भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका भिआइपी पक्राउ पर्न सुरु भएको छ। बुधवार निवासबाटै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण टेकुको हिरासत कक्षमा पुगेका छन्। प्रहरीको हिरासत कक्षमा भिआइपीको प्रवेश भएको छ।

खाँणसँगै अरू भिआइपी पनि पक्राउ पर्ने प्रहरीको लिस्टमा छन्। उपराष्ट्रपतिको कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे सिंहदरबार प्रहरी हिरासतमा छन्। पाण्डेको बयानका आधारमा पूर्वमन्त्री खाँण प्रहरीको हिरासत कक्षमा पुगेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका आरजु राणा देउवा, मञ्जु खाँणलाई पक्राउ गर्न प्रहरीले प्रमाण जुटाइरहेको जनाएको छ। सार्वजनिक भएको अडियो मात्रै प्रमाण नहुने भन्दै प्रहरीले थप प्रमाणहरू जुटाइरहेको जनाएको छ।

पक्राउ पर्ने डरले आरजु राणाले रोइकराई सुरु गर्दै साइबर ब्युरोमा निवेदन दिएकी छन्। काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु पक्राउ पर्ने डरमा छन्। उनले तारनतार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन्। बिहीबार पनि देउवाले प्रचण्डसँग छलफल गरेका छन्।

पत्नी आरजुसमेत यो प्रकरणमा मुछिएपछि देउवा दबाबमा परेका छन्। विश्वास पात्र बालकृष्ण खाँण पक्राउ परेपछि देउवामाथि थप दबाब परेको छ।

अनुसन्धानमा सघाउने बताएको काँग्रेसले पक्राउ परेका खाँणलाई पार्टीबाट निष्कासन गर्ने नगर्ने निर्णय गर्न भने सकेको छैन।

तत्काल पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने काँग्रेसले बताएको छ। देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए।

‘कुनै पनि मुद्दामा कुनै पनि अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न मिल्दैन, कुनै व्यक्ति अभियुक्त हुन्छ, अदालतबाट निर्णय आइसकेपछि दोषी ठहरिन्छ,’उनले भने,‘हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च भएको छ, यसमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषी छोड्नु हुँदैन, निर्दोष पर्नु हुँदैन।’ खाँणलाई निलम्बन गर्ने या नगर्ने भन्नेमा काँग्रेस पदाधिकारीहरू नै विभाजित बनेका छन्।

माओवादीसँग बदला लिने एमाले नीति

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा पार्टीका नेताहरू मुछिएपछि काँग्रेस र एमाले आफ्ना कुन नेता कुन बेला पक्राउ पर्ने हुन भन्ने त्रासमा रहेका छन्। काँग्रेस सभापति देउवाले भेटे लगत्तै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि बिहीबार नै प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएदेखि नै फरार छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको नक्कली शरणार्थी बनाउने प्रकरणलाई एमालेले बिषयान्तर गर्ने प्रयास जारी राखेको छ।

ओलीको किचन क्याबिनेटकै व्यक्ति संलग्न भएर नक्कली शरणार्थी बनाउने काम भएको आरोप लागेपछि एमालेले माओवादीसँग बदला लिन लडाकु शिविरमा भएको भ्रष्टाचारको विषय उचालेको छ। आफ्नै नजिकका व्यक्तिहरू पनि पक्राउ पर्ने सङ्केत पाएका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग बदला लिने चेतावनी नै दिएका छन्।

बिहीबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी सचिव रायमाझीतर्फ लक्षित गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन अहिलेको राज्यसत्ता नै परिचालित भएको आरोप लगाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लगातार भेटेर दबाब दिँदासमेत सरकार टसमस नभए पछि ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियारलाई गुहारेका छन्।

आफू दुई/दुई पटक प्रधानमन्त्री हुँदा चुप लागेर बसेका ओलीले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै वरिपरिका मानिसहरू पनि पक्राउ पर्ने सङ्केत पाएपछि क्यान्टनमेण्ट काण्डबारे कुरा उठाउन थालेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका काण्ड एक पछि अर्को गरी खोल्ने चेतावनी दिँदै नक्कली भुटानी शरणार्थी प्रकरण टेलर मात्रै भएको बताए पछि ओलीले पूरा फिल्म देख्न नपाइएको भन्दै व्यङ्ग्यसमेत गरेका छन्।

केन्द्रीय कमिटी बैठकमा ओलीले पूर्वगृहमन्त्रीसमेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणप्रति लक्षित गर्दै अहिले सरकारसमेत भ्रष्टाचारको छानबिन गर्न छोडेर कसैको तेजोबोधमा केन्द्रित भएको आरोप लगाए।

राज्य विरुद्ध कै अपराध : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

नेकपा एकीकृत समाजवादीका तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए।

‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्,’उनले भने,‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो, यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्य विरुद्ध कै अपराध हो।’

उनले यो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको बताए। दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उनले बताए। शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आड भरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

सिङ्गो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेकाले त्यसबाट मुक्त गराउन प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उनले बताए।

पक्राउको समर्थनमा प्रदर्शन

सत्तारुढ गठबन्धनमा आबद्ध तीन विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।

भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाली काँग्रेसनिकट नेविसङ्घ, माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले काठमाडौँको भृकुटीमण्डप परिसरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको बताए।

फरार रहेका नेकपा एमालेका टोपबहादुर रायमाझीलाई पक्राउ गर्न र यो प्रकरणमा जोडिएका व्यक्तिहरूमाथि छानबिन गर्न उनले माग गरे।

सम्बन्धित समाचार

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading