‘तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र’

‘तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र’

3k
SHARES

काठमाडौँ : राजावादीहरूले तीनकुनेमा मच्चाएको विध्वंसको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष सत्ता र प्रतिपक्ष दलहरूले निकालेका छन्।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजाले लिनु पर्ने निष्कर्ष निकालेका हुन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले निरङ्कुश बन्ने पूर्वराजा नै घटनाको मुख्य दोषी रहेको निष्कर्ष निकालिएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

आन्दोलनको दिन पार्टीका बैठकमा व्यस्त रहेका गृहमन्त्री रमेश लेखकले भोलिपल्ट तीनकुने–कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन्। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आन्दोलनकारीहरूले तोडफोड गरी पुर्‍याएको क्षतिको अवलोकन गरेपछि अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री लेखकलाई प्रहरीले तपाईँको आदेश नमानेको हो भनेर सोधे।

जानकारी गराउने बित्तिकै प्रहरी पुगेको भए यति क्षति नहुने नेताहरूले बताएका थिए। त्यसक्रममा गृहमन्त्री लेखकले आक्रमणमा उत्रिएका राजावादीहरूलाई कानुन बमोजिम कारबाही हुने बताए।

एकीकृत समाजवादीको कार्यालय अवलोकन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक रहेको पुष्टि भएको बताए।

दिउँसो काठमाडौँमा भएको अर्को कार्यक्रममा प्रचण्डले राजावादीहरूको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरे। समाजवादी मोर्चाले ठुलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरूले ठुला आपराधिक घटना गराउने सम्भावना रहेको प्रचण्डको भनाई छ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति निकालेर पूर्वराजा ज्ञानेन्द्र शाहकै योजनामा हिंसात्मक प्रदर्शन भएको आरोप लगाउँदै कारबाहीको माग गरे। ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले गरेको प्रदर्शन विध्वंसको पराकाष्ठा भएको माओवादीको ठहर छ।

सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लेखक सङ्घको आठौँ अधिवेशन उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा गणतन्त्र नहट्ने बताए। तीनकुने आन्दोलनतर्फ लक्षित गर्दै देउवाले ‘अहिले त यस्तो छ, राजा भए कस्तो होला?’ भने।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताए। अखिल नेपाल किसान महासङ्घ काभ्रेपलान्चोक जिल्ला कमिटीको बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताए।

राजावादीहरूको आफ्नै तर्क

राजावादीहरूले भने सरकारलाई दोषी करार गरिरहेका छन्। घरमै नजरबन्दमा रहेका ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले पनि उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा हिंसात्मक गतिविधिको सधैँ विपक्षमा रहेको तर हिजोको घटना सरकारको दमनका कारण भएको आरोप लगाए।

उनले पूर्वराजालाई राजनीतिमा तान्ने काम भएको भन्दै आपत्ति जनाए। शान्तिपूर्ण प्रदर्शनमा सहभागी पार्टीका नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर जबरा र अधिवक्ता स्वागत नेपाल लगायतालाई २४ घण्टाभित्र बिना सर्त रिहा नगरे राप्रपाले विरोधका कार्यक्रम गर्ने चेतावनीसमेत उनले दिए।

सांसद समेत रहेका धवलसमसेर पक्राउ परेको सूचना संसद् सचिवालयमा पुगेको र आइतबारको प्रतिनिधिसभाको बैठकमा सभामुखले जानकारी गराउने तयारी छ।
सरकारले घटनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग राप्रपाले राखेको छ।

आन्दोलनका क्रममा जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति दिन माग गर्ने निर्णय राप्रपाले गरेको छ।

राप्रपाजस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलले तीनकुने घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

शनिवार बसेको रास्वपाको भर्चुअल सचिवालय बैठकले सोमबारका लागि केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै काठमाडौँको कोटेश्वर, जडीबुटी र तीनकुनेलगायतका स्थानहरूमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा छानबिन आयोग गठन गर्न माग गरे।

नेपाल ट्रेड युनियन काँग्रेसले पनि हिंसामा सङ्लन हुने जो कोहीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.