काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खुमा गरेको शक्ति प्रदर्शनको अन्तिम वक्ता थिए अध्यक्ष राजेन्द्र लिङ्देन। उनको भाषण सकिने लगत्तै स्टेजमा पुगेका उद्घोषक शक्ति प्रदर्शन सकिएको घोषणा गर्दै थिए।
अध्यक्ष लिङ्देन बालेनले निर्मल निवासलाई पठाएको जरिवानाको पत्र सम्झेर झल्याँस्स भए। हत्तपत्त उद्घोषकलाई साइड लगाए। साँच्चै भन्नुपर्ने कुरा छुटाउन नहुने लागेर स्टेजबाटै लिङ्देनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई ‘जरिवानाको पत्र पठाएर हिरो बन्न नखोज्नु,’भने।
बालेनले पनि तत्कालै जवाफ दिए फेसबुकबाट। हत्तपत्त सार्वजनिक कार्यक्रममा गएर नबोल्ने बालेनले हिरो बन्न नखोज्नु भन्ने लिङ्देनलाई धन्यवाद दिए। राप्रपाले कार्यक्रममा आफै सरसफाइ गर्यो र बालेनको धन्यवाद पायो।
बालेनले तस्बिरसहित स्ट्याटस लेखेर महानगर कसैले फोहोर गर्छन् र जरिवाना तिराउँछु भनेर नबसेको बताउँदै सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने पक्षमा महानगर रहेको उल्लेख गरे।
राप्रपा अध्यक्ष लिङ्देनले भृकुटीमण्डपमा कार्यक्रम गर्न दिँदा गणतन्त्र ढल्ने देखेपछि सरकारले कार्यक्रम अन्यत्र सार्न लगाएको आरोप लगाए। तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंस्रक बन्नुमा राज्य जिम्मेवार रहेको आरोप उनले लगाए।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको नाक जोगाउन लफडा नगरेको पनि अध्यक्ष लिङदेनले सुनाए। आफूहरूको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिए। आफूहरूको आन्दोलनलाई कमजोर ठाने बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिए उनले।
चैत्र १५ को आन्दोलनका क्रममा प्रहरीले धरपकड गरेकोमा आक्रोशित अध्यक्ष लिङदेनले प्रहरीलाई ‘प्रहरी भएर बस्न’ भने। प्रहरी महानिरीक्षक दीपक थापा प्रति आक्रोशित भएका लिङदेनले सत्तारुढ नेकपा एमालेको युवा सङ्घको सहअध्यक्ष भएर नबस्न चेतावनी दिए।
खबरदारीसभामा बोल्ने अधिकांश नेताहरूले कुट्ने र तह लगाउने अभिव्यक्ति दिइरहेका थिए। राप्रपाकी सांसद रोशन कार्कीले राजसंस्था फर्काउने विषयमा दलहरू सकारात्मक नभए घरबाटै थुतेर हिसाबकिताब गर्ने अराजक अभिव्यक्ति दिइन।
प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना पार्टीका नेताहरूलाई झुटा मुद्दामा जेल हालेको भन्दै तत्काल रिहा गर्न माग गरे। राज्यको अत्याचार बढ्दै गए हजारौँ जनताले घर घेर्ने बताउँदै त्यो दिन भागेर कहाँ जाने हो? स्थान तय गर्न उनले चेतावनी दिए।
राप्रपा सांसद दीपक सिंहले अझै पनि सरकार सुध्रिएन भने श्रीलङ्का र बङ्गलादेशको जस्तै नियति नेपालले भोग्नु पर्ने चेतावनी दिए।
तीनकुने घटनामा पक्राउ परेकाहरुविरुद्ध म्याद थप
तीनकुनेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा सहित २१ जना थप १५ दिन हिरासतमै रहने भएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। पक्राउ परेका अन्यलाई २० दिन म्याद थप भएको छ।
तीनकुनेमा चैत १५ गते भएको घटनासँग जोडेर राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। यसअघि उनीहरूविरुद्ध पहिलोपटक ५ दिन र दोस्रो पटक ६ दिन म्याद थप गरिएको थियो।
तीनकुनेको प्रदर्शनमा आपराधिक उपद्रव र सङ्गठित अपराधमा अनुसन्धान जारी छ। प्रहरीले मङ्गलवार थप दुई जनालाई पक्राउ गरेको छ।
सरकारलाई ध्यान अन्तै मोड्न सहज
सत्तारुढ र प्रतिपक्षी दलहरूको दैनिकी पूर्वराजालाई गाली गरेरै बित्न थालेको छ। नागरिकमा रहेको असन्तुष्टि कम गर्न भन्दा पूर्वराजालाई गाली गर्नमै सरकार र प्रतिपक्षी दलहरूले समय खर्चिरहेका छन्।
व्यवस्था बदलिए पनि अवस्था फेर्न अल्छी गरेका दलहरूलाई पूर्वराजाको चुरीफुरीले जनताको ध्यान मोड्न सहज भएको छ। जनताको जीवनमा बदलाव ल्याउन अक्षम बनेका नेताहरू गणतन्त्र नै देशको वर्तमान र भविष्य भएको बताइरहेका छन्।
मधेस प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र सामन्ती प्रणाली भएकोले कोही जन्मिँदै राजा हुने प्रणाली २१ औँ शताब्दीमा स्वीकार्य हुनै नसक्ने बताए।
उनले संविधान संशोधन उपयुक्त समयमा हुने पनि बताए। त्यसका लागि समिति बनाएर काम अघि बढाउने उनले उल्लेख गरे। जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकिए र गरिबीबाट मुक्ति दिन नसकिए जनतालाई लोकतन्त्रले छुन नसक्ने उनको भनाई छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.