काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कुलमान हटाउने निर्णयमा मन्त्रीहरू विभाजित भएपछि निर्णय गुपचुप राखिएको थियो।
काँग्रेसबाट गृह मन्त्री बनेका रमेश लेखकले कुलमान हटाउने निर्णय सर्वोच्च अदालतबाट उल्टिने भन्दै असहमति जनाएका थिए। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भने समर्थन जनाएकी थिइन।
कुलमानलाई हटाउन नहुने गृहमन्त्री लेखकको साथमा अर्थमन्त्री विष्णु पौडेल र शिक्षा मन्त्री विद्या भट्टराई थिए। अरु मन्त्रीहरू चुइँक्क नबोलेको मन्त्रिपरिषद् स्रोतले बताएको छ।
मन्त्रीहरू नै विभाजित बनेको निर्णय सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बाले मङ्गलवार मात्र सार्वजनिक गरे। उनले आज मात्रै निर्णय सार्वजनिक गर्नुपर्ने भएकाले हिजो ढाँटेको जवाफ दिए।
सरकारले नियुक्तिको पत्र दिएसँगै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्यले कार्यभार सम्हालेका छन्। उनले लोडसेडिङ नहुने बताए। अहिले उद्योग कलकारखानामा हुँदै आएको १२ घण्टाको लोडसेडिङ पनि कम हुने उनले बताए।
भ्रम छरेको ओलीको आरोप
कुलमान हटाउने निर्णयको चौतर्फी विरोध भए पछि सरकारले तिललाई पहाड नबनाउन आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आफूले लोडसेडिङ मुक्त गराएको भन्दै कुलमानले भ्रम छरेको आरोप नै लगाए।
काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले योजना राखेर गरेको कामलाई घिसिङले चमत्कार गरेको भनेर व्याख्या गर्नु गलत भएको बताए।
प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाएर यही हो मौका भन्दै अहिले सरकार विरोधी प्रदर्शन समेत भएको बताए। उनले अहिले भेटिएको डोरीको त्यान्द्रोलाई नाग बनाउन खोज्नुको कुनै तुक नभएको उल्लेख गरे।
चौतर्फी विरोध र घम्साघम्सी
दुई तिहाइको शक्तिशाली सरकार नागरिकका असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो उल्टै जनभावनामाथि प्रहार गर्न लागिपरेको आरोप लागेको छ।
जनचाहनाविपरीत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि काँग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाले चलाएको पुष्टि भएको भन्दै आम नागरिक सडकमा उत्रिएका छन्।
सरकारको निर्णय विरुद्ध देशैभर विरोध प्रदर्शन भएको छ। काठमाडौँ उपत्यकामा बिहानै विद्यार्थी सङ्गठनहरूले उर्जामन्त्रीको पुत्ला दहनबाट सुरु गरेको विरोध प्रदर्शन दिउँसो विरोध र्याली, विरोधसभा हुँदै प्रहरीसँगको घम्साघम्सी र धरपकडसमेत भयो।
सिंहदरबार क्षेत्रमा भएको प्रदर्शनका क्रममा १२ जना पक्राउ परे। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र प्रवेश गरेको भन्दै१२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नयाँबानेश्वर क्षेत्रमा दिनभर कुलमानका पक्षमा नारा लाग्यो। विभिन्न दल तथा स्वतन्त्र नागरिकको आह्वानमा विरोध प्रदर्शन भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका जनवर्गिय सङ्गठनहरू वाइसियल, अनेमसंघ क्रान्तिकारी र स्वतन्त्र नागरिक नामक ब्यानरमा विभिन्न क्षेत्रका युवाहरूको विरोध प्रदर्शन भए। प्रदर्शनको क्रममा प्रहरी र आन्दोलनकारीबिच घम्साघम्सी समेत भयो।
साँझ काठमाडौँको बौद्धजोरपाटी, भक्तपुरको सुर्यविनायक चोकमा ताम्सालिङ संयुक्त संर्घष समिति, नेपाल तामाङ घेदुङ तथा स्वतन्त्र नागरिकहरूले मसाल जुलुस निकालेका छन्। काठमाडौं बाहिर विभिन्न जिल्लामा पनि साँझ मसाल जुलुस तथा विरोध सभा गरिएका छन्।
हेटौँडामा टुकी र्याली निकालिएको छ। यी विरोधका कार्यक्रमहरूले घिसिङलाई हटाउने निर्णयपछि सरकार चौतर्फी घेराबन्दी परेको छ।
आफ्नै कार्यसम्पादन मूल्याङ्कनमा ‘आफैँ फेल’ भएको सरकारले जनताको मनमनमा बस्न सफल घिसिङलाई शून्य अङ्कले मात्रै नपुगेर हटाएरै छाडेपछि ‘जनआक्रोशको आगोमा घ्यू थप्ने काम’ भएको छ।
प्रतिपक्षी दलहरूले सरकार बिचौलियाको पक्षमा लागेको आरोप लगाएका छन् नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार बिचौलियाको पक्षमा लागेको पुष्टि नै भएको आरोप लगाएका हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.