विपक्षीले छोडे राजीनामाको माग, छानबिन समिति गठन गर्न नमानेपछि संसद् ठप्प

विपक्षीले छोडे राजीनामाको माग, छानबिन समिति गठन गर्न नमानेपछि संसद् ठप्प

426
SHARES

काठमाडौं : भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको मागमा अडिग रहेका विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट पछि हटेका छन्। तर सत्तापक्षले छानबिन समिति गठन गर्न नमानेपछि प्रतिनिधिसभा बैठक बुधवार पनि बस्ने/नबस्ने अनिश्चित बनेको छ।

मङ्गलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमति नजुटेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर सत्तापक्ष र विपक्षी दलबीच सहमति नजुटेपछि बैठक पुनः स्थगन हुँदै बुधवार दिउँसो १ बजे बस्ने भनिएको छ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले गृहमन्त्री लेखकको राजीनामा नभए न्यायिक वा संसदीय छानबिन समितिमध्ये कुनै एक गठन हुनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भिजिट भिसा प्रकरण निष्कर्षमा नपुग्दासम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।

तर सत्तारुढ नेकपा एमालेले भने गृहमन्त्रीलाई संसदमा बोल्न नदिई विपक्षीले गलत नजिर सिर्जना गरेको आरोप लगाएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री आफूमाथि लागेको आरोपमा बोल्न चाहँदा विपक्षीले रोकेको बताए।

सत्तारुढ दल सदन सञ्चालनमा गम्भीर नभएको विपक्षीको आरोप छ। माओवादी सांसद लेखनाथ दाहालले सरकार सदन खुलाउन इच्छुक नरहेको टिप्पणी गरे।

नेपाली काँग्रेसले भने गृहमन्त्री लेखकविरुद्ध हालसम्म कुनै औपचारिक उजुरी नपरेको भन्दै राजीनामाको कारण नरहेको बताएको छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उजुरी परेपछि छानबिनको आधारमा राजीनामा दिन सकिने धारणा राखे।

माओवादी सांसद माधव सापकोटाले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भए पनि गठबन्धन र पार्टीको दबाबका कारण रोकिएको दाबी गर।

रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा दलाललाई बुझाइएका रकमको प्रमाण आफूले सुरक्षित राखेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरे।

संसदमा जारी गतिरोधका कारण बजेटमाथिको महत्त्वपूर्ण छलफल प्रभावित भएको छ। सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग पटक–पटक छलफल गरे पनि सहमति जुटाउन असफल भएका छन्।

समाचार शेयर गर्नुहोस्
426
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.