नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित १२ जनालाई थप ४ दिन प्रहरी हिरासतमा राखिने भएको छ।

यसअघि खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौँले आज दोस्रो पटक म्याद थप गर्दै ४ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको हो।

उनीसहित पक्राउ परेका अन्य ११ जनालाई थप चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले बताए।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँ बढी ठगी गरेको प्रकरणमा नेपाली काँग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री खाँण, उनका सहयोगी नरेन्द्र केसी, काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका छन्।

एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप, सचिव टेक नारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशव प्रसाद दुलाल, पाँचथर फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टङ्ककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना अहिले हिरासतमा छन्।

सरकारी वकिलको कार्यालयले पक्राउ परेका गिरोह सम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएको छ। अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरू विरुद्ध अन्तिम पटक शनिवारदेखि चार दिनको म्याद थप गरिएको सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता अच्युतमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार सङ्गठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पुर्‍याइसक्नुपर्छ। त्यहीअनुसार सरकारी वकिलको कार्यालयलाई पनि अध्ययनको लागि समय चाहिने भएकाले अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन भनेको पोखरेलले बताए।

म्याद थप गर्न आइतबार अदालत पुर्‍याइएका पूर्वगृहमन्त्री खाँणले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। अदालत परिसरबाट निस्कने क्रममा चौतर्फी प्रहरीको घेरामा रहेका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफू संलग्न नरहेको दाबी गरेका हुन्।

पक्राउ परेका खाँणको हातमा प्रहरीले हतकडी भने लगाएको छैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि खाँण गत बुधवार काठमाडौँको मैजुबहालबाट पक्राउ परेका थिए। पक्राउ परेका खाँणलाई पदमुक्त गर्न माग गर्दै काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ आइतबार सडकमै उत्रिएको छ। आफ्ना नेता खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघका विद्यार्थीहरू कैदीकै भेषमा सडकमा उत्रिएका हुन्।

प्रहरीले कहिदिनअघि सञ्चारमाध्यममा प्रकाशित बालकृष्ण खाँणले कागज चपाएर निलेको कथाको के हो वास्तविकता शीर्षकमा आएको समाचारमा सत्यता नभएको दाबी गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार विज्ञप्ति निकालेर मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी आधारहीन सूचना सम्प्रेषण नगर्न भनेको छ। यही प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले अझै फेला पार्न सकेको छैन।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा नाम आएपछि पक्राउ पुर्जी जारी भए लगत्तै उनी फरार छन्। नेपाल प्रहरीले उनी भारतमा लुकेको हुनसक्ने आशङ्कामा भारतमा समेत खोजी तीव्र पारेको छ। भारतीय प्रहरीको सहयोगमा उनको खोजी भारतसहित नेपालमै पनि तीव्र बनाएको प्रहरी स्रोतले बताएको छ। यद्यपि, रायमाझीलाई फेला पार्न भने सकेको छैन।

प्रहरीले खोजी गरिरहेकै बेला उनी बिरामी भएको पत्र संसद् सचिवालयमा आएपछि प्रहरीले उनको पत्र बोक्ने व्यक्तिको खोजी गरेको छ। त्यसको लागि संसद् सचिवालयको सिसीटिभीफुटेज लिएको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानकै क्रममा रहेको जनाएको छ। पत्र संसद्सम्म पुर्‍याउने व्यक्ति पक्राउ परे नपरेको बारे प्रहरी मौन छ।

सम्बन्धित समाचार

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading