निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भ्रष्टाचारका काण्डमा कर्मचारीलाई कारबाही, मन्त्रीलाई उन्मुक्ति

भ्रष्टाचारका काण्डमा कर्मचारीलाई कारबाही, मन्त्रीलाई उन्मुक्ति

काँग्रेसमा दुई धार, प्रतिपक्षीले माग्यो राजीनामा

327
SHARES

काठमाडौं : दुई तिहाइको सरकारका गृहमन्त्री रमेश लेखक नैतिक सङ्कटमा परेका छन्। विमानस्थलबाट हुने गरेको मानव तस्करी प्रकरणमा राजीनामा दिनु पर्ने नैतिक सङ्कटमा मन्त्री लेखक परेका छन्।

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तथा सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि गृहमन्त्री लेखक राजीनामाको दबाब खेप्न बाध्य भएका हुन्।

भ्रष्टाचारमा मुछिएका अधिकृतलाई कसरी जिम्मेवारी दिइयो? भन्ने विषयले गृह मन्त्रालयको नीति, नियत र निष्पक्षतामाथि नै प्रश्न उठेको छ। गत बुधवार अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि राति नै छाडेको थियो।

प्रारम्भिक अनुसन्धानमा भट्टराईका दुई वटा मोबाइलसहित अर्को थप मोबाइल फेला पारिएको र ती सबैलाई डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको अख्तियार स्रोतले बताएको छ।

अख्तियारले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, सहसचिव छवि रिजाल र अध्यागमनका केही कर्मचारीहरूलाई समेत अनुसन्धानको घेरामा ल्याएको बताएको छ। मन्त्री लेखकले भट्टराईजस्ता विवादास्पद अधिकारीलाई विमानस्थल अध्यागमनको प्रमुख पदमा नियुक्त गर्नु आफैँमा शङ्कास्पद रहेको छ।

मन्त्रीकै ‘आशीर्वाद’ पाएर भट्टराई विमानस्थल प्रमुख बनेका थिए। यस घटनाले समग्र सरकारको नैतिकतामाथि प्रश्न खडा गरिदिएको छ। अख्तियारले भट्टराईलाई अबको एक साता पछि जेठ १८ गते आइतबार बयानका लागि बोलाएको छ।

सरकार, गृहमन्त्री र सत्तारुढ दलका नेताहरू भने कर्मचारीको गल्तीमा मन्त्री जिम्मेवार नहुने जवाफ दिएर ढाकछोप गर्न लागिरहेका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताए।

सरकार र सत्तारुढ दल कर्मचारीलाई देखाएर राजीनामा दिनु नपर्ने तर्क गरिरहेका छन्। ‘मन्त्री बनेको किन? झन्डा हल्लाउन मात्रै?’ सामाजिक सञ्जालमा प्रश्न ओइरिएका छन्। यसले सत्तारुढ नेपाली काँग्रेसमा दुई धार देखिएको छ।

पार्टीको संस्थापन पक्ष मन्त्री लेखकको बचाउमा उभिएको छ। संस्थापनइतर पक्षले राजीनामा माग गरेको छ। यस प्रकरणबाट मात्र दिनहुँ झन्डै ५० लाख रुपैयाँ असुली भइरहेको स्रोत बताउँछ।

काँग्रेस सांसद राजेन्द्र बजगाईँले पार्टी सभापति शेरबहादुर देउवालाई खुला पत्र लेख्दै भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरे। बजगाईँले गृहमन्त्री लेखकसँगै पर्यटन मन्त्री बद्री पाण्डेलाई पनि फिर्ता बोलाउन माग गरे।

काँग्रेसका अर्का नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले भने एक जना कर्मचारीको गल्तीको आधारमा मन्त्रीको राजीनामा माग्नु न्यायोचित नहुने बताए।

काँग्रेसको सस्थापनइतरसँगै प्रतिपक्षी दलहरूले पनि गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकको राजीनामा माग्दै पुत्ला दहन गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अनियमितता प्रमाणित भए राजनीति छोडेर मात्रै नहुने, जेल जानु पर्ने बताएको छ। गृहमन्त्री लेखकले गलत प्रमाणित भए राजनीतिबाट संन्यास लिने बताएका थिए।

सहकारीको रकम अपचलनको आरोपमा सभापति रवि लामिछाने हिरासतमा रहँदा रास्वपाले गृहमन्त्री लेखकविरुद्ध आगो ओकलेको छ। कर्मचारीलाई दोष देखाएर पन्छन नपाइने रास्वपाका प्रवक्ता मनिष झाले बताए। अबको संसद् बैठक सामान्य नहुने चेतावनी पनि उनले दिए।

लेखकमाथि राजीनामाको दबाब बढ्दै गएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको पौडेलले बताए।

समाचार शेयर गर्नुहोस्
327
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.