नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ पर्न थालेसँगै राजनीतिक दलका नेताहरूको दौडधुप चलिरहेको छ।

एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, पार्टीका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी मुछिएपछि अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर ध्यानाकर्षण गराएका छन्।

पहिलो भेटपछि निर्दोष फसाउन खोजे नसहने चेतावनी दिएका ओली शनिवारको भेटपछि भने खुलेनन्। ओलीले रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताए।

‘मेरो सम्पर्कमा छैनन्,’ओलीले भने,‘तपाइहरूले खोज्नुहोस् न।’ कहिले सम्पर्कमा आउनु हुन्छ भन्ने प्रश्नमा ओलीले भने,‘तपाइहरूले सोध्नुहोस् न, अपराधी बचाउन लागेको आरोप हल्ला मात्रै हो।’

नेपाल र भुटान शरणार्थी मुद्दामा १५ पटक वार्तामा बसे पनि शरणार्थी समस्या समाधानको विकल्पको रूपमा सन् २००७ मा तेस्रो देश पुनर्वासका ढोका खुलेको थियो।

अमेरिका लगायत ८ पश्चिमी देशमा १ लाख १३ हजार भुटानी शरणार्थी पुनर्वास भएका छन्। पुनर्वास भएका मध्ये ९६ हजार अमेरिका र बाँकी बेलायत, क्यानडा नर्वे, डेनमार्क, अस्ट्रेलिया, न्यूजिल्याण्ड र नेदरल्याण्ड पुगेका छन्।

तेस्रो देश पुर्नवास नभएका भुटानी शरणार्थी शिविरमा बसिरहेका छन्। बाँकी भुटानीलाई तेस्रो देश पुर्नवास गराउने नाममा नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहमा उच्च राजनीतिक नेतृत्वको संलग्नता रहेको आरोप लागेको छ। एमाले सचिव रायमाझी पक्राउ पुर्जी जारी भएदेखि सम्पर्क विहीन छन्।

पार्टीका उपाध्यक्ष र सचिव समेतको नाम मुछिएपछि अध्यक्ष ओलीको सिंहदरबार दौडधुप बाक्लिएको छ। तर, एमाले अध्यक्ष ओलीले आफूसँगको भेटमा आफ्ना नेता जोगाउन नभनेको प्रधानमन्त्री प्रचण्डले बताए।

भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले ओलीले बिहीबार र शनिवारको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको स्वीकार गरे। तर, आफ्नो नेता जोगाउन नभनेको प्रचण्डले सुनाए। ‘अस्ति पनि उहाँ (ओली) को कन्सर्न थियो यही विषयमा, आज पनि यो विषयमा कन्सर्न राख्नु भयो,’प्रचण्डले भने,‘बचाइदेउ भन्न सक्ने त कुरा भएन।’

पछिल्लो समय शरणार्थी प्रकरणमा ठुला दलका नेताहरूको नाम मुछिएपछि राजनीतिक क्षेत्र तरङ्गित बनेको छ। ओलीसँगको भेटपछि नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा पुगेर प्रधानमन्त्री प्रचण्डले भ्रष्टलाई पक्राउ गर्न लाग्दा आफूमाथि ठुला घेराबन्दी समेत हुनसक्ने बताए। उनले जस्तोसुकै चुनौती आए पनि भ्रष्टाचारीको फाइल खोलेरै छाड्ने प्रतिबद्धता जनाए।

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भने वक्तव्य निकालेर आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै आएका समाचारले अन्योल सिर्जना गरेको बताएका छन्।

खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार प्रकाशित नगर्न पनि भनेका छन्। तर, नक्कली शरणार्थी प्रकरणबारे भने उनले विज्ञप्तिमा स्पष्ट उल्लेख गरेका छैनन्। पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले खाँणको समेत नाम लिएको भनेर समाचार सार्वजनिक भएको छ। खाँणले आफू गृहमन्त्री हुँदा पाण्डेलाई गृह सचिवमा भित्र्याएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी सहितका भ्रष्टाचारीहरूलाई कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भेला भएर युवाहरूले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न सरकारलाई खबरदारी गर्दै दबाब दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ।

पक्राउ पुर्जी जारी गरिएका एमाले सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित अन्य चार जना फरार छन्। उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रदर्शनकारीहरूले सचेत गराएका छन्।

सक्कलीले भने सरकारको राम्रो काम

सक्कली भुटानी शरणार्थीहरूले आफूहरूको नाममा नक्कली बनाउने गिरोह पक्राउ गर्ने सरकारको काम राम्रो भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ अपराधीलाई कारबाही गर्न खुट्टा कमाउनु हुन्न भन्ने आशा पनि व्यक्त गरेका छन्।

उनीहरूले सन् १९९१ देखिकै पुरानो फाइल खोलेर कारबाही गर्न नेपाल सरकारसँग माग पनि गरेका छन्। नेपालबाट नक्कली भुटानी बनेर अमेरिका पुगेकाहरूले डिभी परेर आएको बताउने गरेको सक्कली शरणार्थीहरूले बताए।

उनीहरूले अमेरिका पुगे पछि शरणार्थी नभएको बताउने गरेका छन्। पुरानो फाइल खोले त्यस्ता व्यक्तिहरूको पहिचान गर्न सरकारलाई सहज हुने भुटानी राजबन्दी रिहाइ अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले बताए।

नेपाल सरकारका शाखा अधिकृत समेत भुटानी शरणार्थीको नाममा युरोप पुगेर बसेको आफूले देखेको कार्कीले बताए। ‘युरोपका देशमा नेपाल सरकारका शाखा अधिकृत भुटानी शरणार्थीको रूपमा आएका छन्,’उनले भने,‘सुरुमै घुस लिनेहरूको विरोध गर्दा हामी शरणार्थीको कुरा कसैले सुनेन।’

उनले घुस लिने काममा गृह मन्त्रालयका टाइपिस्टहरु सेटिङमा संलग्न हुने गरेको बताए। ट्राभल डकुमेन्ट लिनका लागि जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्म घुस बुझाउनु परेको कार्कीले सुनाए।

उनले वर्तमान सरकारले गिरोह पक्राउ गर्ने आँट गरेकोमा तेस्रो देश पुर्नवास भएका शरणार्थीहरूले स्याबासी दिएको बताए। ‘गृह मन्त्रालयका टाइपिष्टहरुले त घरमै भेटघाटको समय मिलाएर आउँथे सेटिङ गर्नका लागि,’कार्कीले पहिचानसँग भने,‘यति पैसा दिनु भयो भने भोलि परराष्ट्र मन्त्रालयलाई सिफारिस गर्न सकिन्छ, दलाली गर्न कोही घरमै आउँथे।’ उनले त्यस्ता मान्छेलाई समातेदेखि राम्रो हुने बताए।

शरणार्थी समस्या सुरु भएको सन् १९९१ देखिको फाइल खोलिनुपर्ने माग कार्कीले गरे। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चस्तरका नेताहरूको संलग्नता रहेको उनले बताए। ‘धेरै अगाडि देखिको फाइल खोल्छौ भन्ने रवि लामिछानेको कुरा सुनिन्छ, त्यो फाइल भुटानी शरणार्थीको काण्डमा खोल्नु भयो भने सुरु देखिको धेरै मानिसको फाइल खोलिन सकिन्छ,’उनले भने,‘धेरै मान्छे पर्न सक्छन्।’

उनले नेपालको मा रहेका भुटानीको नाम दर्ता गर्ने काममा पनि लाग्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन्।

तेस्रो देश पुर्नवास नभएका शरणार्थीलाई नेपाल सरकारले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको सहभागीमा परिचय पत्र दिनु पर्ने माग पनि गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading