काठमाडौं : जापान सरकार र युएनएफपिएबीच नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार परियोजना कार्यान्वयन गर्न सम्झौता भएको छ।
परियोजना जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सन्दर्भमा स्वास्थ्य सेवाको प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउन एक महत्त्वपूर्ण कदम भएको युएनएफपिएले जनाएको छ।
नयाँ साझेदारी अन्तर्गत जापान सरकारले आफ्नो सहायक कोष मार्फत ११ लाख अमेरिकी डलर प्रदान गरेको छ।
परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा सञ्चालन हुने युएनएफपिएले जनाएको छ। युएनएफपिएले बिहीबार पत्रकार सम्मेलन गरेर परियोजना दुई जिल्ला जाजरकोट र रौतहटमा सञ्चालन हुने जानकारी दिएको छ।
परियोजना मार्च २०२५ देखि सुरु भई १२ महिनासम्म सञ्चालन हुनेछ। परियोजना मार्फत करिब ४८ हजार महिला र नवजात शिशुहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा युएनएफपिएले गरेको छ।
सौर्य ऊर्जाको व्यवस्थापन, स्वास्थ्य उपकरण, पानी तथा फोहोरमैलाको उचित व्यवस्थापन सहित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदान गर्ने १० संस्थाहरूको जलवायु अनुकूलन हुने गरी स्तरोन्नति गरिनेछ। यसका साथै, स्वास्थ्यकर्मीहरूलाई आपत्कालीन प्रसूति तथा नवजात शिशु सेवा तथा प्रजनन रुग्णताको व्यवस्थापनका लागि क्षमता अभिवृद्धिका साथै समुदाय स्तरमा स्वास्थ्य सेवा प्रदान गरिने युएनएफपिएले जनाएको छ।
परियोजना शुभारम्भ कार्यक्रममा युएनएफपिए नेपालकी आवासीय प्रतिनिधि यङ हङले परियोजना नेपालको जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण प्रयासहरूसँग मेल खाने बताइन। उनले भनिन्,‘यो साझेदारीले स्वास्थ्य संस्थाहरूको भौतिक क्षमता मजबुत पार्नुपर्ने आवश्यकता देखाउँछ, जसले बारम्बार आउने जलवायु सङ्कट र प्रकोपसँग जुध्न सक्दछन्।’
नेपालका लागि जापानका राजदूत माएडा तोरुले नेपाल जलवायुजन्य चुनौतीहरूसँग जुधिरहेको बेलामा जापान, नेपाल सरकार र युएनएफपिएको साथ उभिन पाउँदा गर्व गर्ने बताए। उनले भने,‘विशेष गरी भौगोलिक रूपमा टाढा र जोखिमयुक्त क्षेत्रका आमाहरू र नवजात शिशुहरूको स्वास्थ्य सुरक्षित गर्न महत्त्वपूर्ण योगदान रहनेछ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले परियोजनाले नेपालको जलवायु परिवर्तन स्वास्थ्य अनुकूलन रणनीति तथा कार्ययोजनालाई कार्यान्वयनमा लैजान महत्त्वपूर्ण कदम लिएको उल्लेख गरे।
नेपालको स्वास्थ्य प्रणाली भूकम्प, बाढी, र गर्मी लहरजस्ता प्रकोपसँग जुधिरहेको समयमा यो परियोजना शुभारम्भ गरिएको हो। यस परियोजनाले मातृ मृत्युदर घटाउने मात्र नभई दिगो विकास लक्ष्य प्राप्त गर्नतर्फ नेपालको प्रगतिको लागि महत्त्वपूर्ण योगदान दिने युएनएफपिएले बताएको छ।
जापान सरकार र युएनएफपिएले नेपाली नागरिक विशेष गरी महिलाहरूलाई -समावेशी, न्यायोचित र प्रतिरोधात्मक स्वास्थ्य प्रणालीमार्फत सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.