काठमाडौं : सिन्धुलीको एक हरियाली डाँडामा बसेको सानो गाउँ। बिहान सबेरै चिसो हावामा ओभानो खोज्दै घरको आँगनमा आमासँगै भाँडा माझिरहेका हुन्छन् लासाङ दोर्जे बल। दिन चढ्दै जाँदा कहिले घाँस काट्न जङ्गल, कहिले गाईबस्तु चराउन गोठालो। बाहिरी जीवन यस्तै सरल, तर लासाङको मनभित्र भने एउटा स्वर निरन्तर घन्किरहेको हुन्छ— “लोक संस्कृतिको गीत गाइरहूँ, लोपिंदै गएको आफ्नो भाषा जोगाइरहूँ।”
गत वर्ष मायाको पहिचान नेपालले आयोजना गरेको मिस्टर गे नेपाल प्रतिस्पर्धामा लासाङ टप फाइभमा पुग्दै वेस्ट डिसिप्लेन अवार्ड जित्न सफल भए।
लासाङको अनुशासन, सौम्यता र भित्री सोचले निर्णायकहरूको मन जित्यो। तर त्यो अवार्डले उनलाई केवल सम्मान होइन, आवाज खोज्ने हिम्मत दियो।
“जीवन केवल आत्मप्रदर्शन होइन, सामाजिक योगदान पनि हो” उनी भन्छन्,“म आफूभित्रको पहिचान देखाउँदै समाजका लोपोन्मुख आवाजहरूलाई पुनर्जीवित गर्न चाहन्छु।”
त्यही चेतनाबाट अहिले उनी लोकदोहोरीको रङ्गमञ्चमा उभिएका छन्— लोकदोहोरी स्टार बन्ने यात्रामा। काठमाडौं अडिसन पार गरेर उनी मेगा अडिसनका लागि छनोट भइसकेका छन्।
“खुट्किला अझै चढ्न बाँकी छ,” उनी मुस्कुराउँछन्,“तर यो केवल मेरो यात्रा होइन, यो हाम्रो सामूहिक सांस्कृतिक यात्रा हो,”उनी भन्छन्,“सानैमा कहीँ कतै लोकगीत छुट्दैनथ्यो।”
लासाङका लागि लोकदोहोरी केवल मनोरञ्जन होइन— त्यो त हाम्रो पुर्खाको कथा हो। जनक र रामको संवाद, मायालुहरूको पीडा, देशभक्ति र विरोध—सबै दोहोरीमै बाँचिरहेका छन्।
“दोहोरीमा समाज बोल्छ,”उनी भन्छन्,“त्यसैले यसको लयमा नाच्न नसक्ने समाज मौन हुँदै जान्छ।”
लासाङ तामाङ समुदायका युवा हुन्। उनले तामाङ भाषाको संरक्षणका लागि पनि काम गर्दै आएका छन्। “भाषा भनेको हाम्रो आत्मा हो,”उनी भन्छन्,“तामाङ भाषामा नातागोता, भावना, र हाम्रो इतिहास गुन्जिएको हुन्छ। त्यो हराउने हो भने हामी आफैँ हराउँछौँ।”
उनी स्थानीय स्तरमा तामाङ भाषामा गीत लेख्ने, बालबालिकालाई बोल्न प्रेरित गर्ने, र सामाजिक मञ्चहरूमा आफ्नो भाषामा प्रस्तुत हुन आग्रह गर्ने काममा पनि जुटेका छन्।
“सांस्कृतिक पहिचान केवल लुगा वा नाचमा सीमित छैन,”उनी भन्छन्,“भाषा बोल्न सक्नु नै पहिलो प्रतिरोध हो लोप विरुद्धको।”
सामाजिक पहिचान र साहसको धुन
लासाङ खुला रूपमा एलजीबीटीआईक्यू समुदायको प्रतिनिधित्व गर्ने पात्र हुन्। समाजको पारम्परिक सोचभित्र उनले आफैँलाई उभ्याउनु सजिलो थिएन, तर उनले त्यसलाई मौन सहेर होइन, साङ्गीतिक अभिव्यक्तिमा रूपान्तरण गरे।
मिस्टर गे नेपालमा संविधानसभा सदस्य सुनिल बाबु पन्तले सोधेका थिए— “उपाधि जितेर के बन्न चाहनुहुन्छ?”
लासाङको उत्तर थियो— “म समाजका लोपोन्मुख आवाजलाई फेरि गुन्जाउने मान्छे बन्न चाहन्छु।”
आज त्यो आवाज उनले गीत, भाषण र सांस्कृतिक अभियानमार्फत प्रस्ट बनाउँदै लगेका छन्।
लासाङका लागि आमा मात्रै स्नेहको प्रतीक होइनन्— उनी सांस्कृतिक चेतनाको पहिलो गुरु पनि हुन्। आमासँगै गीत गाउने अनुभव अहिले उनको सिर्जनाको जग बनेको छ।
“आमा बिना गीत अधूरो लाग्छ,” उनी भन्छन्। “उनकै मुखबाट मैले पहिलो पटक लोकगीत सुनेको हुँ।”
उनको यो यात्रालाई मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे यसरी मूल्याङ्कन गर्छन्—“लासाङको स्वर केवल सङ्गीत होइन,त्यो समाजको मौनतालाई तोड्ने शक्ति हो।”
आज लासाङ केवल गोठका गोठालो होइनन्। उनी छन्— स्वरका सैनिक, भाषाका रक्षक, पहिचानका वाहक, लोक–संस्कृतिका संवाहक। उनको जीवन एक स्मरण हो-“पहिचान केवल पाउने कुरा होइन, जोगाउने र गुन्जाउने लडाइँ हो। र, त्यो लडाइँ गीतमा जितिन्छ।”
हिजो घाँस काट्दै गर्दाको गुनगुनाइ अब रङ्गमञ्चमा आवाज बनेर बज्न लागेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.