गणतन्त्र र राजावादी एक-अर्कालाई तर्साउने रणनीतिमा

गणतन्त्र र राजावादी एक-अर्कालाई तर्साउने रणनीतिमा

५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

2.4k
SHARES

काठमाडौं : गणतन्त्रवादी र राजावादीहरूले शुक्रवार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन्। देशमा गणतन्त्र आएको दुई दशक पुग्न लाग्दा राजावादी र गणतन्त्रवादी आमनेसामने हुन लागेका हुन्।

काठमाडौँमा जनसागर उतारेर एकअर्कालाई तर्साउने रणनीतिका साथ राजावादी र गणतन्त्रवादी तीव्र तयारीमा लागेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अगुवाइमा समाजवादी मोर्चाका ४ दलले काठमाडौँको भृकुटीमण्डपमा र राजावादीहरूले कोटेश्वर तीनकुनेमा प्रदर्शन गर्ने ठाउँ पाएका छन्।

राजावादी र गणतन्त्रवादीको छुट्टाछुट्टै प्रदर्शनलाई सरकारले भने सामान्य भनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यस्ता कार्यक्रम हुनु नौलो नभएको भन्दै नआत्तिन अपिल गरे।

मोर्चाले भने जनप्रदर्शनबाट राजावादीसँगै सरकारलाई पनि दबाब दिने रणनीति बनाएको छ। नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मोर्चाले आन्दोलनको अग्रमोर्चामा उभ्याउने नीति समेत लिएको छ।

जनप्रदर्शनमा लगभग डेढ लाख मान्छे उपस्थित हुने मोर्चाका नेताहरूले बताएका छन्। मोर्चाका नेताहरूले राजतन्त्र पक्षधरहरूको अराजकता रोक्न सरकारबाट कुनै पहल नभएको आरोप पनि लगाएका छन्। माओवादी केन्द्रका सांसद सुदन किराँतीले प्रधानमन्त्री ओली नै हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाए।

राजवादीहरूले पनि गणतन्त्रवादीहरूलाई काउन्टर दिन शक्ति प्रदर्शन गर्दैछन्। पूर्पपञ्चहरुलाई पन्छाउँदै शक्ति प्रदर्शनको नेतृत्व विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पाएका छन्। उनले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमै पुगेर भेटेका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलनलाई सशक्त बनाउन दुर्गा प्रसाईँ कमान्डर बनेको जानकारी दिए।

वर्तमान व्यवस्था विरुद्धमा यो समितिले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउने घोषणा पनि गरेको छ। आन्दोलनका लागि धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको छ। संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नयाँ समझदारी गर्न दलहरूलाई अपिल गरे।

तर, प्रधानमन्त्री बन्न एमालेसँग समझदारी गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने रहर गरेर राजतन्त्र पुनर्स्थापित नहुने बताए। पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताले स्विकारी सकेकाले यो व्यवस्था हट्न नसक्ने दाबी गरे।

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रवारको प्रदर्शनको विभिन्न टोली बनाएर अनुगमन गर्ने जनाएको छ। विज्ञप्ति निकालेर आयोगले प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा चुनौती थप्न सक्ने भन्दै चासो पनि व्यक्त गरेको छ।

सुरक्षा व्यवस्था कडा, ५ हजार भन्दा बढी सुरक्षाकर्मी खटिने

काठमाडौँका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर साढे पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। सम्भावित मुठभेड रोक्न ३५ सयभन्दा बढी नेपाल प्रहरी र २ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने भएको हो।

काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्दैछन्। प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोसाकमा समेत ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी काठमाडौं उपत्यका प्रहरी कार्यालयले गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए।

शान्ति सुरक्षाको माहौल बिग्रन नदिन प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले शुक्रवार ट्राफिकको समस्या हुनसक्ने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरे।

सशस्त्र प्रहरीले पनि प्रदर्शनमा हुनसक्ने घुसपैठ तथा तोडफोड रोक्ने गरी योजना बनाएर तयारी अवस्थामा रहेको बताएको छ। स्थानीय प्रशासनको सुरक्षा योजना अनुसार सुरक्षा टोली तैनाथ अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न प्रशासनले आग्रह गरेको छ। सुरक्षा रणनीति अनुसार पूर्वराजाका समर्थकलाई सकभर रिङरोडमा मात्रै जुलुस निकाल्ने गरी व्यवस्था मिलाइएको छ। भक्तपुरबाट आउने राजावादीहरूलाई तीनकुनेमै रोक्ने रणनीति प्रहरीले बनाएको छ।

समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारी तर्फ ‘डाइभर्ट’ गर्ने तयारी प्रहरीको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.