काठमाडौं : राजसंस्था पुनस्थापनाको मुख्य माग सहित सडक आन्दोलनमा होमिएका राजावादीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको नक्सालस्थित नारायणचौरबाट बालुवाटार छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ।
सोही क्रममा केही प्रदर्शनकारीहरू घाइते समेत भएका छन्। राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व गृहमन्त्री कमल थापा सहित प्रहरीले ८ जनालाई झ्यानाकुटी पारेर पक्राउ गरेको छ। थापाको अवस्था बुझ्न जिल्ला प्रहरी परिसर पुगेका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएर पुन परिसरमै ल्याइएको छ। राजावादीको आन्दोलनमा क्रममा पक्राउ परेका थापाको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिने थापा आइतबार आफैँ सडकमा प्रहरीको कुटाई खान विवश बने। २०६२/०६३ सालको जनआन्दोलनका बेला गृहमन्त्रीको कमान्ड सम्हालेका थापालाई दिउँसो प्रहरीले लछारपछार गरेर घिसार्दै झ्यानाकुटी शैलीमा भ्यानमा कोचिदिएको थियो।
त्यसबेला जनताको पीडासँग खासै मतलब नराख्ने थापाको विरुद्धमा अहिले सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको ओइरो लाग्न थालेको छ। प्रहरीले पक्राउ गर्ने क्रममा सडकमा उत्तानो परेको थापाको तस्बिर शेयर गर्दै अधिकांशले तत्कालीन गृहमन्त्री थापाको भूमिका स्मरण गरेका छन्।
कमल थापालाई पक्राउ गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले खास लडाई अब सुरु हुने चेतावनी दिए। आफूहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न उनले सरकारलाई चुनौती समेत दिए।
राजावादीहरूको आन्दोलन उग्र बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्र बाहेकका स्थानलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। यी क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन्। शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बर्बर दमनको घोर भर्त्सना गर्दै राजतन्त्र पक्षधरले सोमवार काठमाडौँ उपत्यका बन्दको घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राजावादीहरू विरुद्ध प्रतिवादमा उत्रन वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका छन्। विभिन्न ठाउँबाट उठाएको पैसा तह लगाउन भाडाका मान्छे ल्याएर जाँड खुवाएर उफारेको प्रचण्डको आरोप छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.