नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइप्रोफाइल पक्राउ परेका छन्। केही हाइप्रोफाइलविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएको छ।

गम्भीर फौजदारी कसुरको आरोप लागेका आफ्नो पार्टीका सांसद तथा पदाधिकारीलाई जोगाउन पार्टी अध्यक्षले नै दौडधुप गर्नु परेको छ। आफ्नै देश फर्कन नेपाल सरकारसँग गुहार मागेका भुटानी शरणार्थीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा तेस्रो देश पुर्नवास गराइएको थियो।

तेस्रो देश पुर्नवास हुन बाँकी शरणार्थीका नाममा नेपाली नागरिकसँग मोटो रकम असुलेर अमेरिका पठाउने गिरोहमा टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली शक्ति केन्द्र धाएका छन्।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण नै गराएको जानकारी दिए। उनले पक्राउ पुर्जीबारे रायमाझीले प्रहरी महानिरीक्षकसँग कुरा गरेको आफूलाई जानकारी दिएको बताए।

‘आइजिपीले कुरा के हो स्पष्ट पार्दिनुपर्छ भन्या छ, त्यस्तो होइन म काठमाडौं आउँदै छु भन्या छ,’ओलीले प्रधानमन्त्रीलाई भेटेपछि पत्रकारसँग भने,‘अहिले समात्यो भन्या पनि सुन्छु, फरार भन्या पनि सुन्छु, के हो थाहा छैन, मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ।’

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको आरोपमा पक्राउ परेका एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पक्राउ पुर्जी जारी गरिएका एमाले नेता एवं सांसद रायमाझीबारे भने प्रहरीले केही बताएको छैन। रायमाझीले पनि मोबाइल फोन स्विच अफ गरेका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जनाएको छ।

अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरूले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। अझै पनि १०/११ जना पक्राउ पर्ने अनुसन्धानका क्रममा देखिएको रिजालले बताए।

‘अहिलेसम्मको अनुसन्धानमा १०६ जना ठगिएको उजुरी आएको छ, आठ जना पक्राउ परेका छन्,’उनले भने,‘यो अनुसन्धान गर्दै छौ, अझै पनि १०/११ जना आउन सक्ने अवस्था देखिन्छ,अन्य हामी अनुसन्धान गर्दै छौ।’

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाल सचिव पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई पक्राउ परेको भोलिपल्ट बुधवार प्रहरी परिसरमा आत्मसमर्पण गरेका छन्। सरकारले सचिव पाण्डेलाई जगेडामा राख्ने निर्णय गरिसकेको छ।

लहरो तान्दा पहरो गर्जिए झैँ भटाभट हाइप्रोफाइल पक्राउ पर्न थालेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन पुगेका हुन्। प्रचण्डसँग सिंहदरबारमा भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ओलीले निर्दोष फसाउन खोजे नसहने चेतावनी नै दिएका छन्।

‘यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौ,अध्ययन गरेपछि यसको निष्कर्षका साथ भन्छौ,’ओलीले भने,‘निर्दोष पर्नु हुँदैन, दोषी उम्कनु हुँदैन, दोषी उम्काउने हाम्रो प्रयास हुँदैन, निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौ।’

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

पूर्वमन्त्रीदेखि कर्मचारीतहसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्न थालेपछि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु पर्ने बताएका छन्। थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणलाई गहिरो गरेर अनुसन्धान गर्नुपर्ने बताए।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका छन्।

‘यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन्,’उनले लेखेका छन्,‘संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन।’

नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन्। थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने बताए।

सामाजिक सञ्जालमा उनले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने लेखेका छन्।

थापाले नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम सङ्कलन गर्ने र बुझाउनेहरू पीडित कदापि नभएको जिकिर गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading