सन्दीपको मुद्दामा जिल्लाको फैसला उल्टी, निर्दोष साबितसँगै निलम्बन फुकुवा

सन्दीपको मुद्दामा जिल्लाको फैसला उल्टी, निर्दोष साबितसँगै निलम्बन फुकुवा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष साबित भएका छन्। जबरजस्ती करणीको कसुरमा दोषी ठहर गर्दै लामिछानेलाई ८ वर्ष कैद हुने काठमाडौं जिल्ला अदालतको फैसला सुनाएको थियो।

जिल्लाको फैसला उल्टाएर उच्च अदालत पाटनका न्यायधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले निर्दोष साबित गरिदिएको हो। सन्दीपलाई सफाइ दिएको अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार विमल पराजुलीले जानकारी दिए।

फैसलाअघि न्यायधीशद्वयले सन्दीप र पीडित भनिएकी गौशाला २६ होटेलभित्र पसेको र होटेलबाट बाहिरिएको फुटेज हेरेका थिए। जिल्ला अदालतले गरेको ८ वर्ष कैद र क्षतिपूर्तिसहितको ५ लाख जरिवाना हुने फैसला उल्ट्याउन उच्च अदालतले विशेषगरी दुई वटा आधार बलियो मानेको छ।

पीडित भनिएकी गौशाला २६ नाबालीक भन्ने दाबी प्रमाणित नहुनु र जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको इजलासको ठहर छ। ‘जिल्लाको फैसला मिलेको नदेखिएको र सरकारले दायर गरेको अभियोगपत्र अनुसार दोषी ठहर हुनका लागि प्राप्त प्रमाण देखिएन,’उच्चको फैसलामा भनिएको छ,‘परिस्थितिजन्य प्रमाणहरूबाट हेर्दा पनि निजले अभियोग गरेको ठहर हुने देखिएन।’

उच्चले सन्दीपलाई सफाइ दिन लिएका अर्का आधारहरूबारे भने फैसलाको पूर्णपाठमा व्याख्या गर्ने छ। बुधवार संक्षिप्त आदेश मात्रै आएको छ। उच्च अदालत पाटनको फैसला चित्त नबुझेमा जाहेरवाली/सरकारीपक्ष सर्वोच्च अदालत जाने बाटो खुला छ।

अदालतको फैसलापछि क्रिकेटर लामिछानेले अदालत र न्यायधीशहरुप्रति आभार व्यक्त गर्दै ढिलै भए पनि आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने शुभचिन्तकहरूलाई पनि धन्यवाद दिन भ्याए। क्रिकेटर लामिछानेले अब नेपालको क्रिकेटलाई अझ माथि पुर्‍याउन योगदान गर्ने बताए।

सन्दीपले सफाइ पाएपछि उनका समर्थकहरूले धूमधामसँग खुसीयाली मनाएका छन्। बाजागाजासहित अदालत नजिकै आदेश कुरेर बसेका उनीहरू सन्दीपको नाममा नाराबाजी गर्दै खुसीले उफ्रिएका छन्।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले आफूहरूलाई न्याय भएको बताउँदै जाहेरवालाप्रति हानी गर्ने कुरा नलेख्न आग्रह गरे। उनले जाहेरवाली गौशाला २६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै गौशाला २६ को स्वाभिमानको समेत रक्षा हुनुपर्ने बताए।

निलम्बन फुकुवा

निर्दोष साबित भएका सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन्। जिल्ला अदालतले दोषी ठहर्‍याएपछि निलम्बन गरेको नेपाल क्रिकेट सङ्घ क्यानले उनको निलम्बन फुकुवा गरेको छ।

अदालतको फैसला लगत्तै घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट लामिछानेमाथिको निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

नेपाल क्रिकेट सङ्घले टी–२० विश्वकपका लागि टोली घोषणा गरिसकेको भए पनि आइसिसीको नियम अनुसार अझै टोलीमा परिवर्तन गर्न सक्ने १० दिनको समय बाँकी रहेकाले लामिछानेले विश्वकप खेल्ने प्रबल सम्भावना छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.