रविलाई रोष्ट्रम पुर्‍याउने कार्यसूची, काँग्रेस सडकमा

रविलाई रोष्ट्रम पुर्‍याउने कार्यसूची, काँग्रेस सडकमा

काठमाडौं : सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने अड्डी कसेका छन्।

बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक बोल्न पाउनु पर्ने भन्दै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुहार मागेका छन्।

सभामुख देवराज घिमिरेलाई बोल्नु पाउनु पर्ने पत्र नै बुझाएका लामिछानेले बुधवार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका छन्। लामिछानेलाई संसद्मा अवरोध गरे काँग्रेसलाई नै बोल्न नदिने चेतावनी एमाले अध्यक्ष ओलीले दिएका छन्।

संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक भए पनि एमाले अध्यक्ष ओली विपक्षमा छन्। बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा लामिछानेले रोष्ट्रममा पुगेर ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने राखिएको छ।

लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राखेर काँग्रेसले संसद् अवरोध जारी राखेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नरोकेको काँग्रेसले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल हुनै दिएन।

सरकारको ‘धन्यवाद प्रस्ताव’लाई कार्यसूचीको पाँचौँ नम्बरमा राखे पछि काँग्रेसले नाराबाजी गरेको थियो। बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा पनि धन्यवाद प्रस्तावलाई पाँचौँ नम्बरमै राखिएको छ।

तर, काँग्रेसले समिति नबनेसम्म सदन चल्न नदिने बताउँदै आएको छ। काँग्रेस आफ्नो मागमा यथावत् रहेको संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिइन।

यसअघि चैत २ र २७ गते काँग्रेसले राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गर्न रोकेको थियो। काँग्रेसको अवरोध हटाउने प्रयास जारी रहेका बेला संसद् सचिवालयले भने जेठ १५ गतेसम्मको कार्यसूची सार्वजनिक गरेको छ।

सङ्घीय संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जेठ ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रमका दफामाथि छलफल हुने कार्यसूची रहेको छ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिइसकेपछि ९ गते निर्णयार्थ प्रस्तुत गर्ने तयारी सरकारको छ। १४ गते आर्थिक सर्वेक्षण र १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्नुहुने कार्यसूचीमा उल्लेख गरिएको छ।

संसद्को गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले पहल जारी राखेका छन्। तर, काँग्रेसले समिति गठनको मागलाई चर्काइरहेको छ। लामिछाने भने आफूमाथि लागेका आरोपको संसद्को रोष्ट्रममा उभिएर जवाफ दिनु पाउनु पर्ने रटानमा छन्।

गृहमन्त्री लामिछानेले प्रचण्ड र ओली सांसद वा मन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि काँग्रेस तयार हुनुपर्नेमा सहमत भएको बताए। आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानबिनका लागि काँग्रेसले राखेको मागको सम्मान गर्ने लामिछानेले बताए।

संसद्मा नाराबाजी गर्दै आएको काँग्रेस सडकमा उत्रिएको छ। सडकदेखि सदनसम्म सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै काँग्रेस सडक प्रदर्शनमा उत्रिएको हो। माइतीघरदेखि बानेश्वरसम्मको प्रदर्शनमा काँग्रेसको भातृ संस्था तरुण दलले जीवी राई पक्राउ गर्न माग गरेको छ।

नेपाल विद्यार्थी सङ्घले त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेर ‘रवि दाइ जीवी राई खोइ’,‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेका थिए। गोर्खा मिडियाका फरार अध्यक्ष जीवी राई खै?दुःख गरेर जम्मा गरेको पैसा झ्वाम्म पार्ने? जस्ता प्रश्न लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.