काठमाडौँ : उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश लगत्तै फरार अपराधी जसरी निवासबाटै पक्राउ परे राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने। शुक्रवार राति आफ्नै निवास बुढानीलकण्ठबाट पक्राउ परेका लामिछानेलाई शनिवार बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा पुर्याइयो।
रुपन्देही प्रहरीको हिरासतमा दालभात खाएर बसेको जानकारी पार्टीका उपसभापति स्वर्णिम वाग्लेलाई लामिछानेले गराएका छन्। उनलाई आइतबार पनि सार्वजनिक बिदा परेकाले सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने छ।
लामिछानेलाई यसअघि गत कार्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ गरेर कास्की पुर्याइएको थियो। रवि पक्राउ पर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेकपा माओवादीलाई पनि ग्रिन सिग्नल दिएका थिए। दोस्रो पटक पक्राउ पर्दा भने प्रधानमन्त्री ओली देश बाहिर बैंककमा थिए।
दिनमै चार पाँच वटा अदालतमा धाउनु पर्ने अवस्था सुनाएको केही दिनमै उच्च अदालत बुटवलले रविलाई एक करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरिदियो। जिल्लाको आदेश बदर भए लगत्तै लामिछानेलाई अन्तिम इच्छा सोधेर गिरफ्तार गरिएको छ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गिरफ्तार गर्दा अन्तिम इच्छा सोधे पछि विवाद भएको छ। पार्टी केन्द्रीय समिति बैठकको निर्णय अनुसार चितवनबाट सुरु गरेको जनयात्रा कार्यक्रममा रास्वपा नेताहरूले लामिछानेलाई अन्तिम इच्छा सोधेर गिरफ्तार गरेकोमा आक्रोश पोखेका छन्।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचामा गाडिदिन्छौँ भने जस्तै रास्वपाका नेताहरूले जनयात्रा कार्यक्रममा विष्णुमतीमा गाडिदिने चेतावनी दिए।
लामिछानेले चितवनमा दुई ठुला दलको सरकार बन्नुको कारण खुलासा गर्ने बताएका थिए। पार्टी कार्यालयमा ५ महिनापछि कमब्याक गर्दै लामिछानेले बाँकी कुरा जनयात्रा कार्यक्रममा खुलासा गर्ने भाका राखेका थिए। त्यही कारण रातारात लामिछानेलाई पक्राउ गरिएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आरोप लगाए।
उनले काँग्रेस र एमालेका फुच्चे नेताहरूको काम नै दाइ भाउजूको नाम जप्दै ठेक्कापट्टा मिलाउने रहेको आरोप पनि लगाए।
सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसपछि अनुसन्धानका लागि पहिलो पटक पक्राउ परेका लामिछाने कास्की, काठमाडौँ, रुपन्देही र चितवनमा धरौटी बुझाएर रिहा भएका थिए। उनीविरुद्ध सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.