काठमाडौं— ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समितिले देशभर ११औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ।
समितिको विभिन्न क्षेत्रीय तथा शाखा आश्रमहरूमार्फत आयोजित योग साधना शिविरहरूमा देशका १५ स्थानमा झन्डै दुई हजारभन्दा बढी साधक सहभागी भएका थिए।
कार्यक्रमको नेतृत्व गरिरहेकी समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले योग केवल एक दिनको पर्व नभई दैनिक जीवनशैलीमा आत्मसात् गर्नुपर्ने अनुशासन भएको स्पष्ट पारिन। उनले भनिन्, “योगले शरीर मात्र होइन, मनलाई पनि शुद्ध बनाउँछ। त्यसैले योगलाई अवसर होइन, बानी बनाउनु जरुरी छ।”
योग गुरु पुरुषोत्तम कोइरालाले योगको नियमित अभ्यासले मानसिक तनाव कम गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य खर्चमा कटौती गर्ने उल्लेख गरे। “नियमित योग गर्ने जो कोही पनि सामान्य स्वास्थ्य समस्याका कारण हत्तपत्त अस्पताल धाउनु पर्दैन,” उनको भनाइ थियो।

कार्यक्रममा वैदिककालदेखि योग अभ्यास हुँदै आएको परम्परालाई स्मरण गर्दै ऋषिमुनिहरूको दीर्घ जीवनको रहस्य योग भएको चर्चा पनि गरियो। सहभागीहरूलाई आसन, प्राणायाम र ध्यानका विभिन्न विधि सिकाइयो।
संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१४ मा पारित प्रस्ताव अनुसार जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो। त्यसयता नेपालमा पनि प्रत्येक वर्ष यस दिनलाई विविध कार्यक्रमहरूका साथ मनाउने चलन बढ्दै गएको छ।
नेपाल मानव धर्म सेवा समितिको आयोजनाले योगमा जनचेतना र सहभागिता बढाउँदै समाजमा शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यको सन्देश प्रवाह गर्न सफल भएको सहभागीहरूको प्रतिक्रिया थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.