसद्मा प्रतिपक्षी एमाले र सत्ता पक्ष माओवादी सांसदको दोहोरीमा अरू दलका सांसद रमिते बनेका छन्। भुटानी शरणार्थी प्रकरणले पार्टीको साख जोगाउन मुस्किल परेको एमालेले लडाकु शिविरको मात्रै नभएर द्धन्द्धकालमा लुटिएको सम्पत्तिको विवरण पनि सार्वजनिक गर्न माग गरेको छ।

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

एमालेले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी शरणार्थी प्रकरणमा जोडिएको विषयले सरकार पूर्वाग्रही बनेको आशङ्का समेत गरेको छ। सांसद महेश बर्तौलाले सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने गरी पूर्वाग्रही रूपमा सरकार अगाडी बढेको आशङ्का व्यक्त गरे।

एमालेसँगको गठबन्धन भत्काएर सत्तारुढ बनेको काँग्रेसले भ्रष्टाचारी जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीसँग म्याउँ म्याउँ गर्न पुग्नु भएको आरोप लगाएको छ।

अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि दुई पटक प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेका छन्। काँग्रेस सांसद रामहरि खतिवडाले टोप बहादुर लुकाउनेलाई के कारबाही हुन्छ भन्दै सभामुख समक्ष प्रश्न गरे।

गणतन्त्रमा राजनीतिक दलका नेताहरूले नेपाली नागरिकलाई शरणार्थी बन्न बाध्य पारेको घटना राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि मसला बनेको छ। शरणार्थी बन्नेहरूलाई कारबाही गर्नुपर्ने ठुला दलका नेताहरूको मागले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई आक्रोशित बनाएको छ। उनले नक्कली शरणार्थी बन्न बाध्य पार्ने नेताहरूलाई कारबाही गर्नुपर्ने माग गरे।

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

राष्ट्रिय सभाको बैठकमा पनि भुटानी शरणार्थीको विषयले प्रवेश पाएको छ। प्रतिनिधिसभामा सत्तापक्ष प्रतिपक्षतिर खनिएपछि राष्ट्रिय सभामा प्रतिपक्षी एमालेले काँग्रेसका नेता जोगाउने खेल भएको आशङ्का गरेको छ।

काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र खाँणकी पत्नी मञ्जु, सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी नहुनुको कारण एमालेले मागेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै एमाले सांसद देवेन्द्र दाहालले आरजु राणा देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसक्नुको कारण माग गरेका छन्।

शरणार्थी प्रकरणमा रकम उठाएको अडियो सार्वजनिक भएपछि आरजु र मञ्जुको नीद हराम भएको छ। संसदमा प्रश्न उठेपछि आरजुले महिला भएकै कारण आरोप लगाएको तर्क प्रस्तुत गरेकी छन्। राणाले आफूलाई जबरजस्ती तान्न खोजिएको तर आफूले नबिराएकाले नडराउने जिकिर गरिन।

आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको भन्दै उनले सार्वजनिक गर्न माग गरिन। अघिल्लो सरकारका प्रधानमन्त्री देउवा भने आफ्नो र मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक नगरी बाहिरिएका थिए।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब त अति भएको प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमा महामन्त्री थापाले लेखेका छन्,‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो।’

७ दिन थुनामा राख्न माग

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको ठगी प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो।

पक्राउ पुर्जी जारी भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज फरार छन्।

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading