निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भिजिट भिसा प्रकरणले अवरुद्ध संसद् चल्ने सङ्केत

भिजिट भिसा प्रकरणले अवरुद्ध संसद् चल्ने सङ्केत

323
SHARES

काठमाडौं – लामो रस्साकस्सीपछि भिजिट भिसा प्रकरणमा उत्पन्न राजनीतिक विवाद अन्त्यतर्फ उन्मुख देखिएको छ। गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका विपक्षी दलहरू अन्ततः गल्न थालेका छन्।

सत्तारूढ दलहरूद्वारा समिति गठनको तिथि तोक्ने प्रतिबद्धता मात्र पर्याप्त ठान्दै विपक्षीहरू अवरोध हटाउने तयारीमा देखिएका छन्। लामो अवरोधपछि संसद् सुचारु हुने सङ्केत बलियो बन्दै गएको छ।

भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रकम असुलीमा गृह प्रशासन मुछिएको समाचार सार्वजनिक भएपछि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरे।

जेठ १५ गते बजेट प्रस्तुतिका लागि मात्रै प्रतिनिधिसभा बैठक औपचारिक रूपमा बसेको थियो, त्यसयता संसद् नियमित रूपमा सञ्चालन हुन सकेको छैन। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा पटक–पटक सत्ता–विपक्षबीच संवाद भए पनि सहमति जुट्न सकेको थिएन।

गृहमन्त्री लेखकको राजीनामा माग्दै सदनमा चर्किएको आवाज पछिल्लो दिनहरूमा छानबिन समिति गठनमै सीमित भएको छ। तर सत्तापक्ष छानबिन समिति गठन गर्न समेत तयार नभएपछि विपक्षी दलहरूले प्रतिबद्धता जनाए मात्रै पनि संसद् चल्न दिने अडान लिए।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता पक्ष छानबिन समिति गठन गर्न सहमत भएकाले संसद् बैठक जेठ ३० गते (शुक्रवार) देखि सञ्चालन हुने सम्भावना रहेको बताए।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सत्तारूढ र विपक्षी दलबीच तीन बुँदे सहमति भइसकेको जानकारी दिए। उनले संसदीय छानबिन समितिले अख्तियारले गरिरहेको अनुसन्धानलाई असर नपार्ने गरी काम गर्ने बताए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले समिति गठनको स्पष्ट मिति तोकिए संसद् अवरोध हट्ने बताए।

बिहीबार जेठ २९ गते बोलाइएको संसद् बैठक पनि अवरुद्धकै कारण पाँच मिनेटमै स्थगित गरिएको छ। दिउँसो ३ बजे बोलाइएको बैठक साँझ ५ः३० बजे सारिए पनि सवा ६ बजे मात्र सुरु भएको थियो।

बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे। सभामुख घिमिरेले संसदमार्फत जनताको आवाज उठाउन आग्रह गर्दै सदन अवरुद्ध गर्नुको सट्टा प्रक्रियागत छलफलमा सहभागी हुन विपक्षीहरूलाई आह्वान गरे।

गृहमन्त्री रमेश लेखकले भने संसद् अवरुद्ध गर्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा उनले विपक्षी दलहरूले नियोजित षड्यन्त्र र पूर्वाग्रहका आधारमा संसद् अवरुद्ध गरिरहेको आरोप लगाए।

लगातारको संवाद र विपक्षी दलको मागमा देखिएको लचकताले शुक्रवार जेठ ३० गते संसद् सञ्चालन हुने कुरामा सबै दल सकारात्मक देखिएका छन्। अब सरकारद्वारा समिति गठनको मिति घोषणा भएपछि संसद् अवरुद्ध अन्त्य हुने राजनीतिक पृष्ठभूमि तयार भएको नेताहरूको भनाई छ।

समाचार शेयर गर्नुहोस्
323
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.