निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ओली-देउवा खटपट, धरापमा गठबन्धन

ओली-देउवा खटपट, धरापमा गठबन्धन

424
SHARES

काठमाडौं : गभर्नर नियुक्तिमा ढिलाइ गर्दा सत्ता गठबन्धन नै भत्किने अवस्थामा पुगेको छ। सत्तारुढ नेपाली काँग्रेसको भागमा परेको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनिच्छा गर्दा गठबन्धन नै भत्किने अवस्थामा पुगेको हो।

काँग्रेसले गभर्नरमा डा. विश्व पौडेलको नाम अघि सारेको छ। तर, अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले नाम सिफारिस गरेको छैन। सोमबार समितिले नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने हल्ला चलाइए पनि अन्तिम समयमा गभर्नर नियुक्ति हात्ती आयो, हात्ती आयो फुस्सा भएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक नै स्थगित गरे। मन्त्रिपरिषद् बैठक स्थगित गरेर काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने प्रधानमन्त्री ओलीको तयारी पनि असफल भएको छ। देउवा आलीलाई भेट्न बालुवाटार गएनन्। प्रधानमन्त्री ओलीसँग भेट्ने कुनै कार्यक्रम नरहेको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीको ढिलाइले गठबन्धन कायम रहनेमा शङ्का उत्पन्न भएको काँग्रेसका एक नेताले बताए। ‘ओलीजी हुन्छ हुन्छ भन्नुहुन्छ,तर नियुक्तिको निर्णय गराउनु हुन्न,’ती नेताले भने,’अब यस्तै हो भने गठबन्धन लामो समय जाँदैन।’

काँग्रेसले ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सरकार गठनको तुरुप समेत फालेको छ। संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने माग काँग्रेस नेताहरूले गरेका छन्।

जनअपेक्षा एकातिर सरकारको काम अर्कोतिर हुँदा आफ्नै सरकार हुँदा पनि काँग्रेसमा असन्तुष्टि चुलिएको छ। महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री, गभर्नर आफ्नै हुन लाग्दा पनि काँग्रेस खुसी हुन नसकेको सुनाए।

अहिलेको अवस्थाबाट बाहिर निकाल्ने जिम्मा काँग्रेसको रहेको उनले बताए। अब काँग्रेसलाई गनगन गर्ने सुविधा नरहेको महामन्त्री थापाको भनाई थियो।

मुख्य सुध्रिनु पर्ने अर्थतन्त्र लयमा फर्कन सकेको छैन। सार्वजनिक ऋणको भारी बढिरहेको छ। सरकारमाथि ऋण लिएर घ्यु खाएको आरोप छ। भ्यु टावर, पानी जहाज कार्यालयमा करोडौँ खर्च भइरहेको छ।

उत्सव मनाउने नाममा राज्यको ढुकुटी दोहन गर्ने काम ओली नेतृत्वको सरकारले गर्दै आएको आरोप लागेको छ। सरकार नीतिगत भ्रष्टाचार गर्नेलाई जोगाउन उद्धत बनिरहेको आरोप पनि छ।

काँग्रेस र एमाले अर्कालाई पोल्दा खुच्चिङ गर्ने र आफ्नालाई पर्दा रुवावासी गरिरहेका छन्। सरकारको काम गराइको पाराले प्रतिपक्षी नेकपा माओवादीलाई आरोप लगाउन बल पुगेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार प्रकरणमा बालकोट र बुढानीलकण्ठलाई पनि नछोड्ने देखेपछि काँग्रेस र एमाले मिलेर आफू नेतृत्वको सरकार ढालेको दाबी गरेका छन्।

जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत जाजरकोटमा आयोजित सभामा उनले आफू नेतृत्वको सरकार नढलेको भए केही दिनभित्रै काँग्रेस र एमालेका शीर्ष नेताहरू भ्रष्टाचार केसमा पक्राउ गर्ने तयारी रहेको सुनाए।

सरकार भने तामझामका साथ गणतन्त्र दिवस मनाउने तयारीमा लागेको छ। तीन दिन भव्यताकासाथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन नै गरिएको छ।

जेठ १५ गतेको उक्त दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ। त्यस्तै १४, १५ र १६ गते तीन दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ।

समाचार शेयर गर्नुहोस्
424
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.