वरिष्ठ पत्रकार भैरव रिसालको निधन, दाहसंस्कार नहुने

वरिष्ठ पत्रकार भैरव रिसालको निधन, दाहसंस्कार नहुने

537
SHARES

काठमाडौँ : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। काठमाडौँ फ्रन्टलाइन अस्पतालमा रिसालको निधन भएको माइला भाइ पुरु रिसालले जानकारी दिए।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो। पत्रकार रिसालले यसअघि नै मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए। भैरव रिसालले शिक्षण प्रयोजनका लागि पाटन अस्पताललाई पहिले नै शरीर दान गर्नु भएकोले दाहसंस्कार नहुने परिवारले जानकारी दिएको छ।

पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए।

वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए। लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। सम्पादक समाज नेपालले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ।

समाचार शेयर गर्नुहोस्
537
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.