किरात धर्मगुरु आत्मानन्द लिङ्देन (सेइङ)ले ३३ वर्ष पछि दोस्रो पटक विश्व- ब्रम्हाण्डकाबारे भविष्यवाणी गर्दैछन्। उनले शुक्रबार जेठ २३ गते माङसेबुङमा भविष्यवाणी सुनाउन लागेका हुन्। उनले यसअघि पहिलो भविष्यवाणी २०४९ साल माघ ३ र ४ गते माङसेबुङ स्थित भालुटारमा माङ (देव भविष्यवाणी) गरेका थिए।
किरात धर्मावलम्बीका आफ्ना केही भक्तजनहरूसँग बसेर लिङ्देनले त्यतिबेला भविष्यवाणी गरेका थिए। तर, यसपटक अर्थात् यो दोस्रो भविष्यवाणी भने स्वदेश तथा विदेशबाट उपस्थित सम्पूर्ण किरात तथा गैर किरात धर्मावलम्बी लगायत आफ्ना शुभचिन्तकहरू माझ भविष्यवाणी सुनाउन लागेका हुन्। यसका तयारी व्यापक गरिएको छ।
माङ(देव) वाणी भए अनुसार नै गुरु आत्मानन्द लिङ्देनले भविष्यवाणी सुनाउने गरेका छन्। विश्व भरी छरिएर रहेका उपस्थित शुभचिन्तक, अनुयायी, भक्तजनहरू लगायतबीच भविष्यवाणी हुने हुँदा यसपटक विशेष चासोको रूपमा लिइएको छ।
किरात धर्म गुरु लिङ्देन सेइङले भविष्यवाणीको तयारीका लागि जेठ १४ गतेदेखि विभिन्न पूजापाठ-आरधानाहरू सम्पन्न गरेका छन्। पन्ध्र दीनयता देखि भविष्यवाणीका लागि लगातार पूजा, यज्ञ, होम-होमाधी, गालीश्राप लगायत ठुला अनुष्ठानका पूजापाठ गरिएको छ। विश्व शान्ति तथा मानव एकताका लागि विभिन्न पूजाआरधानाहरू सम्पन्न गर्दै भविष्यवाणीको तयारी भएको छ। भविष्यवाणी पश्चात् जेठ २४ गते शनिबार उपस्थित भक्तजनहरूको बिदाइ कार्यक्रम रहेको छ।
कस्तो भविष्यवाणी होला भनेर सबैलाई जिज्ञासा लाग्न सक्छ। गुरुको वाणी आस्था र विश्वाससँग जोड्नेहरूका लागि मात्र भन्ने पाइएको छ। तर, ३३ वर्ष अघि गुरुले गरेको भविष्यवाणीहरू करिब २०८२ साल भित्र करिब पुगिसकेको छ। अब, के वाणी हुन्छ? भनेर खास चासोको रूपमा दोस्रो भविष्यवाणीलाई हेरिएको छ। यसैले पनि यसपटकको गुरुको भविष्यवाणी विशेष ठानिएको छ। गुरुले मुलुक भित्र घट्ने घटना लगायत विश्व-ब्रम्हाणडकाबारे भविष्यवाणी गर्दछन्।
३३ वर्ष अघिको गुरु लिङ्देनले गरेको वाणीमा ठुला नेता मुलुकले गुमाउने, राजामाहाराजाको शक्ति हराउने, विश्वमा ठुला युद्ध हुने, आगो- हावा- पानीको शक्ति बढेर जाने जस्ता भविष्यवाणी गरेका थिए। भविष्यवाणी गरेको केही समयभित्र मदन भण्डारी दुर्घटना, राजदरबार हत्याकाण्ड, राजगद्दी त्याग, आगलागी,भूकम्प जस्ता प्रकोपहरूको भविष्यवाणी गुरुले २०४९ सालमा गरेका थिए। लिङ्देनले गरेको वाणी ३३ वर्ष भित्र करिब सबै पुगिसकेका छन्।
अब के हुन्छ त? विश्व-ब्रम्हाण्डबारे आउने समयमा के हुने? जान्न थाहा पाउन पनि यो दोस्रो भविष्यवाणी अत्यन्त खास मानिएको छ।
किरात धर्म गुरु आत्मानन्द लिङ्देन सेइङ,’म किरात धर्म मात्र होइन विश्व शान्ति तथा मानव एकताका लागि जोड बल गर्छु र त्यही गर्दै आएको छु’ भन्छन्। यसपटकको भविष्यवाणी माङसेबुङ इलाम स्थित किरात हाङसाम मुजोत्लुङ माङहिम (मन्दिर)परिसरको प्राङ्गणमा हुनेछ। यसअघि गुरु लिङ्देनले माङसेबुङको भालुटारमा भविष्यवाणी गरेका थिए।
लिङदेनलाई भेट्न स्वदेश तथा विदेशी उच्च ओहोदाका व्यक्तिहरू समेत आउने गर्दछन्। अमेरिका, बेलायत, सिक्किम, भुटान, दार्जिलिङ लगायतबाट लिङ्देनसँग दर्शनार्थी भेट्न आउने गरेका छन्। त्यस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी उच्चतहका निकाय, सङ्घ-संस्था लगायत पूर्वराजा ज्ञानेन्द्रले पनि भेट गरिसकेका छन्। मानवरूपी साक्षात् देवका रूपमा किरात धर्मावलम्बीहरूले गुरु लिङ्देनलाई पुज्ने गर्दछन्। यसैगरी गैर किरात धर्मावलम्बीहरू पनि दर्शन तथा आशीर्वाद लिन पुग्ने गरेका छन्।
किरात धर्म गुरु ‘माहागुरू फाल्गुननन्दले पूरा गर्न नसकेका कामहरू पूरा गर्न आएको छु’ उनी भन्छन्। विश्व शान्ति तथा मानव एकता कायम गर्न लागिपरेको बताउने लिङ्देनले ‘आशीर्वाद लानुहोस्, माङवाहाङवा ,शिद्विशक्ति, आयु-वरदान माग्नुहोस् म दिन्छु’ भन्छन्। छिमेकी मुलुक, विदेशी तथा स्वदेशी शुभेच्छुक र भक्तजनहरू गुरु लिङ्देनकोमा घुइँचो लाग्ने गरेको छ।
भविष्यवाणी प्रत्यक्ष सुन्न उपस्थित भक्तजन तथा शुभेच्छुकका लागि आयोजक माङेना सेवा समितिले सम्पूर्ण व्यवस्थापन गरेको जनाएको छ।
माङसेबुङ पूर्ण शुद्ध शाकाहारी क्षेत्र हो। धूम्रपान, मद्यपान तथा मासुजन्य सामाग्री सेवन यहाँ वर्जित छ। माङसेबुङको अर्थ माङ- देवता, सेक-छान्नु, बुङ्- बोट, देवताले छानेको ठाउँ (माङसेबुङ) भन्ने गरिन्छ।
शब्द : प्रतिमा माखिम
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.