निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रवि कारागार चलान, पालो सबैको आउने धम्की

रवि कारागार चलान, पालो सबैको आउने धम्की

430
SHARES

काठमाडौँ : सहकारीको रकम अपचलन गरेको अभियोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार पुर्‍याएको छ। रुपन्देही जिल्ला अदालतमा पेस गरेर पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला कारागार चलान गरिएको हो।

जिल्ला अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेको स्वास्थ्य परीक्षण गरेर कारागारको ब्लक नम्बर–४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए।

लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा सञ्चारकर्मीले अदालतको आदेशप्रति केही भन्नु छ भन्ने प्रश्नमा उनले केही छैन, सम्मान छ भनेका हुन्।

उनले कानुनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत (सर्वोच्च अदालत) जाने बताए।

लामिछाने शुक्रवार काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए। उनलाई शनिवार रुपन्देही लगिएको थियो।

लामिछानेले न्यायको मन्दिरबाट अन्याय नहुनेमा विश्वस्त रहेको बताए। ‘तर, विभिन्न आशङ्का उठेका र उठाइएका छन्, ती गलत साबित हुन्,’लामिछानेले भने।

उनले अहिले आफूमाथि राजनीतिक प्रतिशोध भएको दोहोर्‍याएका छन्। उनले पालो सबैको आउने बताउँदै आफूले जसरी नै अरूले पनि जाँच दिनुपर्ने धम्की दिए।

बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

लामिछानेको सचिवालयले पठाएका ४ सन्देश :

अदालतको आदेशको सम्मान छ। कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु।

न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशङ्का उठेका र उठाइएका छन्, ती गलत साबित हुन्।

पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्।

अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।

समाचार शेयर गर्नुहोस्
430
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.