काठमाडौं : नेपालमा गणतन्त्र विरोधी आन्दोलनले तीव्रता पाएको छ, जसका कारण सरकार र गणतन्त्र समर्थक राजनीतिक दलहरू बहस गर्न बाध्य भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजतन्त्र पक्षधर दलहरूले गणतन्त्र स्थापनापछि देशमा भ्रष्टाचार, अराजकता, महँगी र बेरोजगारी बढेको आरोप लगाउँदै काठमाडौँमा विरोध प्रदर्शनलाई थप सशक्त बनाएका छन्।
आन्दोलनकारीहरूको बढ्दो उपस्थिति नियन्त्रण गर्न सरकारले सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रदर्शनकारीहरू सिंहदरबारबाट दरबारमार्गतर्फ अगाडि बढ्न खोजेपछि सरकारले उक्त क्षेत्रलाई निषेधित घोषणा गर्नुपरेको छ।
सरकारले नारायणहिटीलाई निषेधित क्षेत्र तोकेपछि शान्तिवाटिकामा भेला भएर उनीहरू प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढे। आन्दोलनमा घुसपैठको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरूसँग सरकार डराएको दाबी गरे। उनले एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधरहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको बताए।
काठमाडौँमा जेठ १५ र १६ गते लगातार दुई दिन प्रदर्शन गरेका राजावादीले शनिवार नारायणहिटी क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको थियो।
ललितपुरमा आयोजित गणतन्त्र सही बाटो विषयक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र पुनर्स्थापनाको मागलाई अव्यवहारिक ठहर गर्दै भने, ‘यदि प्रमुख दलका नेताहरूले राजनीतिबाट विश्राम लिए, राजावादी आन्दोलन आफैँ समाप्त हुनेछ।’
संविधानविद् नीलाम्बर आचार्यले गणतन्त्र सही कि गलत भन्ने बहस हुनु आफैँमा दुर्भाग्यपूर्ण भएको बताए। गणतन्त्रले धेरै काण्ड सार्वजनिक गरेको बताउँदै उनले राजाको पालामा यस्तो उदाङ्गो हुन नसकेको उल्लेख गरे। उनले अब गणतन्त्रमा देखिएका फोहोरहरू ८४ को चुनावमा फाल्ने काम हुने अपेक्षा सुनाए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सडकमा देखिएको विरोध व्यवस्थाविरुद्ध नभएको दाबी गरे। कतिपय नेता र नेतृत्वले गरेको गलत कामको फाइदा उठाउन राजावादीहरूले जमर्को गरे पनि त्यो कदापि पूरा हुन नसक्ने चेतावनी उनले दिए। उनले राजावादीहरूले पैसा बाँडेर जनतालाई सडकमा उतारेको आरोप पनि लगाए।
प्रचण्डको आरोपको जवाफ दिँदै राप्रपा अध्यक्ष लिङ्देनले कडा प्रतिक्रिया दिए। उनले भने,’गणतन्त्र ढल्न थालेपछि प्रचण्डलाई सबैभन्दा बढी पिर लाग्नेछ। पिर परेकाहरू बरबराउनु स्वाभाविक हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको समय राजा, रजौटा, तानासाहहरूको समय नभई लोकतन्त्र र लोकतान्त्रीकरणको समय भएको बताए। उनले पृथ्वीपथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने टिप्पणी गरे। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरूलाई मास्ने काम गरेको भन्दै उनले पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गरे।
अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको उनले बताए। राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै १३ औँ सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको बताए।
राजतन्त्र पुनर्स्थापनाको मागसहित राजावादीहरूले आन्दोलन चर्काएका छन् र यसै आन्दोलनले राजतन्त्र फर्काउने उनीहरूको दाबी छ। अर्कोतर्फ, सरकार र गणतन्त्र समर्थक दलहरूले यसलाई चुनौतीको रूपमा लिँदै प्रतिकारमा उत्रिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.