आन्दोलनको इपिसेन्टर माइतीघरमण्डला

आन्दोलनको इपिसेन्टर माइतीघरमण्डला

1.3k
SHARES

काठमाडौँ : देशको सङ्घीय राजधानी काठमाडौँ आन्दोलनको इपिसेन्टर बनेको छ। राजनीतिक दलमात्र होइन शिक्षक, डाक्टर, कर्मचारीको आन्दोलन गर्ने सेन्टर काठमाडौँको माइतीघरमण्डला बनेको छ।

चैत २० गतेदेखि शिक्षकहरू दोस्रो चरणको आन्दोलनमा छन्। नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू पनि सडकमा उत्रिएका छन्।

सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै आवासीय चिकित्सकहरूले श्रम शोषणविरुद्ध आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरे। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा पनि काठमाडौँमा प्रदर्शन गरिएको छ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकाल्यो। भृकुटीमण्डपबाट निस्किएको र्‍याली भद्रकाली–सुनधारा–वीर हस्पिटल–रत्नपार्क–पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो।

र्‍यालीको क्रममा उपस्थितहरूले करको दायरा घटाउनु पर्ने, वर्तमान दलतन्त्रको व्यवस्था परिवर्तन हुन पर्ने लगायतका नारा लगाएका थिए।

राष्ट्रिय जनमोर्चा नेपालले गणतन्त्रको रक्षा र सङ्घीयता खारेजीको माग गर्दै आन्दोलन सुरु गरेको छ। सरकारको कामले वाक्कदिक्क भएर जनता राजतन्त्र ल्याउन सडकमा आएको अध्यक्ष चित्रबहादुर केसी बताउँछन्। तर, राजतन्त्र अब इतिहासको पानामा सिमित भइसकेको केसीले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते राजतन्त्रको पक्षमा जनसभा आयोजना गर्दा त्यसको अघिल्लो दिन नेकपा एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

यी घटनाक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले क्यास गर्ने तयारी गरेको छ। नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारविरुद्धको निर्णायक आन्दोलनको नेतृत्व आफूले गर्ने बताए।

सरकारसँगको वार्ता बहिस्कार गरेका शिक्षकहरूलाई आन्दोलन नछोड्न उकास्दै प्रचण्डले अहिले सडकमा भइरहेका विरोध प्रदर्शनलाई नजरअन्दाज गरे सरकारले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिए।

विचाराधीन विधेयकलाई अगाडी बढाउनुको साटो सरकारले हतारमा संसद् अधिवेशन अन्त्य गरेको भन्दै प्रचण्डले विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पुरा गर्नुपर्ने बताए।

विपक्षी दलको ढाडस पाएको नेपाल शिक्षक महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पहिलेकै जस्तो सहमति गरेर घर फर्काउने अभिव्यक्ति दिएको भोलिपल्ट शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरू बन्द गरी काठमाडौँको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन्।

माग पुरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरूलाई महासङ्घले आग्रह गरेको छ।

दोस्रो चरणको अनिश्चितकालीन आन्दोलनको पाँचौँ दिन उनीहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिट्ठी जुलुस गरे।

सडकमा शान्तिपूर्ण तथा रचनात्मक आन्दोलन गरिरहेका उनीहरू यसपटक ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने गरी दिनभर नाराबाजी गरिरहेका छन्।

शिक्षकहरू बानेश्वर र आवासीय चिकित्सक माइतीघरमा हुँदा कुलमानलाई पुनर्बहाली गर्न माग गर्दै तामाङ समुदायका विभिन्न सङ्घ संस्थाहरूले निकालेको झाँकीसहितको र्‍याली बानेश्वर सडक हुँदै माइतीघरमा पुगेको थियो।

काठमाडौँको बिजुलीबजार, कुपण्डोल लगायतका स्थानबाट आएका उनीहरूले कुलमानको तस्बिर बोकेर उर्जामन्त्रीविरुद्ध नारा लगाए।

यद्यपि घिसिङले आफूलाई पुनर्बहालीको मागसहित दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ। विपक्षीकै जस्तो गरी सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निरन्तर सरकारको कामको आलोचना गर्दै आएका छन्।

सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका कोइरालाले ९ महिनाअघि सरकार बनाउँदा गरिएको कल्पना अनुसार अघि नबढेको भन्दै असन्तुष्टि सुनाए।

समाचार शेयर गर्नुहोस्
1.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.